धरान : इटहरीमा जेनजी प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले फाइरिङ गरेको छ । गोली लागेर दुई जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका दुईजनामध्ये एकजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृतक इटहरी-१६ निवासी २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । गोली प्रहारबाट दर्जनौँ घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रदर्शनकारीहरूले आज सोमवार दिउँसो तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएकोले गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोली प्रहारमा कति जना घाइते भए भन्ने आधिकारिक जानकारी दिइएको छैन ।

गोली लागेर गम्भीर घाइते भएकालाई तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको बताइएको छ ।  उपचारको क्रममा घाइतेको मृत्यु भएको बताइए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

प्रहरी र सुरक्षाकर्मी समेत घाइते

प्रहरी निरीक्षक कोमल ठाकुरसहित नेपाल प्रहरीका ९ जना, सशस्त्र प्रहरी एपीएफका ४ जना र नगर प्रहरीका १ जना घाइते भएको जिल्ला प्रहरी उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।

सेना परिचालन

स्थितिलाई नियन्त्रणमा लिन सुनसरी जिल्ला प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेपछि सेना समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

सरकारी कार्यालयमा तोडफोड र आगजनी

प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगजनी गरेको प्रहरीले जनाएको छ । साथै इलाका प्रहरी कार्यालय इटहरीतर्फ ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

zen1zen 5zen4