धरान : काँग्रेसका आदिवासी जनजातिले समुदायमा पुगेर उनीहरूको सवालहरू बुझेर पार्टीमा उठाउने र उनीहरूलाई काँग्रेसमा आदिवासी समुदायको भूमिका बुझाउनु पर्ने महासमिति सदस्य तथा धरानका पूर्व मेयर तिलक राईले बताएका छन् ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरी–१ ‘क’ का नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको निर्वाचन तथा बधाई कार्यक्रममा उनले भने ‘काँग्रेसको नेतृत्वमा मुलुकमा भएको परिवर्तनहरूमा आदिवासी जनजातिको निर्णायक भूमिका रहँदै आएको छ, पार्टीमा आदिवासी पछि पर्नुको कारण हामी आफैले खोजी गर्नुपर्ने बेला आएको छ ।’

पार्टीमा आदिवासीका अग्रजहरूले गरेको योगदानको आधारमा भूमिका खोज्नु पर्ने कुरामा जोड दिँदै उनले नेपाली काँग्रेस आदिवासीका समानुपातिक अधिकार, भाषिक, सांस्कृतिक अधिकारलाई संवैधानिक रूपमा स्थापित गर्ने पहिलो पार्टी भएको उनले बताए ।

पूर्व मेयर राईले भने ‘बिचको समय काँग्रेसमा आदिवासी जनजातिको प्रतिनिधित्वमा कमी आएकाले समुदायले इतिहास बिर्सिएका छन् र भूमिकाको खोजी हुन सकिरहेको छैन ।’ काँग्रेसले जाति समुदाय बिच काँग्रेसको सन्देश पुर्‍याउने भातृसंस्थाको रूपमा जातीय सङ्घहरूलाई त्यसै कारण सक्रिय बनाएको उनले बताए ।

सङ्घहरूमा बसेर नेताहरूका वरिपरि घुमेर मात्र सङ्घहरूको उद्देश्य प्राप्ति नहुने बताउँदै उनले आदिवासी जनजातिका सवालहरू बुझ्ने, अध्ययन गर्ने र समुदाय सम्म पुगे र ऊनीहरूसँग अन्तरक्रिया गरे मात्र यथार्थमा आदिवासीको जनजातिको नेतृत्व गर्न सकिने उनले बताए ।

नेपाली काँग्रेस सुनसरी–१ क्षेत्रीय सचिव महेन्द्र प्रधानले संयुक्त राष्ट्र सङ्घीय कानुन आइएलओ १६९ को चर्चा गर्दै धरानमा जनजातिको अगुवा भन्न रुचाउन नगर प्रमुख हर्क साम्पाङ कुनै पनि कार्य गर्दा स्थानीय सरकारवालासँग परामर्श पूर्व स्वीकृति नलिने गरेको उदाहरण सर्दु खोलामा भइरहेको गतिविधि भएको बताए ।

उनले भने ‘आइएलओ १६९ ले कुनै पनि योजना लागु गर्दा स्थानीय आदिबासीसंग परामर्श र पूर्व स्वीकृति लिएर गर्नु पर्छ तर सर्दु खोलाका सरोकारवालासँग अहिले सम्म सोधपुछ भएको छैन, यसबारे आदिवासी जनजाति महासङ्घले कुरा उठाउन जरुरी छ ।’

नेपाली काँग्रेस जिल्ला उपसभापति नागेशचन्द्र राईको प्रमुख आतिथ्यमा भएको निर्वाचन तथा स्वागत बधाई कार्यक्रम काँग्रेस प्रदेश सभा १ क का अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा भएको थियो ।

निर्वाचन कार्यक्रममा लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरी-१ ‘क’ को अध्यक्षमा धना लिङदेन मगर र उपाध्यक्षमा सचिन तुम्बापो निर्विरोध निर्वाचित भएका थिए । 

यसअघि सङ्घ २०८० चैत गठन भएको थियो । अध्यक्षले राजीनामा दिएकाले पूर्व निर्वाचन गराइएको हो । कार्यक्रम प्रदेश १ क की उपाध्यक्ष झुमादेवी राईले सञ्चालन गरेकी थिइन । काँग्रेसका नेताहरूले नवनिर्वाचित अध्यक्ष उपाध्यक्षलाई बधाई ज्ञापन गरेका थिए ।