मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । यदि कुनै कारणले मिर्गौलाले रगत फिल्टर गर्न वा फोहोर वस्तुलाई बाहिर निकाल्न नसकेमा मिर्गौला फेल भएको मानिन्छ, जसलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । मिर्गौला फेल हुनुका विभिन्न कारण छन् । जसमा अस्तव्यस्त सहरी जीवनशैली र अस्वस्थ खानपानलाई मुख्य कारण मान्न सकिन्छ :
उच्च रक्तचाप
उच्च रक्तचाप मिर्गौला फेल हुनुको मुख्य कारण हो । रक्तचापका कारण धमनीमा अत्यधिक दबाब पर्ने भएकाले मुटुको साथै मिर्गाैलमा पनि असर र्पुयाइरहेको हुन्छ । यस्तै गलत खानपानले रक्तचाप बढाउने गर्छ, जसको सोझो असर मिर्गौलामा पर्छ ।
मधुमेह
गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । यदि बिरामीले मधुमेह नियन्त्रण गर्न सकेन भने शरीरमा अत्यधिक ग्लुकोज जम्मा हुने गर्छ । जसले गर्दा मिर्गौलाले रगत फिल्टर गर्न सक्दैन । फलस्वरूप मिर्गौलामा विशाक्त पदार्थ जम्मा हुन्छ र फेल हुने सम्भावना बढेर जान्छ । व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ ।
वंशाणुगत गुण
मिर्गौला फेल हुनुको एउटा कारण वंशाणुगत गुण पनि हो । यदि कुनै व्यक्तिमा मिर्गौलाको समस्या छ भने बच्चामा पनि फेल हुने सम्भावना रहन्छ । तनावका कारण पैदा हुने हर्मोनले मिर्गौलामा नोक्सानी र्पुयाउँछ । अस्वस्थ जीवनशैली तथा गतिहीन दिनचर्या भएको व्यक्तिमा टक्सिनको मात्रा बढ्ने गर्छ । मिर्गौलाले यी टक्सिनलाइ बाहिर निकाल्न पाउँदैन, जसकारण फेल हुने सम्भावना बढेर जान्छ । धूम्रपान र मध्यपान बढी गर्ने व्यक्तिमा पनि मिर्गौलाको समस्या एकदमै धेरै हुन्छ ।
अन्य समस्या
विभिन्न अन्य समस्याले पनि मिर्गौला फेल गराउन सक्छन् । जस्तो ‘क्रोनिक किड्नी डिजिज’ भएपछि बिस्तारै मिर्गौलाको कार्य क्षमतामा ह्रास आउँछ । त्यस्तै, मिर्गाैलामा हुने पत्थरीका कारणसमेत मिर्गाैला फेल हुन सक्छ ।
रोकथाम र उपचार
व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ । सामान्यतया मिर्गौला ९० प्रतिशत फेल भएपछि मात्र लक्षण देखिन्छ । यस्तोमा अन्तिम उपाय डायोलोसिस र प्रत्यारोपण मात्रै बाँकी रहन्छ । त्यसैले हामी समयमै सचेत हुन जरुरी छ । प्रत्येक एक वर्षमा नियमित मिर्गौला परीक्षण गराएमा समस्याबाट बच्न सकिन्छ ।मिर्गाैला फेल भइसकेको व्यक्तिका हकमा डायोलोसिस र प्रत्यारोपणबाट पूर्ण उपचार गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपण नेपालमा पनि सुलभ छ । प्रत्यारोपण पूर्ण उपचार हो ।
डा. पुकार श्रेष्ठ
मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ
कार्यकारी निर्देशक, नेपाल मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर