इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आगामी भदौ महिना भित्र हुने भएको छ । यही असारमा कार्यकाल पुरा भएको नेतृत्वले विधानमा उल्लेख भएको ६० दिनको म्यादलाई आधार बनाएर भदौ भित्र अधिवेशन गर्न लागेको हो ।

अधिवेशनको मिति पछाडि धकेलिए सँगै धमाधम नवीकरण प्रक्रिया सुरु भएको छ । अधिवेशन अर्को आर्थिक वर्षमा हुने भएपछि नयाँ नवीकरण जरुरी रहेको महासचिव पीताम्बर पोखरेलले बताए । असार पछाडि चुनाव हुँदा नयाँ  नवीकरण भएका व्यवसायीले मात्र मत हाल्ने पाउने भएका छन् ।

२०७७ चैत ७ गतेको साधारण सभाले निर्वाचनको अघिल्लो आर्थिक वर्षभित्र नवीकरण नगरे भोट हाल्न नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुरूप व्यवसायीहरू नवीकरणको लागी अहिले उवासंघ कार्यालय धाउन थालेका छन् । अघिल्ला वर्षहरूमा निर्वाचनको ३५ दिन भित्र नवीकरण गर्दा हुने व्यवस्था भए पनि यस पटक समयावधि छोट्याइएको हो ।

निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै एक वर्ष अगावै नवीकरणको व्यवस्था मिलाइएको उवासंघ इटहरीका महासचिव पोखरेलले बताए । अघिल्लो आबमा धेरै व्यवसायीको नवीकरण नभएको गुनासो आएपछि विधान अनुसार नै अधिवेशन सारिएको उनको भनाई छ । यसले अर्को वर्ष गर्नुपर्ने नवीकरण यसै पटक गनुपर्ने बाहेक खासै असर नपर्ने उनले सुनाए ।

इटहरीमा यस पटक पनि लोकतान्त्रिक र वामपन्थी प्यानल बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । हाल लोकतान्त्रिक प्यानल बाट विजयी भएका भीम बहादुर पौडेलेले उवासंघ इटहरीको नेतृत्व गरिरहेका छन् ।