इटहरी : इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिए सँगै चुनावी अभियान तीव्र भएको छ । नेपाली काँग्रेसले लोकतान्त्रिक प्यानलबाट उम्मेदवार तय नगरे पनि व्यक्तिगत प्रचार तीव्र बन्दै गएको हो । बारम्बार छलफल गरे पनि उम्मेदवार तय गर्न नसकेको काँग्रेसले उपमहानगरको पार्टी नेतृत्वलाई उम्मेदवार तय गर्न जिम्मा लगाएको छ । 
उवासंघमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रस्ताव सहित वर्तमान अध्यक्ष भीम बहादुर पौडेलेले पनि तयारी गरेका छन् । सर्वसम्मत भए आफै पुनः अध्यक्ष हुने उनको योजना छ । अर्का दाबेदार जीवन पराजुली पार्टी गरेको निर्णय मान्न तयार रहेको बताउँदै आएका छन् । आफू पदीय जिम्मेवारीमा नभए पनि व्यवसायीको पक्षमा सदैव लागिपर्ने प्रतिबद्धता जनाए । 
नेकपा एमालेले यसअघि नै रञ्जु सिग्देललाई अध्यक्ष उम्मेदवार बनाउने पक्का गरेको छ । काँग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहेकी गायत्री कटवालले व्यक्तिगत प्रचार बढाएकी छिन् । जुनसुकै हालतमा उम्मेदवार बन्ने उनको तयारी छ । तथापी दुई पार्टी बिचमा हुने अनुमान गरिएको चुनावी प्रतिस्पर्धा दलीय प्रतिष्ठाको विषय बनेको छ ।
दुई दलका बिचमा हुने आङ्कलन गरिएको चुनावी प्रतिस्पर्धामा माओवादीले कसलाई समर्थन गर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन । उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच चुनावी तालमेल हुने सम्भावना बढ्दै गएको छ । रास्वपाले शनिवार रिजाल्स भिजन पार्टी प्यालेसमा वृहत् भेलाको आयोजना गरेको छ। स्वतन्त्र व्यवसायीको भेला बोलाएर उम्मेदवार तय गर्ने तयारी गरेका स्वतन्त्र व्यवसायीले खास निर्णय गर्न सकेनन् । 
राप्रपाका नेता विष्णु रिजालले पनि अध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका छन् । रास्वपा सँग परामर्शमै रहेको बताउने रिजाल एमाले र काँग्रेसको असन्तुष्ट मत आकर्षित हुने बुझाइमा छन् । काँग्रेस र एमालेका धेरै शुभेच्छुकले समेत समर्थन गर्ने सङ्केत गरेको उनले बताए। 
उवासंघ सँगै राजनीतिक यात्रा
संस्थापक अध्यक्ष टङ्क प्रसाद दुलाल बाहेक अन्य अध्यक्षहरू सक्रिय राजनीतिमा छन् । दुई कार्यकाल अध्यक्ष भएका रोहित प्रसाईँ इटहरी उपमहानगरपालिकाको मेयरका उम्मेदवार भए । काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनी सक्रिय राजनीतिमा छन् । हालका अध्यक्ष पौडेल पनि महाधिवेशन प्रतिनिधि हुन् । उनले पनि मेयरमा दाबी गरेका थिए । पूर्व अध्यक्ष लिलम बस्नेत प्रदेश १ को सांसद भए । हाल उनी नेकपा एमाले इटहरीको प्रभावशाली नेताको रूपमा चिनिन्छन् । 
माघ १४ गते हुने भनिएको उवासंघ इटहरीको निर्वाचनले पनि नयाँ नेता जन्माउने आशा गरिएको छ । सोही अनुसार दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । पूर्व अध्यक्षहरूको राजनैतिक शक्तिको प्रभावको कारण उवासंघको नेतृत्वमा आकर्षण बढ्दै गएको छ । 
व्यवसायीलाई छैन चासो 
दलहरू सक्रिय रूपमा निर्वाचनमा होमिने तयारीमा रहेका बेला व्यापारी व्यवसायीमा भने कुनै उत्साह छैन । युवा व्यवसायी तेजेस भण्डारी उवासंघको चुनावी प्रतिस्पर्धा निरर्थक रहेको बताउँछन् । पहिला जनप्रतिनिधि विहीन भएको अवस्थामा सामाजिक र व्यवसायीक प्रतिनिधि मानिएको उवासंघ अब निकम्मा भएको उनले बताए । उद्योगी व्यवसायीको समस्या बुझ्ने भन्दा पनि राजनीतिक स्वार्थमा केन्द्रित भएपछि व्यवसायीक संस्थाको मर्यादा कमजोर बन्दै गएको उनको तर्क छ । 
अर्का व्यवसायी नवराज सुवेदीको पनि तर्क समान छ । व्यवसायीक हितको लागि खोलिएका संस्थाहरू व्यक्तिगत र दलीय स्वार्थमा लिप्त भएको उनले बताए । विगतका दुई कार्यकाल देखी भागबन्डा गर्ने र व्यवसायीका १ प्रतिशत पनि समस्या समाधान गर्न पहल नगरेको उनको टिप्पणी छ । राजनीतिमा बार्गेनिङ गर्ने ठाउँ बनाउन उवासंघ प्रयोग हुने गरेको सुवेदीको भनाई छ ।
घर बहाल कर देखी व्यवसायीक सुरक्षामा कतीपनि काम नभएको सङ्गीत चोकमा सिलाई कटाई व्यवसाय गर्दै आएका गोपाल मात्र त्रिखत्री बताउँछन् । उनको बुझाइमा पनि उवासंघ राजनीतिकै थलो बन्दै गएको छ । 
हाल इटहरीमा व्यवसायीका २१ वटा बस्तुगत संस्थाहरू सञ्चालनमा छन् । जसले समान प्रकृतिको व्यापार व्यवसायको पक्षमा वकालत गर्दै आएका छन् । सम्पूर्ण व्यवसायीको छाता संस्था मानिएको उद्योग वाणिज्य सङ्घ भने राजनैतिक प्रतिष्ठाको केन्द्र बनेको छ । बस्तुगत संस्था प्रभावकारी बन्दै गर्दा छाता संस्थाको निश्क्रीयताले व्यवसायीहरू आकर्षित हुन सकेका छैनन् । 
काँग्रेस र एमालेले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेका बेला रास्वपा र राप्रपाको उम्मेदवारले धक्का दिने देखिएको छ । सम्पूर्ण टिम नै खडा गर्ने तयारीमा रहेको राप्रपा र रास्वपा गठबन्धनले राष्ट्रिय राजनीतिकै स्वतन्त्र प्रतिको आकर्षणलाई केन्द्रित गर्न खोजेको छ । जसले गर्दा एमाले र काँग्रेस समर्थित उम्मेदवार समस्यामा पर्ने देखिएका छन् ।