धरान : धरान उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि धरानवासीले जुन धरानको विकास र समृद्धिको आशा गरेका थिए त्यस्तो हुने सङ्केत अहिले देखिएको छैन ।

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ विगतमा सामाजिक अभियन्ता भएर जसरी धराने जनताको समस्यालाई मुद्दा बनाएर उठाउँदै आएका थिए तर नगरको प्रमुख भए पछि त्यसलाई कार्यान्वयन गर्न निकै चुनौती देखिएको छ ।

साम्पाङ निर्वाचित भएर धरान उपमहानगरमा आएपछि बसेको पहिलो कार्यपालिका बैठक गत जेठ २३ गते समय अभावका कारण भन्दै नदीजन्य उत्खननको एजेन्डामा पुगेर स्थगित भएको अहिले सम्म सुचारु हुन सकेको छैन । यसरी आर्थिक वर्षमा नगरको विकास योजनाहरूमा बजेट विनियोजन गरेर वडाहरूमा यति बेला बजेटको सिलिङ पठाएर छलफल गर्नुपर्ने बेलामा कार्यपालिका बैठक अझै बस्न सकिरहेको छैन । एउटा समूहले कार्यपालिका बैठक तुरुन्त बस्नुपर्ने र बैठकको लाइभ गर्नुपर्ने लगायतको माग गर्दै दबाबमूलक कार्यक्रम पनि गर्दै आइरहेको छ । 

यही क्रममा धरान उपमहानगरपालिकाको पछिल्लो गतिविधिमा केन्द्रित रहेर धरानका राजनीतिक विश्लेषक डा.राजेन्द्र शर्मालाई कपुरी न्युजले केही प्रश्न गरेको छ । 

धरानको पहिलो कार्यपालिका बैठकलाई तपाई कसरी लिनुहुन्छ ? 

बैठक सञ्चालनमा अपरिपक्वता देखियो । त्यो मिलाउने काम कार्यकारी अधिकृतको हो । तर उनी परोक्ष नै बसेको देखियो । ७५३ वटै स्थानीय तहमा अनुभवी प्रमुख नहुन सक्छन् । बैठक सञ्चालनका न्यूनतम विधिहरू सिकेर जानु पर्छ । बिचबिचमा कुरा काट्ने पँधेराको गफ शैलीको बैठकलाई स्तरीय मानिँदैन । सबैको पालो सकिए पछि जवाफ दिने चलन बसाउनुपर्छ । 

हुटिङ बेन्चमा बसेर नारा लाए जस्तो मात्र हल्का रूपमा कार्यपालिका बैठकलाई मेयरले लिएको देखियो । नत्र बैठक अघि नै लबिङ गरेर सहमति जुटाएर जानुपर्थ्यो एजेन्डाका बारेमा । स्वतन्त्रलाई सफल हुन छोडिदियो भने संसदीय व्यवस्था नै धरापमा पर्छ भन्ने दलीय निष्कर्षका कारण हर्क साम्पाङलाई असफल बनाउने घेराबन्दी दलहरूले गरेको देखियो ।  

कार्यपालिका बैठकमा मेयरले उठाएका प्रस्तावहरू कस्ता छन् ? 

एजेन्डाहरूमा नियत सफा देखिए पनि नगरपालिकाको आर्थिक स्रोतबारे कुरा उठाउँदा वैकल्पिक स्रोतहरू देखाएर जानुपर्थ्यो । नदीजन्य वस्तुको सदुपयोगबारे कार्यदल बनाएर तथ्याङ्कमा आधारित एजेन्डा बनाइनुपर्थ्यो । चुनाव अघिको नाराजस्तो एजेन्डा बैठकमा प्रवेश गराउँदा समस्या आएको हो । त्यस्तै खानेपानीको सवालमा पनि बस्तुगत तथ्यका आधारमा अघि बढ्नु जरुरी हुन्छ । 

कार्यपालिका बैठकमा भएको चर्काचर्कीको सम्बन्धमा तपाई के भन्नुहुन्छ ?

बैठक सञ्चालनको विधि नजान्दा र स्वार्थ बाझिएका कारण चर्काचर्की भएको देखियो । चर्काचर्कीले स्वार्थलाई लाभ हानी तिर मोडिदियो।

नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा यहाँको धारणा के छ ? 

नगरपालिकालाई ऐनले दिएको आय स्रोत हो नदीजन्य पदार्थको बिक्री । अनियन्त्रित दोहन बढी भयो अथवा अनियमितता भयो भने त्यो दोहन र अनियमिततालाई रोक्ने हो । स्रोत नै बन्द गर्ने कुरा व्यावहारिक होइन ।

कार्यपालिका बैठकको लाइभ र यसको व्यवस्थापन बारे तपाई के भन्नुहुन्छ ? 

लाइभको अर्थ नबुझ्दा यस्तो भएको हो । फेसबुकमा लाइभ गर्ने ? अनि न्युज पोर्टल नै नभएकालाई लाइभ गर्न दिने ? स्थानीय निकायको बैठकमा के-के हुन्छ भनेर आम मानिसलाई चासो हुनु स्वाभाविक हो । तर त्यसको लागि नगरपालिकाले आफ्नो आधिकारिक पेजमा र केही टिभीहरुलाई अनुमति दिएर लाइभ गर्नु पर्छ । अनुभवले सिकाउँदै जान्छ त्यो पनि । तर लाइभ चैँ साह्रै अव्यवस्थित अनि अमर्यादित देखियो । त्यसले धरान कै हैसियत सार्वजनिक गर्यो  हामीलाई लाजमर्दो बनायो । 

केही समूहले मेयरको पक्षमा प्रर्दशन गरिरहेको कुरालाई तपाई कसरी लिनुहुन्छ ?

जिम्मेवार राजनीतिक दलका कार्यपालिका सदस्यहरूले चिन्ता गर्नु पर्ने विषय हो यो । मेयर एक्लो भएको यथार्थलाई आत्मसात् गर्नुपर्छ कि ऊ जननिर्वाचित हो । उसलाई काम गर्ने वातावरण दिइनु पर्छ । होइन भने मेयर अपरिपक्व छन् र उनले यसरी नै आफूलाई भोट दिएका समूह गुहार्न जानुको विकल्प रहँदैन । त्यसले भिडन्त निम्त्याउँछ । धरानको विकासमा सहयोग गर्दैन । 

यस्तो अवस्था रह्यो भने नगरसभा ठिक समयमा होला ?

नगरसभा बजेट र नीति तथा कार्यक्रम सबै अलपत्र पर्ने लक्षण छ । असार १० भित्र बजेट आइसक्नु पर्ने र त्यो काम पछि धकेलियो भने त्यसको जिम्मेवार यिनै अनुभवी दलहरू हुनेछन् ।

अव राजनीतिक दलबाट निर्वाचित भएको जनप्रतिनिधि, कार्यपालिका सदस्यहरूले के गर्नुपर्छ ? 

स्थानीय तह राजनीति गर्ने थलो होइन, सिंहदरबारका काम घरदैलोमा पुर्याउने विकासे निकाय हुन् । यही कुरालाई आत्मसात् गर्दै सहमतिमा अघि बढ्नुको विकल्प छैन ।

के गर्दा यो सबै समस्याको हल होला ?

मेयरले योग्य र विशेषज्ञहरू सल्लाहकार पाएनन् । उनी एक्लै केही गर्ने असल नियत बोकेर त्यहाँ आएका छन् । उनलाई साथ र सहयोग चाहिएको छ । उनले शीघ्र सल्लाहकारहरू चयन गरेर अघि बढेको राम्रो हो । हर्क साम्पाङ पपुलर भयो भने हाम्रो राजनीति समाप्त हुन्छ भन्ने ढङ्गले दलहरूले सोच्नु हुँदैन । धरान बनाउने काममा सबै एकजुट भएर लागेको राम्रो हो । इतिहासले गाली गर्ने काम कसैले नगरेको उत्तम हो ।