इटहरी : इटहरीमा सुविधा सम्पन्न अस्पतालको मुद्दा प्रभावशाली रूपमा उठिरहेको छ। गुणस्तरीय स्वास्थ्य सेवा पाउन अन्यत्रै जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने माग बढ्दो छ । पूर्वको केन्द्र भएपनि इटहरी स्वास्थ्य क्षेत्रको पूर्वाधारमा पछाडि परेको स्थानीय बताउँछन्।

३० वर्ष अगाडी पनि इटहरीमा २४ सै घण्टा सेवा दिने क्लिनिकको माग थियो । त्यसबेला स्वास्थ्य उपचार क्लिनिकको सुरुवात राम्ररी भएको थिएन । इटहरीले स्वास्थ्य सेवाको अभाव झेली रहेको थियो । औषधी र डाक्टर नहुने समस्याले ग्रस्त थियो इटहरी ।

त्यही बेला केही युवाहरूको समूहले इटहरीमा नयाँ अस्पताल खोल्ने निर्णय गरे । त्यसै मध्येका एक हुन टङ्क दुलाल । साथीहरू सँगको भेटघाट कार्यक्रममा अस्पताल चलाउने सल्लाह भएको उनले सुनाए । केही दिनमै खोल्ने सहमति भए अनुसार काम सुरु भएको उनी सुनाउँछन् ।

"कुरा २०५५/५६ साल तिरको हो। प्रतिव्यक्ती २५ हजारका दरले सङ्कलन गरेर पैसा उठाएर अस्पताल खोल्ने निर्णयमा पुग्यौँ । रातीको अवस्था धेरै समस्याग्रस्त भएकाले चौबिसै घण्टा सेवा दिने अस्पताल खोल्ने निर्णयमा पुगेका थियौँ हामी,” उनले भने ।
दर्ता प्रक्रियामा त्यसैबेलाका अहेब सागर गुरागाईँ, हेल्थ असिस्टेन्ट गोपाल गुरुङ र ल्याब असिस्टेन्ट शालिग्राम कार्की सक्रिय भए । उनीहरूकै आड भरोसामा अस्पताल सुरु भयो । इटहरीमा पहिलो पटक चौबिसै घण्टा सेवा दिने अस्पताल बन्यो सामुदायिक अस्पताल। अहिले पनि इटहरीको प्रमुख स्वास्थ्य संस्थाको रूपमा चलायमान छ सामुदायिक।
त्यसबेला प्रालीमा जाने आइडिया नभए पनि सहकारीको रूपमा दर्ता गरिएको दुलाल बताउँछन् । सामुदायिक श्वाथ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा सामुदायिक अस्पताल सञ्चालनमा आयो । सहकारीको तदर्थ समितिको अध्यक्ष भए गोपाल गुरुङ । दुलाल सदस्य मात्र थिए । सुरुमा टेङ्ग्रा खोला पारी खोलिएको अस्पताल पछि इलाका प्रहरी कार्यालय अगाडी सारियो । सुरुवात देखी नै प्राथमिक उपचार गरेर भए पनि बिरामीलाई बचाउन सकेकोमा गर्व गर्छन् दुलाल । 
पछिल्लो चरणमा योजनाबद्ध हिसाबले अस्पतालको सुविधा विस्तार गर्दै लगेको उनी बताउँछन् । अहिले अस्पतालले दुई ठाउँबाट सेवा दिइरहेको छ । इटहरी-४ हलगडामा ओपिडी सहितको सेवा सुरु भएको दुलालले बताए । 
दुलाल सञ्चालक समितिको उपाध्यक्ष भएकै बेला भवन निर्माण समितिको नेतृत्व गरेका थिए । उनी अध्यक्ष भएपछि नयाँ अस्पतालले समेत सेवा दिन थालेको छ । ६ कट्ठा जग्गामा फैलिएको अस्पताल १ वर्षदेखि सञ्चालनमा छ । 
केही समयपछि सिटी स्क्यान सहितको सेवा सुरु गर्ने योजना सुनाउँछन् उनी । अहिले पनि हाडजोर्नी, जनरल सर्जरी र गाईनोको सेवा चौबिसै घण्टा उपलब्ध गराइएको उनले बताए । १५ शय्याको अस्पताललाई चाडै २५ र केही समयपछि ५० शय्यामा विस्तार गर्ने उनको योजना छ । नेपाल सरकारले प्रदान गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।
हाल दैनिक २ सयको हाराहारीमा बिरामीले सेवा लिने गरेका छन् । बेडमा खचाखच भएको देखेर अस्पतालको सम्भावना रहेको विश्वासमा छन् उनी । तथापि इटहरीको क्षमता ठुलो अस्पताल धान्ने खालको नभएको उनले बताए । धरान र विराटनगरको विकल्प इटहरीले दिन सक्ने अवस्था तत्काल नदेखिएको उनको बुझाई छ । इटहरीका बिरामीको अनुपातले ठुलो अस्पताल धान्न गाह्रो हुने उनी प्रस्ट पार्छन् ।
tanaka-dulal-itahari“इटहरीमा मार्केट छैन । इटहरीमा धरान र विराटनगरबाट बिरामी आउन सक्ने अवस्था छैन । बाँकी क्षेत्रका बिरामी पनि धरान र विराटनगर नै जान्छन् । विराटनगर र धरानले थिचेको मार्केट हो इटहरी ।,” उनले भने, “एउटा अस्पतालमा सम्पूर्ण सुविधा दिन धेरै खर्च आउँछ । भौतिक लगानी भन्दा ठुलो व्यवस्थापकीय लगानी हुन्छ । जुन अस्पतालमा आउने बिरामीले पूर्ति गर्नुपर्छ । मासिक खर्च धेरै आउने भएकाले इटहरीको बजारले धान्न सक्ने अवस्था छैन । इटहरीमा आउने नयाँ अस्पतालले कतिको बजार लिन सक्छ त्यो धेरै चिन्ताको विषय हो । खासमा भन्नै पर्छ इटहरीमा ट्रमा सेन्टरको आवश्यकता चाहिँ हो।” 
इटहरीको सम्पूर्ण मार्केट धरान विराटनगर केन्द्रित भएको उनले बताए । उद्योग वाणिज्य सङ्घ इटहरीको संस्थापक अध्यक्ष समेत रहेका दुलाल इटहरीको बजार होलसेल केन्द्रित भएको बताउँछन्। “दिउँसो बजार भरेर घर फर्कने अवस्थाको बजार भयो इटहरी । युवा पुस्ता अझै पनि धरानमा आकर्षित छन् । खासमा इटहरीले बेच्ने चिज उत्पादन गर्न सकेको छैन । होलसेल बजारमा इटहरीले नेतृत्व गरे जस्तो देखिएको छ । तर त्यो कहिले सम्म टिक्छ भन्ने हो । युवालाई सिप दिन सकियो भने इटहरीका युवाहरू रोजगारीमा लाग्न सक्छन् यसले बजार केही चलायमान बनाउँला कि !,” उनले भने ।