धरान : किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिले किरातीहरुको आस्था र विश्वासको केन्द्र 'खुवालुङ बचाउ अभियान' अन्तर्गत सांस्कृतिक अन्तरक्रिया तथा बृहत् छलफल कार्यक्रमको आयोजना गरेको छ ।

धरानको किरात राई यायोक्खाको यलम्बर स्मृति सङ्ग्रहालयको सभा हलमा सम्पन्न सो अन्तरक्रियामा किरात राई प्रज्ञा प्रतिष्ठानका सदस्य सालिक सतासत राईले कार्यपत्र प्रस्तुत गरेका थिए। भाषाशास्त्री प्रा.डा. टङ्क न्यौपाने, सांस्कृतिक अभियन्ता सदर राई, मुन्धुम विद इन्द्रहाङ राई, किराया केन्द्रीय कार्य समितिका उपमहासचिव शुभचन्द्र राई, सचिव दोर्पध्वज राईले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।

कार्यक्रमका अतिथि प्रा.डा. टङ्क न्यौपानेले सरकारले किरातीहरुको आस्था र विश्वासका धरोहर खुवालुङलाई फुटाएर किरातीहरुको पहिचान माथि धावा बोल्न खोजेको कुरा बताउदै एक जातिले अर्को जातिको पहिचानको सम्मान, एक जातीले अर्को जातिको धर्म र संस्कृतिको सम्मान गरे मात्र देशमा दिगो शान्ति र सद्भाव कायम हुने भएकोले खुवालुङ फुटाउने कुरा त परै जाओस् फुटाउने सपना पनि नदेख्न सम्बन्धित पक्षलाई खबरदारी गरे ।

कार्यक्रममा उदयपुर, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका सांस्कृतिक अभियन्ता र अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष रामकर राईले खुवालुङ बचाउ अभियान अब नरोकिने बताए ।

Khuwalung-Stone

मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र समेत बुझाई सकिएको, किराया केन्द्रीय समितिको पहलमा मुन्धुमविद्, सांस्कृतिक विदहरुसँग बृहत् छलफल र अन्तरक्रिया कार्यक्रम भइसकेको, अब प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाउन समय माग गरिएको तथा केही दिनमै खुवालुङ संरक्षण समितिको अगुवाइमा उदयपुर, भोजपुर, धनकुटा, सुनसरी, झापा मोरङबाट विशाल जनसहभागिता सहित खुवालुङ क्षेत्रमा भ्रमण गरी खबरदारी गरिने कार्यक्रम अन्तरक्रियाबाट तय भएको छ ।

किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिका अध्यक्ष रामकर राईको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रियामा किरातीहरुको धार्मिक सांस्कृतिक आस्था, विश्वास र पहिचानको रूपमा रहेको खुवालुङलाई विराटनगरमा भएको आफ्नो गुटको आमसभामा प्रधानमन्त्री केपी ओलीले फुटाउने उद्घोष गरेपछि अहिले खुवालुङको विषय तातोलुङ (तातिएको ढुङ्गा) को रूपमा सर्वत्र चर्चामा रहेको छ ।

खुवालुङलाई फुटाए भौतिक कारबाहीकै रूपमा अघि बढ्ने कुरा विशेष गरी जनता समाजवादी पार्टी १ नं. प्रदेश समितिले प्रेस विज्ञप्तिनै निकालेर उद्घोष गरेको छ । यस्तै आदिवासी जनजाति साहित्यकार महासङ्घका संयोजक मदन पुरस्कार विजेता राजन मुकारुङको टोलीले समेत सो स्थानमा पुगी खबरदारी गरिसकेका छन् ।

आजभोलि दिनदिनै विभिन्न सरोकारवाला संघसंसथाहरुले प्रेस विज्ञप्ति निकालेर, सो स्थानमा पुगेर पर्चा पम्प्लेट, होर्डिङबोटहरु टाँसेर खुवालुङलाई कुनै पनि हालतमा फुटाउन नदिन खबरदारी गरिरहेका छन् ।