धरान: विश्वभर रंगकर्मीहरुले आज ५९ औं विश्व रंगमञ्च दिवसलाई भव्यरुपमा मनाएका छन् ।

धरानमा पनि बुधबार विश्व रंगमञ्च दिवस यहाँका रंगकर्मी, कलाकारहरुले मनाए । धरान रंगमञ्चको क्षेत्रमा निक्कै क्रियाशिल सहर हो । चालिसको दशकमा धरानको रंगमञ्चको चर्चा राष्ट्रियस्तरमा नै हुनेगथ्र्यो । विडम्बना के छ भने यहाँ अहिलेसम्म एउटा पनि नाटक घर(थिएटर हल) बन्न सकेको छैन् । नाटक मञ्चन गर्नुपर्दा लाइट, साउण्ड, पर्दालगायत थुप्रै सामग्रीहरुको आवश्यकता पर्छ । धरानका रंगकर्मीहरु यस्ता सामग्रीहरुको अभावविना नै नाटक मञ्चन गर्न बाध्य छन् ।

धरान प्रज्ञा प्रतिष्ठानले बुधबार विश्व रंगमञ्च दिवस मनाउने क्रममा होटल रत्ना इनमा कार्यक्रम आयोजना गर्यो । औपचारिक कार्यक्रम सकेपछि आरम्भ नाट्य डबलीले त्यही सेमीनार हललाई थिएटर हलमा रुपान्तरण गरेर नाटक न्याय हराएको देश मञ्चन गर्यो । बषौंदेखि धराने रंगकर्मीहरुले भोग्दै आएको थिएटर हलको अभाव नयाँ पुस्ता उत्पादन हुदै गर्दा पनि नियति भने उही छ । दृष्य, प्रोप र लाइटको प्रयोगमा नयाँ पुस्ताका रंगकर्मीहरुले असाध्यै सास्ती खेप्नु परिरहेका छन् । कार्यक्रममा प्रा.डा. भिम खतिवडाले धरानमा एउटा पनि थिएटर हल नहुनु दुःखद भएको बताए । धरानमा सयदेखि डेढ सय क्षमताको थिएटर हल आवश्यक भएको भन्दै उनले स्थानीय सरकार, रंगकर्मी बसैले ध्यान दिन आग्रह पनि गरेका थिए ।

dramaa

धरानमा रंगमञ्चको इतिहास करिब वि.स.१९९७ सालदेखिको रहेको छ । पञ्चायती व्यवस्थाको बेला चालिसको दशकमा धरानको रंगमञ्चको स्वर्णिम युग मानिन्छ । त्यसबेला राजधनी काठमाण्डौलाई पनि रंगमञ्चमा धरानले टक्कर दिन्थ्यो । लामो समय सुस्ताएको धरानको रंगमञ्च पछिल्लो ३ बर्षयता निक्कै सक्रिय भएको छ । युवा पुस्ताहरु तयार हुदैछन् । तर, समस्या भने शुरुवादेखि अहिलेसम्म एउटै छ । कुनै नाटक मञ्चन गर्नुपर्यो भने सभा, सेमिनार तथा गोष्ठी आयोजना हुने सभा गृह वा कुनै होटलको हलमा नाटक मञ्चन गर्नुपर्ने बाध्यता छ ।

‘कला, साहित्य, सँस्कृतिको धनी सहर धरान भन्छौ, तर यहाँ एउटा पनि थिएटर हल बनाउन सकेनौ,’प्रज्ञा प्रतिष्ठानका सदस्य एवं आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवान भन्छन्,‘कला,साहित्यलाई अनुत्पादक क्षेत्र ठानियो, त्यसैले अहिलेसम्म थिएटर हल बन्न सकेन । हामीले होटल, पार्टी प्यालेसतिर नाटक मञ्चन गर्नुपरिरहेको छ ।’ उनले होटलमा भएपनि प्रत्येक महिना नाटक मञ्चन गर्ने घोषणा गरिएको तर निक्कै समस्या भोग्नु परिरहेको पीडा पनि पोखे ।

धरानमा थिएटर हल बनाउने प्रयास नभएका होइनन् । करिब ६० को दशकसम्म धरानमा डेढ दर्जन बढी नाट्य संस्थाहरु स्थापना भएर सक्रिय थिए । चर्चित नाट्य संस्था अनामले धरान १३ मा नाटकघर बनाउन शुरुवात पनि गर्यो । तर, संस्थामा आएको विभाजनले त्यो निर्माणाधिन हल वेवारिसे भयो । पछिल्लो समय २०७३ मा पुनरागमन जनाएको आरम्भले पनि धरान ४ स्थित खैरेनीमा नाटक घर सिलान्यास गर्यो । तर, बजेट अभावमा निर्माण कार्य थाल्नै सकेन । थिएटर हलको अभावमा नियमित नाटक मञ्चन हुन नसक्ने र नयाँ पुस्तालाई टिकाउन पनि समस्या हुने अग्रज रंगकर्मीहरु बताउँछन् ।

न्याय हराएको देश मञ्चन

dramaz

विश्व रंगमञ्च दिवसको अवसरमा बुधबार धरानमा नाटक न्याय हराएको देश मञ्चन गरिएको छ । धरान प्रज्ञा प्रतिष्ठानले होटल रत्ना इनमा आयोजना गरेको कार्यक्रममा आरम्भ नाट्य डबलीले नाटक मञ्चन गरेको हो ।

समयसामयिक बिषयबस्तु तथा राजनीतिक ब्यंग्य रहेको नाटकको लेखन आरम्भका अध्यक्ष गोपाल देवानले गरेका थिए । नाटकको निर्देशक पत्रकार एवं रंगकर्मी प्रविण राईले गरेका थिए । नाटकमा अग्रज रंगकर्मी कृष्ण तिम्सिनासँगै नयाँ पुस्ताका कलाकारहरु शान्तिराम राई, तीर्थराज बिक, कमानसिं याम्फु, प्रेम नेपाली, शारदा श्रेष्ठ, नमिता चोङवाङ र दिपेन्द्र राई रहेका छन् ।

 

drama6