आज श्रावण सङ्क्रान्ति, अर्थात् आज सौर्य मास अनुसार कर्कट सङ्क्रान्ति। सनातन वैदिक संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई श्रावण सङ्क्रान्ति पर्वको रूपमा लिइन्छ ।
लुतो फाल्ने दिनका रूपमा पनि मनाइने यस दिन सबेरै विशेष सरसफाइ गरिन्छ र निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने र थाल, नाङ्लो सङ्ख आदि बजाई नराम्रो तत्त्वलाई धपाउने चलन अझै पनि गाउँघरतिर प्रचलित छ। त्यसै गरी ब्रह्ममुहुर्तमा स्नान गरेर, सूर्यलाई जल अर्पण गरी पुरोहित बाट सङ्क्रान्ति फल सुन्ने चलन पनि छ। विशेषतः थारु समुदायमा साउने संक्रान्तिलाई गुरिया पर्वका रूपमा मनाउने प्रचलन रहेको छ। यसै गरी लिम्बू समुदायले पनि साउने सँक्रान्तिलाई सिसेक्पा तङ्नाम भन्दै मनाउने गर्दछन् ।
यस दिन देखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले, दिन छोटो र रात लामो हुँदै जाने विश्वास पनि गरिन्छ । सनातन वैदिक संस्कृतिका अनुसार सूर्य दक्षिणायन हुँदा देवताहरूका रात र पितृहरूका दिन हुने भएकाले वैदिक धर्मावलम्बीहरुले साउन महिनादेखि पितृ कार्यको प्रारम्भ गर्ने प्रचलन छ। अयन भनेको सूर्यको उत्तर र दक्षिणी हिँडाइको गति हो । सूर्यको पालो फेरिएर एक स्थानबाट अर्को स्थानमा जानुलाई सङ्क्रान्ति भनिने हुँदा मकर सङ्क्रान्ति देखि सूर्यको गति उत्तरतिर हुन्छ भने कर्कट सङ्क्रान्ति देखि दक्षिणतिर हुन्छ । यसरी कर्कट सङ्क्रान्ति लामो दिन बाट दक्षिणायन र मकर सङ्क्रान्ति छोटो दिन बाट उत्तरायण सुरु हुने तथ्य विज्ञान सम्मत र शास्त्र सम्मत रहेको छ।
पौराणिक व्याख्यान अनुसार श्रावण महिनामा समुन्द्र मन्थन भएको र त्यसपछि कालकुट (हलाहल) विष निस्केको उल्लेख छ । जसले संसार नष्ट गर्ने सामर्थ्य राख्थ्यो। संसार रक्षाका निमित्त महादेव स्वयम्ले कालकुट विष आफ्नो कण्ठमा धारण गर्नुभयो। यस हलाहल विषका कारण महादेवको कण्ठ निलो हुनभयो । तत्पश्चात् भगवान् शिव नीलकण्ठ कहलिनु भयो । यसरी विष ग्रहण गरे पश्चात् नीलकण्ठ भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर आफ्नो त्रिशूल गाडी गोसाईंकुण्ड भित्र समाधिमा लिन हुनुभयो र यसरी विषको असरलाई न्यून गर्नुभएको उल्लेख छ । कालकुट विषको प्रभावमा रहनुभएका महादेवलाई श्रावण महिनामा शिवलिङ्गोपरी जल,बेलपत्र तथा पुष्प अर्पण गरेमा महादेव प्रसन्न हुने मान्यता छ । शिव पुराण अनुसार सोही त्रिशूल गाडेको ठाउँबाट पानीको स्रोत उत्पन्न भई नदीको रूप लिई त्रिशूल नदीका नामले प्रचलित भयो।
यसै अनुसार श्रावण महिनामा शिवलिङ्गोपरी जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै गेरङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरुको भीड लाग्ने गर्दछ ।
यसै गरी श्रावण महिनामा महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियो लुगा र चुरापोते लगाउने चलन पनि यसै दिनबाट सुरु हुन्छ । यस्तो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दी लगाएर शिव मन्दिरहरूमा जल, भाङ्ग, धतूरो पुष्प तथा बेलपत्र अर्पण गरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी उपवास बस्ने चलन रहि आएको छ ।
नेपाल कृषि प्रधान देश भएकाले यहाँको आधा भन्दा बढी जनसङ्ख्या कृषि पेसामा सँग सम्बन्धित छन्। असार महिना भरी 'मानो रोपेर मुरी उब्जाउने' काममा व्यस्त भएका किसानहरू थकित हुनुका साथै मनोरञ्जन गर्न पनि पाएका हुँदैनन्। त्यसैले हिलो मैलो लागेको शरीर र थकित अवस्थामा शरीरलाई ऊर्जावान् बनाउन श्रवण सङ्क्रान्तिका दिन स्नानादि सुगर सपाइका काम गरी विभिन्न संस्कृति अनुसार श्रवण सङ्क्रान्ति मनाउने चलन रहेको छ ।