झापा : झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारी तेश्रो सताक्षी गोल्डकपको उपाधी छिनोफानो आज हुदैछ । उपाधीका लागि आज यो वर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब आमने सामने हुँदैछन् ।

लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेल्ने छन् । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा थ्रि स्टारले लिगमा खाएको दुई गोलको बदला लिने प्रयास गर्नेछ । लिगको नवौँ राउन्डको दौस्रो खेलमा मच्छिन्द्रले थ्रि स्टारलाई २-० गोल अन्तरले हराएको थियो ।

लिग च्याम्पियन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई फेरि पराजित गरेर आफूलाई नेपाली फुटबलमा अब्बल सावित गरी फाइनल यात्रा तय गरेको हो भने थ्रि स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेर उपाधि होडमा उक्लिएको थियो । खेल दिउसो ३ बजेपछि सुरु हुने आयोजकले जनाएको छ ।