धरान : सामाजिक सञ्जालमा रुमल्लिएर घर बाहिर निस्कन बिर्सिएको नयाँ पुस्तालाई सरकारले सामाजिक सञ्जाल बन्द गरी बाहिर ल्याएको छ । घरबाट बाहिर निस्किएका उनीहरू भ्रष्टाचार विरुद्ध सडकमा प्रदर्शन गर्न थालेका छन् ।
अङ्ग्रेजीमा जेएनजी ‘जेनजी’ नामाकरण गरिएको नयाँ पुस्ताले काठमाण्डौमा गरेको प्रदर्शनसँगै आज सोमवार बिहान धरानमा ठुलो प्रदर्शन गरेका छन् ।
सरकारले २६ वटा सामाजीक सञ्जाल बन्द गरेसँगै उनीहरू सडकमा आएका हुन ।यसले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आत्मघाती भएको सङ्केत दिएको छ । पुराना पुस्ताका नेताका सन्तानको बिलासी जीवन सहित भ्रष्टाचारको विरोध गर्दै सडकमा उत्रिएका उनीहरू अब पुनः घर भित्र सीमित हुने सम्भावना कम छ । 
  भ्रष्टाचार, बेथिति, र सत्ताको मनोमानी विरुद्ध नाराबाजी गर्दै भानु चोक देखि छाता चोक, पानी ट्याङकी हुँदै पुन भानु चोकमा प्रदर्शन गरे । प्रदर्शनमा निमावि तह देखी प्लसटू, स्नातक तह सम्मका विद्यार्थी सहभागी थिए । प्रदर्शनको रुटमा आम नागरिकले उनीहरूलाई उत्सुकतापूर्वक हेरिरहेका थिए ।
सामाजिक सञ्जाल बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रता  मात्र हरण भएको छैन । विद्यार्थीहरूको पठन पाठन पनि अवरुद्ध भएको छ । स्नातक तहकी छात्रा अपर्णा श्रेष्ठले भनिन् ‘अनलाइन क्लासमा असर परेको छ, पहिला लिङ्क म्यासेन्जरमा आउँथ्यो त्यो सेडयुलनै बन्द भयो ।’ 
क्लास रेगुलर चले पनि टाइम कति खेर हो कनफुज हुने गरेको छ । उनका अनुसार क्लास गुगल मिटबाट हुने भएकोले चल्न चैँ चलिरहेको छ । उनले भनिन् ‘विदेश रहेका बाबासँग पहिले नियमित अनलाइन कुरा हुन्थ्यो अहिले सम्पर्क हुन सकेको छैन ।’
कक्षा ११ की दीप योञ्जन भन्छन् ‘यता न उताको भयो ।’ कलेज टाइम बाहेक बिहान उठे देखिको सामाजीक सञ्जाल चलाउँदथे अहिले केही चल्दैन दिन कटाउँदै गाह्रो भइरहेको छ । सरकारले सञ्जाल बन्द गरेपछि अन्धो फिल भएको उनी बताउँछन् । 
जेन्जी भन्दा अघिल्लो पुस्ताका जीवन राई भने सामाजीक सञ्जालले छोरा छोरीले मोबाइल मागेर हैरान बनाउँथ्यो । अहिले बेलामा खाना खाने कुराकानी गर्ने सुत्ने गरेको बताउँछन् ।
धरानको प्रदर्शनमा जेनजी पुस्ताले प्ले कार्डमा वेकअप नेपाल, अनम्युट आवर भोईस, सत्य कुरा प्रचार गर्न दे, के पाईस नेपाली केरा ? जस्ता प्ले कार्ड बोकेर नारा जुलुस गरेका थिए । 
उनीहरूले भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, जनताको पैसामा मोज मस्ती गर्न पाइँदैन, गगन थापा मुर्दावाद, शेरबहादुर देउवा मुर्दावाद, नालायक सरकार मुर्दावाद, उखान टुक्के मुर्दावाद, उखान टुक्के चाहिँदैन, पुराना नेता चाहिँदैन देश बिगार्न पाइँदैन जस्ता नाराबाजी गरे ।
प्रदर्शन पूर्व जेनजीले पार्टी निकट भ्रातृ संस्थाहरूलाई प्रदर्शनमा सहभागी हुन अनुमति छैन भनी सन्देश दिएका थिए । उनीहरूले आन्दोलनको सहभागितालाई स्वतःस्फूर्त, निष्पक्ष र जनमुखी बनाउने बताएका छन् ।
फोटो फिचर :
zng-11
genzi-1genzi-2