धरान : धराने युवाहरू सम्मिलित सचेत धराने समूहले शुक्रवार कार्यपालिका बैठक सुचारु हुनुपर्ने माग गर्दै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा मौन प्रदर्शन गरेर खबरदारी गरेको छ । 

खबरदारी र जनचेतना हाम्रो आवाज भन्ने मुख्य नाराका साथ धरानको विकास र समृद्धिमा कसैले अवरोध गर्नु नहुने र कार्यपालिका बैठक बहिस्कार गरेर धरान उपमहानगरपालिकालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै धरानको भानुचौक छाताचोक हुँदै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा पुगेर धर्ना बसेका थिए । उनीहरूले धरानको नदीजन्य पदार्थको दोहन र निकासी गर्न नहुने, धरानलाई अनिर्णयको बन्दी बनाउन नपाइने र कार्यपालिका बैठक लाइभ हुनुपर्ने माग सहितको विभिन्न प्लेकार्ड सहित र्‍याली पछि धर्नामा बसेका थिए । 

विभिन्न सञ्चार माध्यमले मेयर हर्क साम्पाङको पक्ष र समर्थक भनेर समाचार लेखिएको बारेमा आपत्ति जनाउँदै आफूहरू धरानको विकास र समृद्धिका लागि लागि पर्ने सचेत धराने समूह भएकोले आफूहरू कसैको उक्साहटमा दबाब र धर्ना दिन नआएको पनि बताए। 

धरानमा विभिन्न वाहनामा धराने जनताको हित विपरीत निर्णय हुन नदिने उद्देश्यले खबरदारी गरी रहने सचेत धराने समूहले बताएको छ । यो समूहमा सबैको प्रतिनिधित्व भएको बताउँदै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बसेर धराने जनताको हितमा निर्णय गरेर असार १० मा नगरसभा गर्नुपर्ने पनि उनीहरूको माग छ । 

समूहले अव देखि दैनिकरुपमा खबरदारी गरिरहने र कोणसभाहरू समेत गर्दै लाने गरी आफूहरूको दबाब जारी रहने पनि धराने सचेत युवा समूहका सहभागीहरूले बताएका छन् ।  

Khabadai-Julush-2Khabadai-Julush-3Khabadai-Julush-4