धरान: युवा पुस्ता पश्चिमी सँस्कृतिप्रति आकर्षित भएको भन्दै बुढापाकाहरु चिन्तित भइरहदा धरानका पछिल्लो युवा पुस्तामा भने आफ्नो मौलिक कला, सँस्कृति तथा सँस्कारप्रतिको मोह बढ्दै गएको छ । युवा पुस्तामा सँस्कृतिप्रतिको मोहदेखेर साँस्कृतिक अभियन्ताहरु पनि असाध्यै खुशी छन् ।

नपत्याए धरान १७ की १८ बर्षीय मविना राईलाई नै हेरौ न । करिब दश दिनयता उनी चौबन्दी चोली र गुन्युमा चिटिक्क सजिएर हिडिरहेको भेटिन्छ । नाकमा ढुंग्रे बुलकी, कानमा मारवाडी, गलामा पैसाको हारी र मुगाको मालाले पनि उनलाई असाध्यै सुहाएको छ । किरात राई जातिको मौलिक पहिरनमा सजिएकी मविना ढाकाको पछ्यौराले शिरलाई छोपेर मंगलबार जेठको प्रचण्ड गर्मीमा पनि धरान १८ बुद्धचोकमा साकेला सिली नाचिरहेकी थिइन् ।

sakela-youth5

उनीसँगै लहरमा नाच्नेहरु अधिकांश युवाहरु नै थिए । आफ्नो मौलिक सँस्कृति जर्गेना गर्नुपर्छ भनेर मौलिक पहिरन लगाएर साकेला सिली सिक्ने र नाच्ने युवा जमात धरानमा बढ्दै गएको छ । तिनै युवा पुस्ताको प्रतिनिधि पात्र हुन्, १८ बर्षीय मविना । ‘साकेला हाम्रो मौलिक चाड हो, आफ्नो सँस्कार सँस्कृति हो । यसको संरक्षण गर्नुपर्छ भनेर हामी नाच्छौं,’ सानै उमेरदेखि साकेला नाच्न थालेको मविनाले भनिन् ।

धरान १८ का २१ बर्षीय युवा साहिल राईको धारणा पनि मविनाकै जस्तो छ । कक्षा ४ मा पढ्दादेखि नै साहिल साकेला नाच्न थालेका थिए । सँस्कृति प्रेमी उनकी आमाले डोर्याएर साकेला कार्यक्रमहरुमा उनलाई लैजान्थे । त्यही बेलादेखि उनको साकेला र आफ्नो मौलिक सँस्कृतिप्रति प्रेम बसेको थियो । अचेल त उनी मजाले सिली टिप्छन् । दौरा सुरुवालमा ठाटिएर मंगलबार बुद्धचोकमा साकेला नाच्दै गरेको भेटिएका साहिलले भने,‘आफ्नो सँस्कृति, सँस्कार हो । मौलिक पहिरन लगाउनुपर्छ, सँस्कार बचाउनुपर्छ ।’

sakela-youth2

हरेक बर्ष बैशाखे पुर्णिमादेखि धरानसहित सुनसरी जिल्लामा १५ दिनसम्म वृहतरुपमा साकेला सिली कार्यक्रम आयोजना हुन्छ । धरानको त चोक चोकमा साँझमा विभिन्न प्रारम्भिक कार्य समितिले साकेला सिली प्रर्दशनी गर्छन् । ती कार्यक्रमहरुमा पनि युवा पुस्ताकै बढी सहभागिता हुन्छ । ‘पहिला दौरा सुरुवाल, चौबन्दी चोली लगाउन युवा पुस्ता लजाउथे, अचेल उनीहरु गर्व गर्छन्,’किरात राई यायोक्खा प्राकस वडा १८ का उपाध्यक्ष शिवकुमार राईले भने,‘युवाहरुमा हाम्रो मौलिक सँस्कृति हो, संरक्षण गर्नुपर्छ भन्ने ज्ञान बढेको छ, यो हाम्रो लागि खुशीको कुरा हो ।’

उनका अनुसार धरान १८ मा यायोक्खा जिल्ला कार्यसमितिको तालिका अनुसार हरेक बर्ष दशमीमा वृहत साकेला प्रर्दशनी कार्यक्रम हुन्छ । वडा १८ मा एक बर्ष बुद्धचोकमा र अर्को बर्ष रत्नचोकमा आयोजना हुन्छ । आफ्नो सँस्कार, सँस्कृति संरक्षण गर्ने मुख्य उद्देश्यले उभौलीमा वृहत साकेला सिली प्रर्दशनी १५ दिनसम्म आयोजना गरिने यायोक्खाको सहकोषाध्यक्ष एवं साकेला प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्र चाम्लिङले बताए ।

sakela-youth4

aIMG_7739