धरान : बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भदौ १६ सम्ममा समस्या समाधान गर्ने बताएको छ । कोभिड महामारी  र मौद्रिक तरलताको अभावले समग्र व्यवसायमा सङ्कट देखा परेको भन्दै चाडै समस्या समाधान गर्ने बताएको हो । 
बुधवार सार्वजनिक विज्ञप्ति जारी गर्दै बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  बचत तथा लगानीकर्ताहरूको आवश्यक रकम हरतरहले फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा र कम्पनीका अध्यक्ष शिवकुमार लामिछाने विश्वकर्माले संयुक्त विज्ञप्ति जारी गर्दै बचतकर्ता र लगानीकर्ताको विश्वास टुट्न नदिने र बचत तथा लगानीलाई कुनै पनि हालतमा डुब्न नदिने बताएका छन् । 
सेयर सदस्य तथा बचतकर्ताहरूले पैसा फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेपछि धरान उपमहानगरपालिकाको कार्यालयले प्रक्रिया अगाडी बढाएको थियो । उपमहानगरले साउन १६ गते बराह कम्पनी र सहकारी संस्थाका पदाधिकारी तथा जिम्मेवार कर्मचारीहरूको चल अचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया सुरु गरेको हो । बैङ्क खाताहरू रोक्का गर्नको लागि नेपाल राष्ट्र बैङ्क, केन्द्रीय कार्यालयलगायत एघार वटा सरोकारवाला निकायलाई पत्राचार गरेको थियो । 
जसले गर्दा कम्पनी र सहकारीका सञ्चालकलाई झस्काएको छ । उपमहानगरपालिकाको निर्णयले "हातखुट्टा डोरीले बाँधिएको अवस्थामै काम गर" भन्ने बुझिएको उनीहरूले बताएका छन् । विगतका कदमप्रति पुनर्विचार गर्नका लागि आग्रह गरिएको छ ।
कम्पनी र सहकारीले शेयर सदस्य, लगानीकर्ता एवम् बचतकर्ताको समस्यालाई सम्बोधन गर्दै दीर्घकालीन हल खोज्न तयार रहेको बताएका छन् । कोभिड महामारीको कारण अपेक्षित मात्रामा नगद प्रवाह नगरेको र ठुलो व्यावसायिक परिसर खरिद गर्नुपरेकोले केही समयदेखि सहकारीले बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेको स्वीकार गरेका छन् ।  
केही सञ्चारमाध्यमहरू र खराब चिन्तन भएका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत सहकारी तथा कम्पनीलाई  बदनाम गराउने र चरित्र हत्या गर्ने काम गरेको उनीहरूको आरोप छ । जस कारण लगानीकर्तामा अन्योल र भ्रमहरू पैदा भएको बताइएको छ। बराहको २८ औँ वार्षिकोत्सवको अवसरमा धरानको भोटेपुल स्थित बराह मलमा व्यवसाय विस्तार तथा बराह मुभिजको शुभारम्भ हुने जानकारी गराइएको छ । भानुचोक र भेडेटारका सपिङ सेन्टरहरूलाई थप स्तरोन्नति सहित चाँडै नै सञ्चालन हुने उनीहरूले बताएका छन् ।
baraha-sahakari-dharan