झापा: आज झापाली नागरिकका लागि ऐतिहासिक दिन हो । दुई झापाली सपुतले सहादत प्राप्त गरेको दिन । २०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढी घेराउ गर्न हजारौं जनता हिँडेर सदरमुकाम पुगेका थिए । त्यो जनलहर आज पनि सम्झँदा नेपाली जनता राजतन्त्रबाट कतिसम्म आक्रान्त थिए भन्ने प्रष्ट रुपमा देख्न सकिन्थ्यो ।
यो जनताको उत्साहलाई सबै नेपालीले सम्मान गर्नैपर्छ । तर, त्यस बेला क्रुररुपमा शासन सत्ता सम्हालेका राजा ज्ञानेन्द्र र उनका समर्थकहरुले दबाउन अनेक उपाय नरचेका होइनन् । तर आँधीबेहरी सरी अगाडि बढेका जनतालाई रोक्न सक्ने क्षमता तत्कालिन निरंकुश शासकसामु थिएन । त्यही भिडमा थिए राजन गिरी र सुरज बिश्वास । बुलेटभन्दा ब्यालेट सयौं गुणा तागतिलो हुन्छ भन्न्ने उदाहरण जनताले जनआन्दोलनमार्फत दिइरहेका थिए । सायद यो अवस्थालाई देख्न नसकेर आत्तिएका उनीहरु गोली चलाउन बाध्य भएका थिए ।
झापा सदरमुकाम चन्द्रगढीलाई निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरु आत्तिएका थिए । तर जनताले उक्त घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रुपमा आन्दोलनलाई अगाडि बढाए । जनताको आन्दोलनलाई देख्न नसकेर तत्कालीन गृहमन्त्री कमल थापाको निर्देशनमा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न शुरु गर्यो । त्यसैबेला झापाली दुई युवालाई गोली लाग्यो र उनीहरुले सहादत प्राप्त गरे ।
हुन त शहीद राजन गिरी र सुरज विश्वासका सपना अहिलेसम्म पुरा हुन सकेको छैन । यसले कता–कता दुःखित बनाउनु स्वभाविकै हो । तर, बहादुर छोराको बलिदानीलाई सच्चा र देशभक्त नागरिकले उच्च सम्मानका साथ प्रशंसा गर्न कञ्जुस्याई गर्नु हुँदैन । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणामार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा सात दलले चैत २६ गतेदेखि निर्णायक आन्दोलन शुरुवात गरेका थिए । उक्त आन्दोलन उत्सर्गमा पुग्ने क्रममा पूर्वी नेपालको झापाले बैशाख ६ मा दुई सपुत गुमायो ।
आज विभिन्न कार्यक्रम गरेर शहीदका विषयमा चर्चा परिचर्चा भइरहेको छ तर यसले मात्र शहीदको सपना साकार हुँदैन भन्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको छ । बर्षमा एक दिन श्राद्धे शैलीमा मात्र सम्झिएर शहिदले देखाएको मार्गमा हिडेको हुदैन । उनीहरुको सपना साकार पार्नतिर लाग्नुपर्छ । यहि नै हुनेछ सहिद राजन गिरी र सुरज बिश्वासप्रतिको सच्चा श्रद्धासुमन ।