• रश्मि प्रधान
धरान : आज बसेको प्रदेश सभाको बैठकले बहुमतद्वारा प्रदेश १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरे लगत्तै धरान भानुचौकमा किरात-लिम्बुवान प्रदेश घोषणा गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
विरोध प्रदर्शन पहिचान सहितको नामकरणका पक्षधर चार राजनैतिक दलहरूले गरेका हुन् । उनीहरूले १ प्रदेशको नामकरण लिम्बुवान किरात राज्य घोषणा, कोशी प्रदेश नामकरण खारेज गर, प्रदेश १ को नामकरण पहिचानको आधारमा लिम्बुवान किरात घोषणा गर, पहिचान विरोधी होसियार, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका हुन् । 
भानुचोकमा भएको प्रदर्शनमा जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, किरात खम्बुवान साझा पार्टी, सघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता कार्यकर्ता सहभागी थिए । नाराबाजी सहितको विरोध प्रदर्शन पछि कोण सभामा नेताहरूले कोशी प्रदेश घोषणाको विरोधमा अब नयाँ ढङ्गबाट सशक्त आन्दोलन अघि बढ्ने बताउँदै त्यस आन्दोलनले ०६२/०६३ को दोस्रो जनआन्दोलनको रूप लिन सक्ने बताएका छन् । 
विरोध सभामा जसपाका केन्द्रीय सदस्य भीम राई, जसपा केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति सदस्य जेन्टल लावती, सघिय लिम्बुवान मञ्चका केन्द्रीय महासचिव अशोक चेम्जोङ, नेकपा एकीकृत  समाजवादीका सचिव खेम दाहाल, राष्ट्रिय जनमुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, किरात खम्बुवान साझा पार्टी अध्यक्ष भूपी कोयु राईले आन्दोलन जारी रहने उद्घोष गरेका थिए  ।