धरान : धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई बहुपक्षीय सहमतिमा पूर्णता प्रदान गर्नै सिलिङ संशोधन सहित शुक्रवार बसेको कार्यपालिका बैठकले पारित सर्वसम्मतले पारित गरेको छ ।

संशोधित बजेटमा मेयर, उपमेयर भिजन कोषको शीर्षकलाई नगर कोष भनिएको छ । यसअघि अल्पमतले परित गरेको बजेटको अङ्कमा पुँजीगत विनियोजन १० प्रतिशत घटाइएको छ । घाटा बजेटलाई न्यूनतम बनाउन पुँजीगत बजेट घटाइएको हो ।

कार्यपालिका बैठकमा नगर प्रमुख साम्पाङ आफैले मेयर र उपमेयर भिजनको नाम परिवर्तन गरेर नगर भिजन राख्ने प्रस्ताव गरेका थिए । प्रस्तावलाई एमालेबाट वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि बैठकले दुवै कोषको विनियोजनलाई नगर भिजन राख्ने निर्णय गरेको छ । 

यसअघि शुक्रवार बिहान डेडलकको अवस्थामा रहेको बजेटलाई पूर्णता दिनका नगर प्रमुख हर्क साम्पाङ सँगै बहुपक्षीय छलफल भएको थियो । काँग्रेस सभापति श्याम पोख्रेल, संसदीय दलको नेता प्रवीण राई, एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादीको नेता मनोज भट्टराई, जसपा अध्यक्ष ताजुब लिम्बु, एमाले संसदीय दलकी उपनेता सावित्री परियार, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले छलफलमा सहभागी थिए ।

बैठक अघि काँग्रेस सभापति पोख्रेलले भने ‘धरानको साधन श्रोतको सवालमा सहमतीय वातावरण बनाउन मेयर शावसँग छलफल गर्ने प्रस्तावलाई दलहरूले स्वीकार गरेपछि उहाँसँग भएको छलफल परिणाममुखी भएको छ ।’

कार्यपालिका बैठकपछि उपप्रमुख अइन्द्रबिक्रम बेघाले भने नगर प्रमुखले आफ्नो योजनालाई पन्छाउँदै घुँडा टेकेको बताए । नगर प्रमुखको सहमतिप्रति आपत्ति रहेको बताउँदै बेघाले भने ‘प्रस्तावहरू लत्तयाउदै घेडा टेक्नु नहुने थियो तर नगरप्रमुखले टेके ।’

पारित भएको बजेटमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तोकेको पूजीँगत खर्च तर्फको कुल बजेटबाट १० प्रतिशत घटाएको छ । बैठकमा सिलिङ पास गर्न नगरप्रमुख हर्क साम्पाङले एजेण्डा राखेपछि एमालेकी उपनेता कार्यपालिका सदस्य सावित्री परियारले १० प्रतिशत घटाउने संशोधन प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सहमति जनाउँदै सर्वसम्मतरुपमा पारित गरेको हो ।

यसअघि बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ एमालेको असहमतिबिच अल्पमतले पास गरेको थियो । उक्त बजेटमा पुँजीगततर्फ १० प्रतिशत घटेर बजेट सिलिङ कायम हुनेछ ।

धरान–१७ अध्यक्ष मनोज भट्टराईले विगतमा वडाको योजनामा बजेट वा स्रोत सुनिश्चितता नभएको भनेर फिर्ता जाने गरेको तर मेयरको योजनामा भने स्रोत सुनिश्चितता हुने परम्परा अन्त्य गर्नुपर्ने बताए । उनले १० प्रतिशत कटाएर रातो किताबमा समावेश भएका सबै योजना हुबहु कार्यान्वयन हुने भनेर कार्यपालिका बैठकको निर्णयमा लेखिनुपर्ने बताए ।

बैठकले संशोधनसहित नीति तथा कार्यक्रममा एमालेले दिएको बुँदागत सुझाव समेट्ने अर्को बैठकमा पास गर्ने निर्णय गरेको छ ।अर्को बैठक भोली आइतबार दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा नीति तथा कार्यक्रम संशोधन, राजश्व पुनरावलोकन लगायतको एजेण्डामा छलफल हुनेछ ।

नगर सभा भदौ २६ गते

कार्यपालिका बैठकले नगर सभा भदौ २६ गते गर्ने निर्णय पनि गरेको छ । बैठकले नगर सभा दिउँसो १ बजे धरान उपमहानगरपालिका परिसरमा नै गर्ने पनि निर्णय गरेको छ ।

पालिका गानमा विवाद

धरान उपमहानगरपालिकाको पालिका गानको लागि छनौट भएको सिर्जना गीतमा भने विवाद भएको छ । स्रष्टाले श्रमिक शब्द उल्लेख गरे पनि मेयर साम्पाङले भने त्यसलाई परिवर्तन गर्दै श्रमदाता बनाएर गीत रेकर्ड गराएको भनी विवाद भएको हो । शब्द परिवर्तन भएकोमा श्रष्टा इटहरीकी टिका आत्रेयरले असन्तुष्टि जनाएर आफूहरूलाई फोन सम्पर्क गरेको भन्दै उपमेयर बेघा, वडाअध्यक्षहरुले एजेण्डा स्थगित गर्न आग्रह गरे ।

उनीहरूले स्रष्टाको सिर्जना वा शब्द परिवर्तन गर्ने अधिकार स्वयम स्रष्टालाई मात्र हुने भएकोले स्रष्टासँग सहमति जुटाएर मात्र पालिका गान सम्बन्धी एजेण्डा पारित गर्ने अडान कार्यपालिकाले राखेको थियो । विवाद बढ्ने भएपछि मेयर साम्पाङले स्रष्टासँग कुरा गर्ने भन्दै एजेण्डा स्थगित गरेका थिए ।