धरान : धरान १५ स्थित चुम्लुङ हिममा साँझतिर पुग्नु भयो भने मौलिक पहिरनमा सजिएका लिम्बू महिला र पुरुषहरु एकअर्का हात समातेर सुस्तरी गाइरहेका भेटिन्छ । त्यही भाकाको लयमा खुट्टाको चाल अघिपछि, दाँयाबाँया गर्दै सुस्तरी सुस्तरी नाचिरहेका हुन्छन् ।
लिम्बू जातिको महान् चाड चासोक तङ्नाम (उधौली) को अवसरमा धरानमा शनिबारदेखि आयोजना भइरहेको साँस्कृृतिक उत्सवमा हरेक साँझ यो दृष्य देखिन्छ । यो लिम्बू जातिको मौलिक सँस्कृति धान नाच हो, अनि भाका पालाम गएको भनिन्छ । कोही २ जना मात्र महिला र पुरुष हात समोतर पालाम गाउदै धान नाचिरहेका हुन्छन्, कोही ४, ५ जनाको अलग्गै समुह बनाएर चुम्लुङ हिम परिसरको एक छेउतिर नाचिरहेका हुन्छन् । लिम्बू जातिमा अघिल्लो पुस्ताका सोल्टी, सोल्टिनीहरु मेलामा भेटिएर पालाम गाउदै धान नाच्ने सँस्कार, सँस्कृति बोकेर हुर्किएका थिए । समयसँगै मेला, हाटबजार विस्थापित हुदै गएपछि यस्ता सँस्कार, सँस्कृति पनि हराउदै गएको छ । पछिल्लो पुस्ताले धान नाच, पालामलाई अनुसरण गर्न सकेका छैनन् ।
केही बर्षदेखि धरानमा आयोजना हुने तासोक तङ्नाम साँस्कृतिक उत्सवमा भने अघिल्लो पुस्ताका सोल्टी, सोल्टिनीहरु भेट हुन्छन्, र आत्मियता साटासाट गर्दै साँझदेखि पालाम गाउदै धान नाच्न थालेका छन् । धान नाच लिम्बू जातिमा उहिल्यैदेखि चलिआएको परम्परा, सँस्कृति भएकोले चासोकमा संस्थागत गर्ने प्रयास भइरहेको चुम्लुङकी पुर्वकेन्द्रीय उपाध्यक्ष एवं वर्तमान सल्लाहकार दुर्गामाया लिम्बू बताउँछिन् । युवा पुस्तालाई धान नाच र पालामबारे जान्ने, बुझ्ने अवसर पनि हुने उनको भनाई छ । ‘धान नाच्नुअघि कति पुस्ता भयो भनेर साइनो केलाइन्छ, साइनो नलाग्ने भयो भने वा सोल्टी, सोल्टिनी भेट भएपछि लु नाचौ न त भनेर धान नाच्ने चलन हो,’उनले भनिन् ।
चुम्लुङका केन्द्रीय सल्लाहकार एवं बुद्धिजिवि गजेन्द्र इस्पोका अनुसार उहिल्यै गाउँघरको मेलामा चिरपरिचत को को सोल्टी, सोल्टिनीहरु आएका छन् भनेर घुमेर हेर्ने र भेट भएपछि सौहार्दता, आत्मियता आदानप्रदान हुन्थ्यो । साँझपखदेखि ती सोल्टी सोल्टिनीहरु हात समातेर लयमा गाउने, नाच्ने गर्थे । लिम्बूवान क्षेत्रमा यसरी नै तरुनी, तन्नेरी(सोल्टि सोल्टिनी)हरु रमाउने, रसरंग गर्ने चलन थियो । उनीहरु रातभरि नाच्ने र उज्यालो हुदा घर पुग्थे । ‘एक आपसको त्यो आत्मियता, घनिष्टता बढ्दै गएर मायापिरती र विवाह बन्धनमा पनि पुग्थ्यो,’इस्पोले भने,‘हिजो गाउँघरमा हामी त्यसरी रमाउथ्यौ, आज यहाँ पनि त्यही परम्परा अघिल्लो पुस्ताले धान्दैछन् । विस्तारै यो सँस्कृति हराउदै जाला जस्तो छ ।’
चारमाया पालाम पुस्तका लेखक एवं सँस्कृतिकर्मी सम्बाहाम्फे लिम्बू सँस्कृतिको महत्वपुर्ण नाच भएकोले नयाँ पुस्तालाई बुझाउने, लय सिकाउने र साइनो नलाग्ने पुस्तालाई नाचबारे तालिम दिनुपर्ने बताउँछन् । ‘लोप हुन दिनहुदैन । युवापुस्तालाई धान नाच र पालामबारे बुझाउनुपर्छ, लय सिकाउनुपर्छ । पाँचथर, यासोकतिर सिकाउने प्रयास हुदैछ,’उनी भन्छन् ।