सुनसरी : नाम,भिमबहादुर विश्वकर्मा उमेरले ७० नाघेका बुढो शरीर । ज्यानमा त्यति बल छैन । समय समयमा बिरामी नै भइरहन्छन् । १० वर्ष अघि विश्वकर्मालाई सेतो लामखुट्टेले टोक्यो । भएको सम्पत्ति बेचेर उपचार समेत गराए परिवारले । तर, निको रोग निको हुने सङ्केत देखिएन । त्यसपछिका दिन विश्वकर्मामा त्यति सजिलो भएन । सानोतिनो बिरामीले समेत उनलाई अस्पताल पुग्ने बनाइहाल्छ ।
घरमा रहेका अन्य सदस्यहरूको पनि राम्रो स्थिति छैन । चार जनाको परिवारमा अहिले विश्वकर्मा दम्पती मात्र घरमा छन् । २ छोरा थिए उनका । जेठो छोरा २ वर्ष अगाडी बित्यो । कान्छो छोरो १७ वर्ष भयो घर छोडेर गएको अहिलेसम्म अत्तोपत्तो छैन ।
‘बुढेसकालमा पाल्छन् भन्ने थियो। एउटा छोरो त मर्यो अर्को कता छ कता पत्तो छैन’ विश्वकर्माको दुखेसो गर्दै भन्छन् ‘छोराहरू भए बुढेसकालमा सन्च हुन्छ भन्ने थियो त्यसो भएन, खै भाग्य नै यस्तो हो कि के हो खुसीले घरमा पाइला टेकेन हजुर।’
छोराहरूको वियोगको चिन्ता मात्र छैन विश्वकर्मालाई । परिवारको नाममा बाँकी रहेकी श्रीमतीको स्वास्थ्य अवस्थाले पनि भिमबहादुरलाई उस्तै पिरोल्छ । एक वर्ष अगाडी उनकी श्रीमतीको पेटमा समस्या आयो । पछि चेकजाँच गराउँदा थाहा भयो मिर्गौला फेल भएको रहेछ ।
आपत् विपदमा काम लाग्छ भनेर विश्वकर्माले जग्गा बेचेर उपचारमा बाँकी रहेको पैसा सहकारीमा राखेका थिए । त्यही पैसा निकालेर श्रीमतीको केही उपचार गराउन सकिन्छ कि भन्ने थियो । तर, त्यसो भएन । धरान स्थित बराह सहकारीमा अढाई लाख जम्मा गरेका विश्वकर्माले अहिले सहकारीमा राखेको आफ्नै पैसा निकाल्न पाएका छैनन् ।
हातमा लौरो र थरथर काम्दै सहकारी धाएको निकै भो उनले । सहकारीमा मात्र हैन,पीडितले गरे गरेको आन्दोलनमा समेत निकै पटक पुगेका विश्वकर्मा सधैँ खालि हात नै फर्किए । ‘अलेली व्याज आउँछ भनेर राखेको थिए । अहिले आपत् परेको बेला साँवा पनि पाइला जस्तो छैन’ उनले भने ।
‘पोहोर सम्म ब्याज दिदैं थियो, एक वर्ष भयो केही नदेको । जम्मा गरेको पैसा दिए त छोरा खस्दा लागेको खर्च तिर्थे । बुढीको उपचार गराउँथे’ विश्वकर्मा भन्छन् ‘पैसै नभएर अस्ति डाक्टरकोबाट घर ल्याएको । एउटा मिर्गौला सुकेर सानो भएको छ रे । डाक्टरले भनेको फेर्न मिल्छ रे तर पैसै छैन के गर्नु?’
विश्वकर्मा जस्तै समस्या बोकेका अर्का व्यक्ति हुन् धरान १६ बस्ने शङ्कर सुब्बा । १६ वर्षको उमेर देखि ह्विल चियरको सहारामा हिँडडुल गर्ने सुब्बाले लामो समय देखि बराह सहकारीमा बचत गर्दै आएका थिए । प्रत्येक महिना आउने ब्याज र प्रत्येक वर्ष सेयर बोनस बापतको रकमले उनका सबै आर्थिक समस्या हल हुने गर्थे ।
सुरुका वर्ष १० लाख राखेका उनले प्रत्येक महिना बचत थप गर्दै, सहकारीले दिएको बोनसले उनको सेयर तथा खातामा २० लाख रकम जम्मा भएको छ । तर आज सम्म उनले आफ्नो रकम झिक्न पाएका छैनन् । तिन पाङ्ग्रे स्कुटरको सहायताले धेरै पटक सहकारी धाए तर पैसा पाउन सकेनन् । सुब्बाले अब सहकारीले आफ्नो रकम देला भन्ने आस समेत मारिसकेका छन् ।
‘२० लाख रकम मध्ये ५ लाख सहकारीले नै खाओस् तर १५ लाख देओस्’ सुब्बा भन्छन् ‘बराहले यसरी पैसा दिएन रे भनेको सुन्दा मैले त विश्वास गरिन तर त्यस्तै रछ । हामी देखि उठाएको पैसाले जग्गा किनेको छ रे, गाडी किनेको छ रे ।’
एक वर्षको भाका राखेर भए पनि पैसा दिए हुनेमा सुब्बा पुगेका छन् । सञ्चालक समितिका व्यक्ति र कर्मचारीको फटाइले नै पैसा डुबेको आरोप उनको छ ।
नियम विपरीत बराह
शेयर सदस्य सँग मात्र कारोबार गर्ने, सहकारीको सामान्य नियम हो । तर, बराह बचत तथा ऋण सहकारीमा ४ हजार ९९१ शेयर सदस्य रहेकोमा बचतकर्ताको सङ्ख्या भने १३ हजार ५५४ जना छ । शेयर सदस्य बाहेकको बचतकर्तालाई कुन नियम अनुसार बचत गर्न लगाएको ? उनीहरूको रकम कति हो ? बचतकर्ताहरू कहाँ लगानी गरिएको छ ? लगायतको कुनै तथ्याङ्क सहकारीले सार्वजनिक गरेको छैन ।
पीडित पक्षले सेयर सदस्य र बचतकर्ताको करिब ८ अर्ब रकम रहेको दाबी गर्दै आएका छन् । तर सहकारीले तथ्याङ्क देखाउन सकेको छैन । उनीहरूले बचतकर्ताको रकम सहकारीका पदाधिकारी र कर्मचारीले व्यक्तिगत रूपमा दुरुपयोग भएको आरोप लगाउँदै आएका छन् । सहकारीको बाह्रौँ साधारण सभामा शेयर सदस्यको ५७ करोड ९० लाख ८६ हजार ३९५ रुपैयाँ बचत सङ्कलन गरेको छ । तर, सहकारीले २०७९ साल जेठ २१ गते सम्म भने बचत भन्दा ऋण लगानी गरेको छ । जेठ मसान्त सम्म सहकारीले ६७ करोड १६ लाख ५९ हजार २०८ रुपैयाँ ऋण लगाएको छ । शेयर रकमभन्दा ९ करोड २५ लाख ७२ हजार ८१३ रुपैयाँ बढी लगानी गरेको देखिन्छ ।
बराह सहकारी अहिले बराह ग्रुप अन्तर्गत छ । सञ्चालक समितिका अध्यक्ष हुन मानबहादुर कालिकोटे । ग्रुपले सहकारी बाहेक बराह कृषि तथा पशुपालन प्राली, बराह फेमेली किचन धरान, बराह मल्टी प्रपोज कम्पनी प्राली भेडेटार सञ्चालनमा छन् । त्यस्तै काठमाडौँ,पोखरा र चितवनमा समेत यसले शाखा विस्तार गरेको छ ।
काम पुरानै, माध्यम सहकारी
बराह ज्वेलरी इण्डष्ट्रीज प्रालीले लामो समय देखि नुन देखि सुन सम्म भन्ने नारा नै तयार गरेर देशैभर आफ्नो सञ्जाल विस्तार गर्दै गएको थियो । सहकारी स्थापना हुनु अगावैदेखि उक्त प्रालीमा पैसा राख्ने १६ प्रतिशत देखि २२ प्रतिशत ब्याजदर रकम दिने गरेको थियो । पछि २०६६ सालमा सहकारी स्थापना गरेर सहकारी मार्फत सोही काम गरियो । सहकारीमा हुनु पर्ने विशेषता यसमा थिएनन् । बचतकर्ताले पास बुकमा जम्मा गर्ने र निकाल्नेको रेकर्ड देखिन्थ्यो । जुन सहकारीको मातहतको नियममा पर्दैन थियो । जसले आज बराह यस अवस्थामा आइपुगेको छ । बराह प्रति विश्वास गरेका हजारौँ सेयर सदस्य र बचतकर्ताले आफ्नो रकम डुब्ने हो कि भन्दै विभिन्न निकाय समेत धाइरहेका छन् । तर आन्दोलन गरेको १० महिना बित्यो उनीहरूले रकम पाउन सकेका छैनन् ।
सहकारीले एकै पटक यति धेरै रकम दिन सक्छ ?
बराह मात्रै हैन नेपालका ठुला ठुला बैङ्क तथा वित्तीय संस्थाले एकै पटक सबै बचतकर्ताको रकम दिने आँट गर्न सक्दैनन् किनकि कुनै संस्था सँग त्यति ठुलो रकम मौज्दात हुँदैन । तर बराहले सेयर सदस्यलाई आर्थिक सङ्कट देखिने बित्तिकै सानो तिनो रकम दिँदै गर्ने, ६ महिना पछि आउनु भनेको भए आज यो दिन आउने थिएन । आज रकम झिक्न गएका बचतकर्तालाई २ दिन, ३ दिन पछि आउनु भन्ने त्यो समयमा जाँदा नदिनुले सहकारीप्रति उनीहरू आक्रोशित हुने थिएनन् ।
प्रदेश सहकारी कार्यालय भन्छ : बराह अवैध रूपमा चलेको छ
बराह सहकारी स्थानीय तहले हेर्ने हो। यो प्रदेशले हेर्ने हैन तर स्थानीय सरकारले सहयोग मागे सहयोग गर्न तयार रहेको प्रदेश सरकारी तथा सहकारी प्रशिक्षण कार्यालयका निमित्त रजिस्टार हरि बहादुर खत्री बताउँछन् । उनले सहकारी भए पनि सुन कारोबार गर्ने संस्थाले चलाएको हुनाले कानुनको परिधि भन्दा बाहिर काम गरेको उनको भनाई छ । सहकारीको कार्यक्षेत्र धरान रहे पनि उसले देशभरकै व्यक्तिहरूको रकम उठाएको रजिस्टार खत्रीको दाबी छ । अदालती प्रक्रियाबाट भन्दा पनि सरकारी निकायको छानबिनबाट गलत र सही छुट्याएर रकम पाउन सकिने बताए । आफ्नो पैसा डुबेपछि यताउति दौडिने त भइहाल्छ तर यसको एक पटक छानबिन समिति बनाएर काम गर्न पाए तथ्यगत वस्तु स्थिति आउने हुन्छ खत्रीले भने ‘आर्थिक स्थित थाहा नभएसम्म के हो भन्ने अन्योल कायम रहन्छ ।’
पीडित पक्षको लामो समयको आन्दोलनका कारण उक्त कम्पनीअन्तर्गतका विभिन्न शाखालाई धरान उपमहानगरले सम्पत्ति रोक्का गर्न नेपाल राष्ट्र बैङ्क, सम्पत्ति सुद्धिकरण विभाग काठमाण्डौं, केन्द्रीय अनुसन्धान काठमाण्डौं लगायत ११ वटा कार्यालयलाई पत्राचार गरिसकेको छ । केही निकायले भने रोक्का प्रक्रिया समेत अघि बढाइसकेको धरान उपमहानगरपालिका आर्थिक विकास शाखाले जानकारी दिएको छ ।