इटहरी : इटहरी उपमहानगरपालिका मातहतका सम्पूर्ण कार्यालय तीन दिनको लागी बन्द हुने भएका छन् । भदौ २३ सोमबारका दिन जेन-जीको नाममा भएको प्रदर्शनमा इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी र तोडफोड भएपछि सेवा बन्द गरिएको हो ।

मेयर हेमकर्ण पौडेलले विज्ञप्ति जारी गर्दै इटहरीमा भएको जेनजीको आन्दोलनले हिंसात्मक रूप लिई अराजकता तर्फ उन्मुख भएको र सुरक्षाकर्मी माथि ढुंगामुढा प्रहार गरी आन्दोलनलाई उत्तेजित बनाएको बताएका छन् । "इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा प्रवेश गरी सरकारी सार्वजनिक सम्पत्ति तथा सवारी साधनहरू तोडफोड र आगजनी गरी सरकारी सार्वजनिक सम्पत्तिको क्षति पुर्‍याएकोमा उक्त अराजक र ध्वंसात्मक गतिविधिको घोर भर्त्सना समेत गर्दछु," विज्ञप्तिमा उल्लेख छ ।

अराजक र ध्वंसात्मक क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका निम्ति नेपाल सरकारसँग माग गरेका छन् । आगामी दिनको परिस्थितिलाई आकलन गरी धैर्यतापूर्वक सहज वातावरण बनाउनका निम्ति सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, समाजका अगुवा, अभियन्ता, बुद्धिजीवी, सञ्चारकर्मीसँग उनले आग्रह गरे।

इटहरीमा व्यापक तोडफोड र आगजनीको कारण इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरू भदौ २६ गतेसम्म बिदा दिइएको छ ।itahari aagagani 2Itahari Mayor PR