धरान : बराह ग्रुप अन्तर्गत सबै कम्पनी तथा फर्मको नाममा रहेका सम्पूर्ण सम्पत्ति रोक्का गर्ने धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले निर्णय गरेको छ । 

धरान उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले जानकारी दिए । 

कार्यदलको बैठकले बराहको सबै सम्पत्ति रोक्का गर्नका लागि सोमबार पत्राचार गर्ने गरी निर्णय भएको उपमेयरले बताए । बराह कृषी तथा पशुपालन प्राली, बराह फेमेली किचन धरान, बराह मल्टी प्रपोज कम्पनी प्राली भेडेटार, बराहको नाममा रहेको बैक खाता लगायतको स्थिर सम्पत्ति, बराहको लगानी भएको हिसाबमा देखिएको सबै सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई धरान उपमहानगरपालिकाले पत्राचार गर्ने भएको छ ।

कम्पनी रजिस्टारको प्रतिनिधि, सङ्घीय सहकारीको प्रतिनिधि र धरान उपमहानगरपालिकाको प्रतिनिधि सहितको ५ सदस्यीय कार्यदल बनेको छ । सो समितिले धरान उपमहानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६५ बमोजिम बराहको सबै सम्पत्ति रोक्का गर्ने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएकोले सोमबार सम्बन्धित निकायलाई पत्राचार गरिने उपमेयर बेघाले बताए ।