धरान : स्थानिय तह निर्वाचन सम्पन्न भएको र विजयी घोषणा भएको निक्कै लामो समय पछि सोमबार धरान उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बस्यो । 

बैठक सबैको चासो र सरोकारको विषय थियो । केही दिन अघि नवनिर्वाचित मेयर हर्क साम्पाङले विगतको जस्तो बैठक गोप्य नहुने पत्रकारलाई प्रवेश दिने र बैठक लाइभ हुने बताएका थिए । त्यही अनुसार पहिलो कार्यपालिका बैठकमा धरानका सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

सानो कार्यपालिका बैठक हल त्यसमा पनि ३० जना कार्यपालिका सदस्यहरूलाई कुर्सीले नपुगेको अवस्थामा सञ्चारकर्मीहरूलाई बस्ने व्यवस्था हुने कुरै भएन । एक हुन सञ्चारकर्मीहरू हलको बिचमा बसेर फोटो र भिडियो खिचे भने केहीले छेउबाट घुस्री पस्री फोटो भिडियो खिचे। कार्यपालिका बैठक हेर्दा पत्रकार सम्मेलनझैँ देखिन्थ्यो । मात्रै यति फरक थियो पत्रकारले केही सोध्न पाएनन् । तर सञ्चारकर्मीहरूको निकै राम्रो रमिता बन्यो पहिलो कार्यपालिका बैठक ।

Kareyapalika-Baithak-2बैठक स्थल अव्यवस्थित र बाक्लो उपस्थितिले गर्दा निकै भिडभाडको कारण एकले अर्काको कुरा सहजै सुन्न सक्ने अवस्था थिएन । नवनिर्वाचित मेयर हर्क साम्पाङले बैठकको रुलिङ गर्दै एजेन्डा प्रस्तुत गरेपछि छलफलमा प्रवेश गरेको बैठकमा निकै चर्काचर्की भयो। त्यसका बाबजुद ९ वटा एजेन्डा मध्ये ५ वटा निर्णय भयो । ६ नम्बरको एजेन्डामा कार्यपालिका सदस्यहरू बिच मेयर हर्कराज साम्पाङको चर्का चर्किनै पर्‍यो । अन्तिममा बाकी एजेन्डामा समय अभावको कारण देखाउँदै जेठ २६ गते दिउसो २ बजे पछि बस्ने गरी बैठक स्थगित गरियो।

Kareyapalika-Baithak-3बैठकमा के के निर्णय भयो ?

बिहान ११ बजे देखि सुरु हुने भनिएको कार्यपालिका बैठक १२ बजे देखि मात्रै सुरु भएको थियो । बैठक ३ घण्टा बढी समय चलेको थियो । 

बैठकको पहिलो प्रस्ताव मतदाताहरूलाई धन्यवाद व्यक्त गर्ने निर्णय सर्वसम्मत पारित भयो । यस्तै, दोस्रो प्रस्तावमा उपप्रमुख संयोजक रहने राजश्व परामर्श समितिमा २ जना कार्यपालिका सदस्यलाई मनोनयन गर्ने निर्णय बैठकले गर्‍यो । जसमा देवीमाया बिक र विकास भाटीलाई बैठकले सर्वसम्मत मनोनीत गर्‍यो ।

यस्तै बैठकमा नगर प्रमुख संयोजक रहने स्रोत अनुगमन तथा बजेट निर्धारण समितिको सदस्यहरूमा मेयर राईले नियुक्त गरेका ३ जनाले नाम फिर्ता गरेका थिए । उनीहरूको ठाउँमा नरेश इङ्वाराम, नरेन्द्रकुमार राई (प्रवीण), मनोज भट्टराई र सावित्रा परियारलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । 

यसै गरी विषयगत समितिहरूतर्फ आर्थिक विकास समिति संयोजकमा विनीता बज्राचार्य, सामाजिक विकास समिति संयोजकमा सिर्जना नेपाल, पूर्वाधार विकास समिति संयोजकमा अनुप देवानलाई बैठकले सर्वसम्मत मनोनीत गरेको छ । वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा लोकेन्द्र फागो र सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा मुरारी भट्टराईलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा नागरिक निगरानी तथा पृष्ठपोषण संयन्त्र गठन गर्ने भनिएकोमा उक्त प्रस्तावमा कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि कार्यविधि तयार गरेर मात्र गठन गर्ने निर्णय भएको छ । नगरका गतिविधिहरूबारे जानकारी दिन सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय भएको छ । उक्त संयन्त्रको संयोजकमा सुशासन तथा संस्थागत विकास समिति संयोजक मुरारी भट्टराईलाई जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा कार्यपालिका सदस्य दिनेश गजमेर, विषयगत महाशाखा प्रमुख रहने निर्णय भएको छ । ६ नम्बरको प्रस्तावमा नदीजन्य पदार्थ उत्खनन तथा दोहन नगर्ने सम्बन्धमा भन्ने शीर्षकमै विवाद भएको थियो । त्यही विषयमा चर्काचर्की भएपछि बैठक स्थगित भएको थियो ।

Nirnaya-1Nirnaya-2Nirnaya-3