धरान: राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । 
राजीनामा स्वीकृत भए लगत्तै राज्यका सुरक्षा प्रमुखहरूले अपिल जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भैसकेको हुँदा विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका छन् । 
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुत राज थापाले अपिल जारी गरेका हुन् ।
अपिलमा हिजो देखी काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनको क्रममा ठुलो जनधनको क्षति भएको उल्लेख गरिएको छ । ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गरिएको छ ।
अपिलमा ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृत भैसकेको हुँदा यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दर्छौ’ भनिएको छ ।
barta