धरान : प्रकृतिपुजक लिम्बु समुदायको साझा सांस्कृतिक सामाजिक संस्था याक्थुङ चुम्लुङको आयोजनामा शनिबारदेखि चारदिने चासोक तङ्नाम सांस्कृतिक पर्यटन महोत्सव सुरु भएको छ ।

फेदाङ्माले मुन्धुम अनुसार खेतबारीमा नयाँ पाकेको अन्नबाली तागेरा निङुवाफुमाङ र युमालाई चढाएर पुजा अर्चना गरेपछि धरान–१५ बाझगरास्थित चुम्लुङ हिम परिसरमा चासोक तङ्नाम सुरु गरिएको थियो । महोत्सवका संयोजक समेत रहेका नगर चुम्लुङका अध्यक्ष सुवास हुक्पाचोङबाङले भने, ‘लिम्बु समुदायको मौलिक चाड मध्ये चासोक तङनाम सांस्कृतिक पहिचान दिलाउने चाड हो । कृषि जीवन शैलीसंग सरोकार राख्ने चासोक तङ्नामलाई हामीले विषेश चाडका रूपमा मनाउदै आएका छौं, यो त्यसैको निरन्तरता हो ।’ उनले खेतबारीमा फलेको अन्नबालीलाई सवै भन्दा पहिले तागेरा निङ्वाफुमाङ र युमा सहित अन्य देवी देवतालाई चढाएर खादै रमाइलो गर्ने चाड नै चासोक तङनाम भएको बताए ।

IMG_20181222_120224 copy

महोत्सवमा जातिय पहिरन पुरुषले तागावा र महिलाले मेख्लीकासाथ परम्परागत गहनामा सजिएका तरुनी तन्नेरीहरुकालागि परम्परागत जातीय खेलहरु लिआमा (गुलेली हान्ने), ‘पक्लुङ’ छेलो हान्ने खेल खेल्नुका साथै माछा मार्ने, तोङ आमा (तिरबाजी), हक्चुम लक्मा (लङ्जम्प) खेलहरु रहेका छन् । सामूहिक रुपमा केलाङ (च्याब्रुङ नृत्य), पालाम धाननाच, ख्याली, प्रौढ, वृद्धवृद्धाहरु मुन्धुमी साम्लो, हाक्पारे, ख्याली आदि मनोरन्जक कार्यक्रमहरु रहेका छन् ।

उक्त अवसरमा साम्बा÷येमाहरुबाट एकराते ‘तङसिङ’ (पारिवारिक मेलमिलापको अनुष्ठान) पनि गर्ने अध्यक्ष हुक्पाचोङ्बाङ्ले बताए । उनका अनुसार एकराते तङसिङमा साम्बा येवाहरुले लिम्बु जातिको सृष्टि तथा मानव सभ्यता र विकासको कथा वाचन गर्ने छन् ।

IMG_20181222_113407 copy
लिम्बु समुदायका छोरीचेलीहरु हुक्वा (आफैले बनाएको सोभित), नाम्स्या (नया धानलाई भूटेर तयार पारिएको विशेष चामलको परिकार) र अन्य प्रकारको ‘चेसुङ’ (कोसेली)का साथ चासोक तङनामको अवसरमा माइती घर जाने गर्छन् । चासोक तङनामको अवसरमा एकापसमा भेटघाट गरेर शुभकामना साटासाट गर्ने, विभिन्न प्रकारका परम्परागत खाद्य परिकारहरु चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फांदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर सामुहिकरुपमा खाने, पहिलेको रिसराग, ईष्र्या विर्सेर क्षमादान अपनाउदै आत्मीयताकासाथ रमाइलो गर्ने गरेका छन् । IMG_20181222_113954 copy IMG_20181222_120114 copy IMG_20181222_181603 copy IMG_20181222_181554 copy IMG_20181222_194607 copy