विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । 
व्यापारीहरूको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इन्च पनि पछि नहट्ने प्रस्ट पारे। 
महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनि मन्दिर-अस्पताल चोक, महावीर रोड, गुद्री रोड, शनि मन्दिर रोड, जलजला चोक-ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने मेयर कोइरालाको भनाइ थियो । “हरेक पार्किङ स्थलबाट २ देखि ३ मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,” मेयर कोइरालाले भने, “विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्नुहुन्छ भने हाम्रो भन्नु केही छैन । तर, विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईँहरूले सहयोग गर्नुहोस् ।” 
सडकमा पार्किङ निषेधले व्यापार भएन भन्नु गलत भएको उनको तर्क थियो । “बानी नपरेका कारण अलि असहज महसुस भएको हुनसक्छ । बानी पर्दै गरेपछि सबै ठिक हुन्छ,” उनले भने, “विगतमा काली मन्दिर अगाडि पनि पार्किङ निषेध गरिएको थियो, त्यस आसपासको व्यापारीलाई समस्या भएन त । अनि अहिले आएर अरू सडकलाई पार्किङ निषेध गर्दा समस्या भयो भन्नु ठिक भएन ।” 
महानगरले पुरानो जलजला हल उत्तर, शनि मन्दिर पूर्व-दक्षिण, गुद्री, बुधहाटचोकको वी-प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैङ्क, अस्पतालसहित ठुला कर्पोरेट हाउसले निर्माण गरेका अन्डरग्राउन्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको समेत सुनाए । सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रूपमा आवतजावत  गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको उनको भनाइ थियो । 
“समयमै एम्बुलेन्स अस्पताल नपुग्दा बिरामीको मृत्यु हुने अवस्था थियो,” उनले भने, “अनि आगलागी भयो भने दमकल समयमै नपुग्दा बढी क्षति हुन्छ । यस्तो संवेदनशील कुरा तपाईँहरूले बुझिदिनु पर्‍यो ।” मेयर कोइरालाले महानगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत ट्राफिक लाइट र सिटी बस सञ्चालनका लागि प्रक्रिया अघि बढाइसकेको समेत जानकारी गराए ।
उपमेयर शिल्पा निराला कार्कीले यात्रु र आम सर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेको प्रति खुसी व्यक्त गरेको बताइन् । उनले विराटनगर बनाउने अभियानमा साथ दिन व्यापारीहरूलाई आग्रहसमेत गरिन् । “विराटनगर हामी सबैको हो,” उनले भनिन्, “हामी सबै मिलेर लाग्यौँ भने मात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौँ ।” 
वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीहरूलाई आग्रह गरे । सडकबाट पार्किङ हटाउन बजार सुन्दर देखिएको उनको भनाइ थियो । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको सुनाए ।
कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरलाई माया गर्ने हरेकले अहिलेको अभियानलाई सफल बनाउन लाग्नुपर्ने बताए । “जोगबनीबाट सामान ल्याउन अहिले कडाइ गरिएको छ । सीमामा कडाइ गरेपछि उपभोक्ताहरू उता जाने अवस्थै छैन,” अध्यक्ष ढुंंगेलले भने, “त्यसो भए उपभोक्ताहरू विराटनगरमा खरिद नगरेर कहाँ गए त ?” 
सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसाय चौपट्ट भएको भन्दै व्यापारीहरूले महानगरको ध्यानाकर्षण गराएका छन् । छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार सङ्घका महासचिव अनिल सारडा, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्रीलगायतको सहभागिता  रहेको थियो । महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै उनीहरूले सडकमा पार्किङ गर्न दिएर सवारी साधनलाई एकतर्फी सञ्चालन (वनवे) बनाउन आग्रह गरेका थिए ।
biratnagar-parking-deligati