इटहरी: मोफसलमा रंगमञ्चमा जीवन यापन गर्छु भनेर लाग्ने रंगकर्मीहरु कमै भेटिन्छन् । समाजले रंगकर्मलाई बुझ्न नसक्नु र रंगकर्मबाट आर्थिक उर्पाजनमा टेवा पनि नपुग्ने भएकोले नवोदित कलाकारहरु अन्यौलग्रस्त हुन्छन् । तर, पछिल्लो समय धरानका युवा युवाहरु रंगमञ्चमा आफ्नो भविष्य खोजिरहेका छन् । ती मध्ये धरानलाई कार्मथलो बनाएर रंगभूमी एकेडेमीमार्फत केही युवाहरु रंगमञ्चमा आफुलाई स्थापित गर्न चाहन्छन् ।
बिग्रोल मिलन चाम्लिङ:
२०५५ कात्तिक २७ गते खोटाङको साविक खार्पा गाविसमा जन्मिएका हुन् चाम्लिङ । उनी २०७१ सालमा कलिलो उमेरमा नै रंग क्षेत्रमा प्रवेश गरे । उनले आफु सुरुमा नबुझेरै रंगक्षेत्रमा लागेको बताउँछन् । ‘म काठमाडौँ गएँ, त्यो बेला अभिनयमा रुचि थियो, अभिनय सिक्नै काठमाडौ गए । मलाई त्यो बेला नाटक घर थाह थिएन,’ उनले भने,‘थिएटरहरु खोज्दै जाँदा सर्बनाम थिएटरमा क्लास हुनै लागेको रहेछ, मैले अशेष मल्ललाई फोन गरे, त्यहीबाट रंगमञ्चको यात्रा सुरु भयो ।’
उनले आफूले नाटकको रिहर्सल गर्दै गएपछि रंग क्षेत्र बुझेको बताउछन् । त्यसपछि अभिनय के हो भन्ने उनले बुझे । ‘नाटक, त्यो चिज हो, जुन लुकेर रहेको वास्तविक घटनालाई प्रस्तुत गर्छ,’उनले भने । सर्वनाममा उनले नाटक ‘मोक्ष’, ‘चप्पल’, ‘खोई के खाई के’, चापको फूल लगायत अन्य नाटकमा काम गरे । तीन बर्ष सर्बनाम थिएटरमै नाटक गरेको उनको अनुभव छ । ‘नाटक हेर्दा सरल देखेपनि परिवेश, आवाजदेखि लिएर रिहर्सल गर्नका लागि कठिन हुन्छ,’ उनले भने,‘काठमाडौँ बसाई पछि मैले आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर धरान आएको हुँ ।’
धरानमा इङघङ नाटकमा निक्कै चर्चित भयो । त्यसमा उनको अभिनयको पनि सबैले खुलेर तारिफ गरेका थिए । नाटक मञ्चन गर्न स्थानीय समूदाय र स्थानीय सरकारको पनि सहयोग चाहिने उनी बताउँछन् । उनले धरान, इटहरी, तरहरालगायत क्षेत्रमा नाटक गर्नका लागि थिएटर हलको समस्या रहेको सुनाए । ‘मान्छेले नाटक सहज रुपमा बुझ्छन् तर, हामीलाई टिक्नका लागि चुनौती छ,’उनले भने ।
तुलसा थापा:
२०५५ श्रावण २८ धरान ५ देउरालीमा जन्मिएको उनी पनि मिलनकै समकालीन हुन् । एसएलसी दिएर बसेको समयमा रंगकर्मी बिष्णु मोक्तानले आयोजना गरेको कार्यशालामा सहभागी हुने क्रममा नाटकमै स्थापित हुने सपना देखिन् । उनी भन्छिन्,‘बिष्णु सरको प्रेरणाले यस क्षेत्रमा लागेको हुँ, अहिलेसम्म त मैले यही क्षेत्रमा सोचेको छु, अझ राम्रो गर्ने सोच छ ।’
रंगकर्ममा मात्र होइन, उनले रोमियो एण्ड मुना नेपाली चलचित्रमासमेत अभिनय गरिसकेकी छिन् । नाटक र कलाकारहरुलाई निरन्तरता दिन निक्कै गाह्रो भएको उनले पनि अनुभव गरिसकेकी छिन् । सहयोगको लागि आग्रह गर्दा केटाकेटीपन भनेर नपत्याउने गरेको तितो अनुभव पनि छ ।
हरि लिम्बु:
२०५४ माघ १० गते साँगुरीघढी ४ मा जन्मिएर हाल धरानलाई कर्मथलो बनाएका हरिले लिम्बु करिब ४ बर्षअघि रंगमञ्चको क्षेत्रमा प्रवेश गरेका हुन् । उनीपनि एसएलसी दिएर बसेको बेला कार्यशालामा सहभागी भएपछि रंगकर्मलाई निरन्तरता दिने सोच बनाएर क्रियाशिल छन् । उनले बिष्णु मोक्तानले निर्देशन गरेको ‘अब टाउको कहिले हल्लिन्छ’ बाट रंगमञ्चको क्षेत्रमा पाइला टेके ।
रंगमञ्चकै क्षेत्रमा बाँच्न कठिन हुने उनले पनि अनुभव गर्न थालिसकेका छन् । सरोकारवाला पक्षले साथ, सहयोग र हौसला प्रदान गरे यही क्षेत्रमा भविष्य बनाउन सकिने उनी बताउँछन् । पछिल्लो समय नाटक इङघङ मार्फत उनले सकारात्मक छाप छोड्न सफल भएका छन् । धरानमा नाटक घर बनाउनुपर्नेमा उनको जोड छ । यसका लागि सबै रंगकर्मीको सहयोग भए सम्भव हुने उनले बताए ।
गेबी लिम्बु:
२०५५ कात्तिक २७ गते धरान ५ देउरालीमा जन्मिएकी हुन्, गेबी लिम्बु । उनी पनि पछिल्लो समय धरानको रंगमञ्चको क्षेत्रमा उदाउदो प्रतिभा हुन् । उनलाई सानै उमेरदेखि नाटक मन पथ्र्यो । उनको नाट्य यात्रा ‘पुच्छर मान्छे’बाट शुरु भएको थियो । करिब ३ बर्षदेखि रंगकर्ममा छिन् ।‘छोरी मान्छे भएकोले पनि बाहिर बस्न समस्या हुन्थ्यो,’उनले भनिन्,‘आम्दानी पनि नहुने, शुरु शुरुमा त त्यतिकै हिडेजस्तो हुन्थ्यो ।’ नाटककै क्षेत्रमा स्थापित हुने मन भएपनि बाँच्ने स्थिति नहुदा समस्या भएको उनी बताउँछिन् ।
यहाँ उल्लेख गरिएका चार जना कलाकारहरु प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै अन्य थुप्रै नयाँ कलाकारहरु रंगमञ्चको क्षेत्रमा आएका छन् । तर, नाटक घरको अभाव, नाटकलाई बुझ्ने समाज, आर्थिक अभावजस्ता कारणहरुले खहरे जस्तै ती कलाकारहरु हराउने सम्भावना पनि उतिकै छ ।