धरान : प्रदेश सभाबाट कोशी प्रदेश नामाङ्कन गरिएको विरोधमा आज पनि लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले भानुचौकमा विरोध प्रदर्शन गर्दै ‘कोशी प्रदेश’ नामाङ्कनलाई प्रतिकात्मक रूपमा जलाएका छन् । सङ्घर्ष समिति सहित पहिचानवादी राजनीतिक दलका नेता कार्यकार्यहरुले हात हातमा लिएर ‘कोशी प्रदेश’ लेखिएको फोटोकपी जलाएका हुन् ।

सोही बेला कोशी प्रदेशको विरोधमा नाराबाजी गर्दै शान्ति पथबाट निस्किएको राँके जुलुस भानुचौकमा आएर समापन गरिएको थियो । राँके जुलुस समाजवादी युवा मञ्चले छुट्टै प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले भानुभक्तको शालिक वरिपरि उभिएर करिब आधा घण्टा नाराबाजी गरेका थिए । उनीहरूले कोशी प्रदेश, खारेज गर, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश मान्दैनौँ, लिम्बुवान, किरात नामकरण गर लगायतका नाराबाजी गरेका हुन ।

नाराबाजी पछि परिणत भएको कोणसभामा संयुक्त सङ्घर्ष समितिका अगुवा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले पहिचान विरोधी तथाकथित ठुला पार्टीहरूले कायरतापूर्वक प्रदेश सभालाई बन्दी बनाएर कोशी प्रदेश नामकरण गरेकोमा भर्त्सना गर्दै कोशी नाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

प्रदेशको नाम लिम्बुवान, किरात घोषित गर्न सडक आन्दोलनबाट बाध्य बनाउने उद्घोष गर्दै कोशी नाम समग्र प्रदेशवासीको अपनत्व नगर्ने भएकोले प्रदेशवासीमा विभाजन, द्वन्द्व बढाउन षडयन्त्रपूर्वक नामकरण गरिएको बताए ।

कोशी नामले भारतीयपन झल्काउने उल्लेख गर्दै उनले भने ‘भारतीय कोसी नदीमा तपस्या गरेका भारतीय कौशिकी ऋषिको नामबाट कोशी बनेकाले उनैको भक्तिभावका लागि प्रदेशको नाम राखिएको हो ।’ यस कारण कुनै पनि अवस्थामा ऐतिहासिक पृष्ठभूमिप्रति माया रहेका पहिचानवादी नेपालीहरूलाई यो कुरा मान्य नहुने उनको भनाई थियो ।

कोशी प्रदेशको विरुद्ध अघि बढ्ने आन्दोलनलाई कसैले रोक्न नसक्ने बताउँदै भोलि देखी पहिचानवादी राजनीतिक शक्तिहरू सहित संयुक्त सङ्घर्ष समितिले प्रदेश सभा घेराउ गर्ने बताए । आन्दोलन प्रदेशको नाम लिम्बुवान, किरात नामकरण नभए सम्म नरोकिने उनको भनाई थियो ।

विरोध प्रदर्शन र कोण सभा सञ्चालन लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष प्रदीप लिम्बुले सञ्चालन गरेका थिए । सभामा जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बु, केन्द्रीय सदस्य जेन्टल लावती, महिला नेतृ दुर्गामाया लिम्बु, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजम, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, खम्बुवान मुक्ति मोर्चाका भूपी कोयु राई लगायत सहिभागी थिए ।

Koshi-Pradesh-Birod-2