खुवालुङ (त्रिवेणी) : साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’मा सप्तकोसी नदी किनारको सुन्दरता वर्णन गरिएको छ । त्यहाँको मिहिन बलौटे बगरमा छरिएका मानवीय समवेदनाका स्वैरकल्पनाहरू चलचित्र झैँ चित्रण छन् । सुम्निमा मुलपात्रको वरिपरि घुमेको औपन्यासिक वर्णनमा लेखकले नेपालमा किरात सभ्यता कोसी किनारको जीवनसँगै विकसित भएको देखाएका छन् । ‘सुम्निमा-पारुहाङ’ राई समुदायको मुन्धुममा सृष्टिकालीन आराध्य देवी–देवताका रूपमा उल्लेख हुन्छ ।

पछिल्लो समय सप्तकोसी नदीको जलमार्गमा अवरोध मानिएको विशाल चट्टान निकै चर्चामा छ । चट्टानलाई राई, लिम्बु, याक्खा, सुनुवार जातिले खुवालुङ, खवाक्लुङ, खोवालुङ, खोलुङ मान्दछन् । किरात समूहबाट छुट्टाछुट्टै जातिको उत्पत्ति र विकासक्रमसंग जोडिएका किम्बदन्ती अनेकौँ छन् । खुवालुङ क्षेत्रमा विकसित किरात सभ्यताका किम्बदन्तीसँग उपन्यासमा वर्णित कोसी किनारको प्रकृति उस्तै छ । अरुण-दुधकोशी, तमोर-सप्तकोसी किनारमा पुग्दा ‘सुम्निमा’मा वर्णन गरिएका कल्पनातीत दृश्यहरू यथार्थको नजिक देखिन्छन् ।

तमोर-कोसी, अरुण–दुधकोशी किनारका फाँटिला मिहिन बलौटे बगर नजिकै पाखा–भित्ताका गाउँलेको जीवन शैलीले परम्परालाई पछ्याउन छोडेको छैन । चहल पहल भने घटेको छ। २०५० को दशक सम्म चतराबाट वराहक्षेत्र हुँदै भोजपुरको पदैलमार्गको मुख्य रुट थियो यो कोसी किनारको बाटो । ठाउँ ठाउँमा गएको पहिरो हटाएर बाटो खुलाइएको छैन । सडक यातायातका कारण मानिसहरू हिँड्न छाडे । कुनै समय ढाकरमा बोकेर उपभोग्य सामग्रीको ढुवानी समेत हुने यो बाटो अहिले सुनसान छ । तमोर नदी तर्ने त्रिवेणीको झोलुङगे पुल जीर्ण बनेको छ । दुईछेउका जाली नहुँदा बाँसका भाटाहरू लगाइएका छन् । टेक्ने ठाउँ कुनै पनि बेला भत्किने अवस्थामा छ ।

त्रिवेणीका ७० वर्षीय शङ्करप्रसाद तामाङले भने ‘सप्तकोसीमा मोटर बोट सञ्चालन हुन थालेपछि गाउँलेहरू पनि पैदल हिँड्न छाडे ।’ त्रिवेणी कुनै समय रातभर र दिनभर यात्रीहरूको चहल पहलले गुलजार रहने बजार थियो । चतराबाट पैदल वराहक्षेत्र हुँदै भोजपुर जाने यात्रीहरू बिहानको भात खान त्रिवेणी आइपुग्थे । भोजपुरबाट फर्किनेहरू ढिलो भए त्रिवेणीमा बास बस्थे । यो ठाउँ भोजपुर-धनकुटा-सुनसरीको सिमास्थल पनि हो ।

त्रिवेणी सुकेपछि मुख्य बजार झोलुङगे पुलछेउका अधिकांश घरै खाली छोडेर हिँडेका छन् । खाली घर, सुनसान सुँगुरको खोर, बाख्राको टाट्ना, कोठेबारीमा सुकेको खुर्सानीको बोट, विरक्त लाग्दो दृश्य देखिन्छ त्यहाँ । बाटोमा यात्रीका लागि बनाइएको काठका विसौनीहरु मक्किएका छन् । २२/२३ घर त्रिवेणीमा रहेको बताउँदै तामाङ भन्छन् ‘काम खोज्दै मानिसहरू सहर बजार तिर लागे, काम धन्धा गर्न नसक्ने बुढापाकाहरू छन्, कोही दिनभर कोसीमा माछा मार्छन् र सुकुटी बनाएर आम्दानी गर्छन् ।’

धनकुटाको शहीदभूमी गाउँपालिका-१ खाल्सा छिन्ताङ त्रिवेणीमा जिल्ला जनस्वास्थ्यको सामुदायिक स्वास्थ्य इकाई छिमेकी गाउँ साँगुरीगढी, वेलका नगरपालिकाका गाउँलेहरू आउने भएकाले सञ्चालनमा छ । अनमी शान्ता अधिकारी भन्छिन् ‘यहींका मानिसहरू थोरै भए पनि छिमेकी गाउँबाट स्वास्थ्य समस्या लिएर आउने गरेका छन् ।’ निम्न तहका स्थानीय जेटबोटको भाडा तिरेर चतरासम्म जान नसक्ने भएकाले स्वास्थ्य केन्द्र यहाँको आधारभूत आवश्यकता हो ।

नदी किनारमा विकसित खुवालुङ सभ्यता मुख्य रूपमा माछा मार्ने पछि खेती किसानी विकसित भएकाले त्यो परम्परा अहिले पनि जीवित छ । खुवालुङ नजिक माछा मार्दै गरेका कोसी किनार धनकुटा सागुरीगढी गाउँपालिकाका ६४ वर्षीय भयबहादुर राईले भने ‘हाम्रो पुर्खादेखी नै माछा मार्ने चलन चलिआएको हो ।’ बिहान ९/१० बजे र दिउँसो ३/४ बजे सम्म नदीमा माछा जालमा पर्ने उनको भनाई छ । दिनमा ६ केजी सम्म स–साना माछा मार्दै आएका उनले कोसीमा १० केजी सम्मको माछा जालमा पर्ने बताए ।

नदी किनारका भित्तामा ठोक्किने भङगालोमा युवाहरू जोखिमपूर्ण तरिकाले ठुला माछाको सिकार गरिरहेका देखिन्छन् । त्यहाँ लुम्बिनी प्रजातिको ठुला माछा, काँटी, जनकपुर सहितका साना-मझौला माछा पाइने भयबहादुर बताउँछन् । दैनिक मारिएका माछा घाम-आगोमा सुकाएको सुकुटी प्रति केजी २५ सयदेखि तीन हजार रुपैयाँमा विक्री हुने गरेको छ । खुवालुङ मोटर बोट स्टाण्डको पसलमा माछा बेचिरहेकी मनकुमारी राईका अनुसार झन्डै सात केजी ताजा माछा सुकाउँदा एक केजी सुकुटी माछा तयार हुन्छ । पहाडी नदीको माछाको बजार धरान देखी काठमाडौँ र विदेशसम्म छ ।

भिरालो पहाडी गाउँ भएकाले खुवालुङ क्षेत्रमा धान फल्ने खेत प्रायः देखिन्न । यहाँको मुख्य खेती बाँसको उत्पादन हो । धनकुटा मुलघाटदेखि उदयपुरको बेलका सम्मका नदी किनारका पाखाहरूमा बाँसको खेती गरिन्छ । वर्षेनी हुर्किएको बाँस काट्ने र नयाँ रोपिने भएकाले यहाँको बाँस जङ्गलमा एकै ठाउँ झुप्पिएको बाँसबारी पाइन्न । काटिएका बाँस नदीमा बगाएर चतरा, चक्रघट्टी लाइन्छ । भयबहादुर भन्छन् ‘बाँसपछि पाखाबारीमा मकै, कोदो, अदुवाको खेती किसानी गछौं ।’

पछिल्लो समय सप्तकोसीमा मोटर बोट चल्न थालेदेखि नदी किनार चहल पहल बढ्न थालेको छ । पुरानो बाटोका गाउँलेहरू मोटर बाटो स्टाण्डमा खानेकुराका दोकानहरू राख्न थालेका छन् । यहाँ सुकुटी माछा पनि विक्री हुन थालेको छ । खुवालुङ चट्टान चर्चामा आएदेखी यो ठाउँ हेर्न आउनेहरूको सङ्ख्या बढेको छ । नदी किनार बगरको रमाइलोमा वनभोज खानेहरू दुधकोशी–अरुणको संगमस्थलसम्म पुग्ने गरेका छन् ।

खुवालुङ मोटर बोट स्टाण्डमा छाप्री पसलकी मनकुमारी भन्छिन् ‘हिउँदको बेला भर्खर मात्र देकान राख्न थलेको हो ।’ वर्षामा नदीमा बाढी आएपछि किनार कहाँसम्म पुग्छ अहिले बढेको चहल पहल त्यसले निर्धारण गर्ने उनको भनाई छ । चतरा पुल देखी चल्ने मोटर बोट ठाउँमा रोकिने स्काभेटरले स्टाण्डहरु बनाएको छ । सजिलो किनारको बगरमा मानिसहरू बोट पर्खिरहेका देखिन्छन् । बिहानदेखि साँझ ५ बजेसम्म १०/१५ जना अटाउने साना बोटले ट्रिप लगाइरहेको देखिन्छ ।

हिउँदमा पनि नदीमा आउने छाल र्यापीडमा ठोक्किएर उफार्ने जलमार्गमा पानीको सतह कमी हुँदा मझौला पर्यटकीय जहाज खुवालुङ भन्दा माथि जाँदैनन् । हिउँदमा माथिका केही माग देखिने खुवालुङ चट्टान वर्षाको भेलमा भने देखिँदैन । जलमार्गलाई सहज बनाउन चट्टानलाई फुटाएर नष्ट गर्ने सरकारी निर्णय भएपछि खुवालुङ बचाउ आन्दोलन सुरु भएको हो । आन्दोलन स्थलगत अगुवा इन्द्रहाङ खम्बुले भने ‘मुख्यमन्त्री शेरधन राई ज्यु यहीँ आएर खुवालुङ नष्ट नहुने बचन दिएका छन्, तर सरकारी निर्णय, प्रक्रिया फिर्ता नभएकाले आन्दोलन जारी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा ठुला जहाज सहज बनाउन चट्टान फुटाएर जलमार्ग फराकिलो बनाउने बताएपछि खुवालुङ बचाउन वराहक्षेत्र स्थित किरात धर्म सङ्घ नेपालले स्थलगत रूपमा आन्दोलन सुरु गरेको हो । सङ्घले किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात याख्या छुम्मा, किरात सुनुवार समाज लगायत आदिवासी सङ्घहरू सहित खुवालुङ संरक्षण समिति गठन गरी चट्टान फुटाउन आएको एक्स्काभेटर रोकेपछि वराहक्षेत्रका वडाध्यक्ष सहित ४ जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

आन्दोलनकी नेतृ दिला राई भन्छिन् ‘मुख्यमन्त्री ज्यूको वचन हाम्रो आन्दोलनलाई मत्थर गर्न मात्र हो कि खुवालुङको संरक्षण पनि गर्नुहुने हो, हामी खबरदारी गर्न छोड्दैनौँ ।’ मुख्यमन्त्री राई खुवालुङमै पुगेर चट्टानलाई जोगाएर जलमार्ग विस्तार गर्ने वचन दिएका थिए । तथापि खुवालुङ नजिक चट्टान फुटाउने योजना, बजेट र त्यसबाट हुने लाभ साथै उपभोक्ता समिति वर्णन गरिएको साइन बोर्ड भने हटाइएको छैन । खम्बुले भने ‘यसबारे समितिमा छलफल हुनेछ ।’ खुवालुङलाई जस्ताको तस्तै राखेर जलमार्गको विस्तार, संरक्षण र विकासका योजना समितिले प्रदेश सरकारलाई बुझाउने उनले बताए ।

किरात समुदायका खोजकर्ताहरूले खुवालुङमा विकसित किरात सभ्यतामा राई, लिम्बु, यख्खा, सुनुवार एकै परिवारका दाजुभाइ भएको दाबी गरेका छन् । खुवालुङबाट छुट्टिएर चार दिशामा लागेपछि उनीहरू विभिन्न जातिको रूपमा स्थापित भएको तथ्य उनीहरूले अघि सारेका छन् । किरात संस्कृतिका अध्येता सालिक शतासक राईका अनुसार खुवालुङबाटै ‘राई, लिम्बु, याक्खा, सुनुवार अरुण, तमोर, दुधकोशी, सुनकोसी पछ्याएर गएका थिए भनिन्छ ।’ खुवालुङ किरात सभ्यताको प्रतीक भएकाले अहिले पनि धार्मिक, सांस्कृतिक पूजा अर्चनाका लागि किरात समुदायका जातीहरू जुट्ने गरेको उनले उल्लेख गरेका छन् ।

किरात याक्थुङ चुम्लुङका अगुवा ताजुब लिम्बुका अनुसार लिम्बु मुन्धुममा उल्लेख भएका चट्टान लुङहरु मध्ये महत्त्वपूर्ण खुवालुङको उल्लेख छ । सङ्गीतका रागहरूको उत्पत्तिसँग खुवालुङको गहिरो सम्बन्ध भएको मुन्धुमका पालामनै आउँछ । लिम्बुवानको सिमाना त्रिवेणी भएकोले लिम्बु समुदाय बर्सेनि पूजा अर्चनका लागि खुवालुङस्थल त्रिवेणी आउँछन् । किरात याक्खा छुम्माका अनुप देवान भन्छन् ‘राई र लिम्बुको इतिहाससँगै याक्खा जातिको पनि इतिहास जोडिएको छ ।’

पछिल्लो समय खुवालुङ बचाउ आन्दोलनमा किरात समुदायका चारै जातिको सक्रियता बढेको किरात धर्म सङ्घकी सचिव दिला राई बताउँछिन् । उनले भनिन ‘यसअघि तल्लो तहमा खुवालुङ राई समुदायको मात्र हो कि भन्ने भ्रम थियो त्यो हटेको छ ।’ सांस्कृतिक महत्त्वको खुवालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू बनेमा यसको संरक्षण र आर्थिक विकास हुने उनले बताइन् ।

आन्दोलनका कारण कोसीको चट्टानमा सबैको ध्यानाकर्षण भएपछि त्रिवेणीको मिहिन बालुवाको बगरमा पर्यटनको सम्भावना बढाएको छ । साहसी खेल र्याफ्टिङको पनि गन्तव्य भएकाले चतरा–भोजपुरको पुरानो पैदल बाटोमा पर्ने गाउँलेहरूको आर्थिक विकासमा पर्यटनबाट सघाउ पुग्न सक्छ । खुवालुङ बगरमा भेटिएका त्रिवेणीका मेघराज राई भन्छन् ‘यो बगरमा सदाभन्दा चहल पहल बढेको छ, झण्डा गाड्नेहरू देखी खुवालुङ हेर्न आउनेहरू बढेका छन् ।’ उनले विभिन्न ठाउँमा गाडिएका झन्डाहरू देखाउँदै भने ‘आठपहरीया समेत अहिले सम्म चार वटा संस्थाले यहाँ झण्डा लगाएर गएका छन् ।’ 

(खुवालुङ आन्दोलन चलिरहेको बेला २०७८ वैशाख ५ गते प्रकाशित स्थलगत रिपोर्ट अहिले पनि सान्दर्भिक भएकोले पाठकका अघि पुनः प्रेषित, )