धरान : धरान उपमहानगरपालिकाको बिहीबार दिउसो २ बजे देखि बस्ने भनिएको कार्यपालिका बैठक बस्न सकेन । 

कार्यपालिका बैठक बस्नु अघि धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा नदीजन्य पदार्थको दोहनको विरोध गर्दै मेयर हर्क साम्पाङका समर्थकहरूले धर्ना दिएका थिए । उनीहरूले यो भन्दा पहिलेको कार्यपालिका बैठकमा भएको चर्काचर्कीको विरुद्धमा मेयरको पक्षमा विषेशगरी कार्यपालिका सदस्य तथा वडाध्यक्षहरूको विरोध गरिएको प्लेकार्ड सहित गेटमा धर्ना दिएका थिए ।

यो धर्नाको बारेमा आफूहरू अनभिज्ञ भएको र किन ? र के का लागि ? विरोध भन्ने बारेमा जानकार नभएकोले आफूहरू बैठकमा उपस्थित नभएको नेकपा एमाले धरान उपमहानगर संसदीय दलका नेता तथा १५ नम्बर वडाध्यक्ष नरेश इङ्वारामले बताए । सरकार प्रमुखकै मान्छेले बैठकको हो या के को हो विराध गर्नु र आफूहरूलाई मेयर हर्क साम्पाङले पनि बैठकका लागि साढे ३ बजे सम्म पर्खिदा पनि नबोलाएको इङ्वारामले बताए ।

आफूहरूलाई बैठकमा जाँदा प्रवेशद्वारमै मेयरकै मान्छेले विरोध गरिरहेको र मेयर सावले समेत बैठकमा डेढ घण्टा सम्म नगरपालिका आसपासमै हुँदा पनि नबोलाएकोले बैठक बस्न नसकेको इङवारामले बताए । कार्यपालिका बैठक आगामी जेठ २९ गते बस्ने गरी चिठ्ठी तयारी भइरहेको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पौडेलले टेलिफोनमा बताएको इङ्वारामले बताए । तर आधिकारिक जानकारी भने नआएको उनले बताए । 

कार्यपालिका बैठक बस्न नसक्नुको कारणबारे मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेर पत्रकारहरूले सोध्दा बाहिर गेटमा कोही धर्ना बसेकोले गर्दा कार्यपालिका सदस्यहरू बैठकमा नआएको बताए । उनले कसले धर्ना दियो ? किन दियो ? यसबारेमा आफूलाई जानकारी नभएको बताउँदै मेयर साम्पाङले भने 'लोकतन्त्रमा विरोध र समर्थन गर्ने सबैको अधिकार हो जसले पनि पाउँछ ।' 

मेयर साम्पाङले यस भन्दा अघिको कार्यपालिका बैठकमा तपाई आफैले एजेन्डासँगै निर्णय पनि गरेर कार्यपालिका सदस्यहरूलाई दिनुभएको हो ? भन्ने प्रश्नमा अनभिज्ञता प्रकट गरे । बिहीबार बस्न नसकेको बैठक कहिले बस्छ ? भन्ने प्रश्नमा मेयर साम्पाङले भने ७२ घण्टा अघि कार्यपालिका सदस्यहरूलाई जानकारी दिने गरी निर्णय गरी बैठक बस्ने बताए ।