धरान : सरस्वती बाल आश्रमले ६१ औँ राष्ट्रिय बाल दिवस बालबालिकाको सहभागितामा सप्ताहव्यापी कार्यक्रम सहित मनाउँदै छ ।
बाल दिवसको पूर्व सन्ध्यामा भदौ आज शुक्रवार धरान–३ वडाका बाल क्लबहरू बिच नृत्य प्रतियोगिता सुरु हुँदैछ । आश्रमकी द्वितीय उपाध्यक्ष कार्यक्रम संयोजक शान्ता अधिकारीले शनिवार खेलकुद तथा आश्रमका बालबालिकालाई शैक्षिक भ्रमण गराइने छ ।
सोमवार नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता र मङ्गलवार बाल स्वास्थ्य परीक्षण शिविर आयोजना गरिने छ । बुधवार बिहान प्रभातफेरी, दिउँसो साधारण सभा तथा बाल दिवस समापन समारोह आयोजना गरिने बताइन् ।
आश्रमले बाल दिवसकै दिन ३९औँ वार्षिक साधारण सभा सम्पन्न गर्ने उनले बताइन् । आश्रमकी अध्यक्ष रुक्मणि मास्केका अनुसार सप्ताहव्यापी कार्यक्रममा रचनात्मक तथा चेतनामूलक गतिविधिहरू समावेश गरिएको छ । 
सबै प्रतियोगितामा विजयीहरूलाई प्रथम र द्वितीय पुरस्कार प्रदान गरिने छ । कार्यक्रमका लागि झण्डै १ लाख ७५ हजार रुपैयाँ बराबर खर्च हुने अध्यक्ष मास्केले बताइन ।
बाल अधिकार, स्वास्थ्य, सिर्जनात्मकता र सहभागितामूलक शिक्षालाई प्रोत्साहन गर्न आश्रमले विगतदेखि गर्दै आएको यस्तो कार्यक्रम समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकहरूको छ ।