इटहरी : इटहरीको विराटनगर लाइनमा पर्ने चिन्तन चौतारी एक कलात्मक बिम्बहरूको पाठशाला हो। व्यवसायको हिसाबमा चिन्तन चौतारी रिसोर्ट हो । त्यससँगै चिन्तनको गन्तव्य पनि । रिसोर्टको प्रवेशद्वारबाट नै आकर्षक कलाको अवलोकन गर्न सकिन्छ ।

पहिलो प्रवेशद्वारमै सोचिरहेको व्यक्तिको मूर्तिले ध्यान खिच्छ। चुरोट समाएर सोच्दै गरेको व्यक्तिले पहिलो ध्यान तान्छ । त्यसपछि देखिने महिलाको मूर्ति झनै आकर्षक देखिन्छ । त्यसैले चिन्तन चौतारीको मुख्य आकर्षण बढाएको छ । काखे बालकको साथ हातमा खुकुरी लिएर बसेकी छिन् महिला । बालकले उनको कपडा च्यात्ने प्रयत्न गरेजस्तो देखिन्छ । आफ्नै सन्तानले आमा माथि हमला गर्न खोजेको जस्तो देखाइएको छ।

chintan-2 मूर्तिका परिकल्पनाकार पुर्वमन्त्री रामकुमार सुब्बा हुन् । त्यसलाई उनले 'नेपाल आमा' भनेर नामकरण गरेका छन् । मूर्तिमा सिङ्गो नेपालको प्रतिविम्ब रहेको बताउँछन् उनी । टाउकोमा रहेका ३ वटा घडाले मधेसमा पानी बोक्ने संस्कारलाई बुझाएको छ । त्यसलाई हिमाल, पहाड र तराईको प्रतीकको रूपमा पनि बुझ्न सकिने उनले बताए । पूर्ण नेपाल हुनको निम्ति हिमाल पहाड र तराईको विम्बको रूपमा मूर्ति तयार परिएको उनको भनाई छ।chintan-1

महिलाको पहिरनमा पनि तिनै प्रदेशका पहिचान झल्किएका छन् । संस्कार र भाषा जोगिएन भने नेपाल हुँदैन भनेर पहिचानको कुरा जोडिएको उनले बताए । “हिमालीले तराईको घैला बोक्ने परम्परालाई देखाउन खोजेको हुँ । तराइवासीले पहाडमा प्रयोग हुने खुकुरी बोकेको देखाइएको छ । त्यो भनेको पहाडमा बनेको खुकुरी बोकेर तराईको सिमाना रक्षा गर्नुपर्छ भन्न खोजिएको हो ।,” उनले भने, "जङ्गे पिल्लरले मात्र सीमा रक्षा हुँदैन त्यही भएर नेपाल आमालाई सुरक्षित गर्नको निम्ति हिमाल पहाड र तराईको सामूहिक एकता जरुरी छ । तिनै महिलाले खकुरी समाएको हातमा ४ धर्मको प्रतीक बोकेकी छिन् । जुनसुकै धर्मका भए पनि नेपालको रक्षाको लागी एक हुनुपर्छ भन्ने सन्देश दिइएको छ ।"

२०६२-६३ को आन्दोलन पछि सुब्बालाई राजनीतिबाट फुर्सद मिल्यो । फुर्सदको समयमा केही गर्नुपर्‍यो भन्ने सोचमा पुगे उनी । त्यही भर्खरै १० बर्से माओबादीयुद्ध सकिएको थियो । युद्ध पछिको जनआन्दोलनमा जातीयता र क्षेत्रीयताका विषय मुख्य राजनैतिक मुद्दा हुँदै गए । जातीय विभाजन र क्षेत्रीय विभाजनले प्राथमिकता पायो । सोही अनुसार दलहरू खुल्ने क्रम जारी रह्यो । तत्कालीन अवस्थालाई मध्यनजर गर्दै सुब्बाले सबै जाती र धर्म एक हुनुपर्ने सन्देश दिने अभियान सुरु गरे । त्यस बेला बाहिर बोल्न सक्ने अवस्था नभएकाले उनकै परिकल्पनामा मूर्तिहरू तयार भए । जुन अहिले इटहरीको प्रमुख आकर्षणको केन्द्र भएको छ।

दोस्रो गेट भित्र छिर्ने बित्तिकै हरियाली वातावरण देखिन्छ । निक्कै व्यवस्थित । रिसोर्टको एक कुनामा गौतम बुद्धको मूर्ति छ । मूर्तिको एक भाग रिसाएको र अर्को भाग खुसी भएको जस्तो देखिन्छ । बुद्धको देशमा बन्दुकले शासन गर्नहुँदैन भनेर मूर्तिले बुझाउन खोजेको सुब्बाले सुनाए । शान्तिको प्रतीक परेवालाई मूर्तिमा आतङ्कित अवस्थामा देखाइएको छ । त्यसले युद्धको भय भनेर बुझाउन खोजिएको उनको तर्क । परेवा जोडी बन्दुक देखी डराएका छन् । तोपलाई साङ्लोले बाँधेर शान्ति स्थापना गर्नुपर्ने बुझाइएको छ । शान्ति आएपछि परेवाले बन्दुकको नालमा आफ्नो गुड बनाउन सक्छन् भनेर देखाइएको हो ।

chintan-6

बिचमा मछ्यगन्धाको मूर्ति छ । धर्मकी आमा मछ्यगन्धा भएकाले धर्ममा कुनै विभेद नभएको देखाइएको छ । पानी खाँदै गरेको व्यक्ती एकातिरबाट मुस्लिम र अर्कातिर बाट हिन्दुको हुलियामा देखिन्छ । जिसस क्राइस्टको हात देखाइएको छ । सुब्बाका अनुसार एउटी आमाका सबै थरी सन्तान भनेर बुझाउन खोजिएको हो । सबै सन्तानलाई आमाको बराबर माया भएकाले सबै नेपाल आमाका सन्तान एक हुनुपर्ने सन्देश दिन खोजिएको उनको तर्क छ । सुब्बा आफै हिन्दु राज्यको पक्षमा अभियान चलाउने नेता हुन् । तथापि सबै धर्मको जग वेद नै भएको उनको बुझाई छ ।

रेस्टुरेन्ट भित्र शिवजीले कालकुट विष सेवन गरेर विश्वलाई जोगाएको बेला अवस्था देखाइएको छ । हलाल विष पिएर कण्ठमा राखेको बेला उनी पिडामा हुन्छन् । कैलाश पर्वतमा सुतेर शान्त हुन खोजेको बेलाको बिम्ब राखिएको उनले बताए । शिवजीले विश्वका प्राणीको रक्षाको लागी कालकुट विष सेवन गरेको उनले सुनाए ।

सबैभन्दा धेरै प्राणी जगतको विनाश महाभारतको युद्धमा भएको मानिन्छ । युद्धका निर्णायक एक पात्र हुन्छन् बर्बरिक । बर्बरिकले आफू युद्ध नलेडेपनि महाभारत युद्ध हेर्ने इच्छा व्यक्त गर्छन् । उनलाई त्यो अवसर मिल्छ । युद्धपछि पाण्डवका ५ भाइले कसको कारण युद्ध जितेको भन्ने विवाद चल्छ । त्यो बेला सबैमा अहमता बढ्दै जान्छ । सबैले आआफ्नै दाबी पेस गर्छन् । पछि कृष्णले यो युद्ध कसको कारणले जितेको हो भन्ने बर्बरिकलाई सोध्नुपर्ने सल्लाह दिन्छन् । सोही बमोजिम उनलाई सोध्दा कृष्णको कारणले जितेको भन्छन् । सबैतिर कृष्णको सुदर्शन चक्रको बल रहेको युद्ध जितेको उनले प्रष्ट पार्छन् । त्यस्तै कुनै समयमा इतिहासको मूल्याङ्कन हुने भन्दै बर्बरिकको मूर्ति उनले सजाएका छन् ।

रिसोर्ट मात्र नभएको सुब्बाको घर पनि एक कलाकारिताको केन्द्र हो । घरमै संसार सजाएका छन् उनले । घरको गेटैमा हाँसको ठुलो मूर्ति छ । हाँसले दूध र पानी छुट्याएर खान सक्छ । राम्रो र नराम्रो कुरा छुट्याएर न्याय गर्न सक्नुपर्ने उनले बुझाउन खोजेका छन् । त्यस्तै घरभित्र छिर्दा राम्रो कुरा मात्र लिएर प्रवेश गर्नुपर्ने र नराम्रो सोच बाहिरै छाड्नु भनेर देखाउन खोजेको उनले बताए ।

उनले २ वर्षमा तयार पारेको रेस्टुरेन्ट केही समय चलाए । सुब्बा पुनः राजनीतिमा सक्रिय भएपछि रिसोर्टको कसैले ख्याल गरेन । केपी ओली नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री समेत भए उनी । हाल उनका छोरा सोसोले रेस्टुरेन्ट, होटेल र क्याफे सँगै सञ्चालनमा ल्याएका छन् । सहरको बिचमा जङ्गल भित्र रिसोर्ट चलाएका छन् उनले । कला सँगै प्रकृतिको संयोजन मिलाएका छन् ।

१२ सुपर डिलक्स रुम रहेको होटेल रिसोर्टको नयाँ आकर्षण हो । ३५ जनाले प्रत्यक्ष रोजगारी पाएको रिसोर्टमा ३ करोड लगानी भएको उनले सुनाए । कलाकारिता क्षेत्रमा जम्दै गरेका सोसो व्यवसायीक क्षेत्रमा पनि सफल बन्दै गएका छन् । कोरोना महामारी र बाढीले क्षति पुर्‍याएको व्यवसायलाई नयाँ रूप दिन लागिपरेका छन् उनी ।

chintan-4chintan-7