रवि लामिछानेबाट जुन आशा गरिएको थियो थियो, त्यसमा उनको पत्रकार सम्मेलनको प्रस्तुतिले तुसारापात गरेको छ । सामाजिक सञ्जालमा लाइक, कमेन्टबाट उनले कमाएको राजनीतिक पुँजीले उनलाई संसद्को चौथो दलका नेता र उपप्रधान गृहमन्त्री सम्म पुर्याएको थियो । सञ्चारकर्मी, पत्रकार पनि यो देशको नेता हुनसक्छ र फरक ढङ्गमा मुलुकको नेतृत्व गर्न सक्छ भन्ने आशा गरिएको थियो ।
सर्वोच्च अदालतको फैसलाका कारण सांसद, मन्त्री पद गुमाए पनि राजनीतिक भविष्य गुमाएका थिएनन् । तर पत्रकार सम्मेलनमा उनको अभिव्यक्ति उनीप्रति आशावादीहरूले सोचे भन्दा अराजनीतिक देखियो । राजनीतिमा कूटनीतिक भाषा, संयम र दुरागामी सोच नभई हुन्न । सञ्चारकर्मीको रूपमा उनले बनाएको छवि आफै धमिल्याउने काम गरे । जुन नेपाली पत्रकारिता उनी गर्दथे त्यही क्षेत्रप्रति असंयमित भएर आपत्तिजनक अभिव्यक्ति दिए ।
हुनसक्छ, उनले आफूलाई ठुला मिडिया मालिकहरू बराबरको हैसियत देखाउन उनीहरूको धम्की दिदैं हुर्मत लिएका होलान् । तर ‘सर्पले सर्पको खुट्टा देख्छ’ भन्ने उखान झैँ अप्रत्यक्ष रूपमा उनले स्वयं पनि त्यसरी नै समृद्धि प्राप्त गरेका हुन भन्ने कुरा प्रकट गरे । आफ्नै कर्म क्षेत्रलाई बदनाम गर्दा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता विरोधी अभिव्यक्ति हुन्छ भन्ने कुरा उनले बिर्सिए ।
मिडिया मालिक समग्र मिडियालाई गाली गलौज गर्ने क्रममा उनले आफ्ना समकालीन पत्रकार मित्रहरूको नाम काढेरै मनपरी भने । यसबाट लामिछाने पत्रकारितामा रहँदा उनी भित्र अहंमताको भावना मात्र थिएन, लघुताभाष पनि थिएछ भन्ने कुरा प्रकट गरे । आफूलाई महान् देखाउन अरूलाई होच्याउने काम मूर्खहरूले गर्दछन् । विचारवान् विद्वानहरूले यसो गर्दैनन् ।
रवि लामिछानेले बिर्सिएका छैनन् भने, उनी र उनको पार्टीलाई जनताले ठुला राजनीतिक पार्टीहरू प्रतिको वितृष्णाका कारण भोट दिएका हुन । तर पत्रकार सम्मेलनमा उनले तिनै ठुला दलका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महान् नेताको रूपमा लिएको कुरा खुलाए । यसो गरेर उनले उनीप्रति नयाँ आशा गरेर भोट दिने भोट दिने जनताको भावनामा कुठाराघात गरे ।
उक्त पत्रकार सम्मेलन उनको स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिन आयोजना गरिएको थियो । तर उनले त्यहाँ तत्कालै गृहमन्त्री दिएमा सरकारमा जाने कुरा बताएर पद लोलुपताको पराकाष्ठा प्रकट गरे । पार्टीका अन्य योग्य सांसदहरू लाई मन्त्रीबाट फिर्ता बोलाएर आफै मात्र त्यो पनि गृहमन्त्री पदमा मात्र जान खोज्नु सर्वथा अराजनैतिक चरित्र उनमा रहेको आफै उदाङ्गो बनाए ।
लामिछानेको अभिव्यक्तिहरूले उनी र उनको पार्टी लाई प्राप्त चुनावी परिणाम चिट्ठा मात्र परेको हो कि भन्ने भान हुन थालेको छ भन्नु अतिशयोक्ति नहोला । उनका भनाइहरू चिट्ठाको टिकट हराएका मानिसको जस्तै हताश, आक्रोशित र अविश्वासमा जेलिएको बुझिन्छ । धैर्य, संयम, बुद्धिमत्ता विहीन हराएको चिट्ठाको टिकट खोज्ने काम रविले आउँदा दिनमा कसरी गर्लान् हेर्दै जाऔँ...