वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ९१ करोड १६ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ। शनिवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको बाह्रौँ नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले आगामी वर्षको बजेट प्रस्ताव गरेकी हुन् ।

आर्थिक वर्ष ०८०/८१ को लागि नगरपालिकाले आन्तरिक तर्फ आय ७ करोड ३२ लाख अनुमान गरेको छ। नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा  सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४३ करोड ५८ लाख सशर्त अनुदान र १८ करोड ३२ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको हो।

सङ्घबाट हुने राजस्व बाँडफाँडमा १५ करोड ६२ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै समपुरक अनुदानबाट १ करोड, विशेष अनुदान ८० लाख, प्रदेशबाट सशर्त अनुदान १ करोड ३० लाख, प्रदेश राजस्व बाँडफाँडबाट ९१ लाख ४३ हजार गरी कुल ९१ करोड १६ लाख २८ हजार आय अनुमान गरेको छ।

चालु खर्च १३ करोड ८९ लाख ५० हजार, वडा कार्यालय तर्फको पुँजीगत बजेट ९ करोड ५० लाख, नगर तर्फको पुँजीगत बजेट १९ करोड ५८ लाख ५३ हजार, सशर्त अनुदान (सङ्घ) ४३ करोड ५८ लाख, सशर्त अनुदान (प्रदेश) १ करोड १० लाख २५ हजार, समपुरक अनुदान (प्रदेश) १ करोड ३० लाख विशेष अनुदान (सङ्घ) ८० लाख, समपुरक कोष १ करोड गरी कुल ९१ करोड १६ लाख २८ हजार रहेको छ ।

उपप्रमुख सुनुवारले विषयगत सिलिङ मात्र सभामा पेस गरेकी छन् । सभामा वराहक्षेत्र ११ वटै वडामा ९० लाखको दरले वडा स्तरीय योजनामा बजेट छुट्टाएको छ । वडाले ९० लाख मध्ये २५ लाख कुनै ठोस योजनामा छुट्टाउनु पर्ने सर्त सभामा पेस गरिएको छ ।

कुम्भ मेलाको व्यवस्थापिक जिम्मेवारी नगरले लिने

बाह्रौँ नगर सभामा उपप्रमुख नन्दकुमारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारा तय गरिएको छ । कृषि र पर्यटन मार्फत रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य प्रस्ट परिएको छ ।

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको लागि सङ्घीय सरकारसँग पहल गरी ५० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोउन्नती गर्न सङ्घीय सरकारसँग सार्थक पहल गरिने र मधुवन प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ बेड क्षमताको अस्पतालको रूपमा स्तरोउन्नती गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

"स्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारी" भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभूत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभूत सेवालाई घरदैलोमा पुर्याउने पहल गरिने, नगर अस्पताल र चतरा अस्पतालमा रहेको प्रयोगशालालाई स्तरोन्नति गरी विस्तारित सेवा सहित रोग निदानको सेवालाई बिस्तार गरिने त्यस्तै उक्त अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गरिने कार्यलाई समेत नीति तथा कार्यक्रममा राखिएको छ।

गर्भवती तथा सुत्केरी महिलाहरूको लागि एम्बुलेन्स खर्च बापत प्रदान हुँदै आएको सुत्केरी सुविधालाई निरन्तरता दिइनेछ ।

baraha-budget-12th-nagar-saस्वास्थ्य चौकीहरूमा रहेका प्रयोगशालाहरूको क्षमता विकास

'स्वास्थ्य सहर, कुपोषण रहित वराहक्षेत्र नगर'को अभियानलाई सार्थक बनाउन ५ वर्ष मुनिका बालबालिकाको लागि पोषण कार्यक्रम, विद्यालय पुगेर विद्यार्थीको आँखा परीक्षण, ज्येष्ठ नागरिक घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

वराहक्षेत्र-३ नडाहा देबिथानमा निर्माण हुन लागेको भरौल आधारभूत अस्पतालको भवन निर्माणको कार्यलाई सुरुवात गर्न सङ्घीय र प्रादेशिक सरकारसँग समन्वय गर्ने र स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने र आर्थिक रूपमा कमजोर परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई नीति कार्यक्रमै राखिएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि,पशुपन्छी विकास, पर्यटन, पूर्वाधार तथा भौतिक विकास , सामाजिक विकास, सामाजिक सेवा एवम् सुशासन प्रवर्द्धन, वन वातावरण भूमि तथा भू-संरक्षण, युवा तथा खेलकुद विकास, खानेपानी तथा सरसफाइ, सहकारी, रोजगारी, सीप विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ।

"शैक्षिक केन्द्रको सुधार, स्मार्ट नागरिक आधार" भन्ने नाराको साथ नगरको शिक्षा प्रणालीको सुधार गर्दै अब्बल व्यवस्थापकीय कुशलता, शैक्षिक क्षमताको विकास, सामुदायिक एवम् संस्थागत विद्यालय बिचको भिन्नता अन्त्य, असल अभ्यासहरूको आदान प्रदान, नमुना विद्यालयको नीति अवलम्बन कार्यक्रम ल्याइने भएको छ।

बालबालिकालाई विद्यालय पठाऔँ र पढाइमा लगाऔँ कार्यक्रम लागू गरी अभिभावक साक्षरता र सचेतना कार्यक्रम कार्यक्रम’ तय गरिएको छ।

विद्यालयलाई नतिजा र स्तरको आधारमा प्रोत्साहन र सहयोग, विद्यालय सुधारका लागि अभिभावकसँग अन्तर्क्रिया, विज्ञ सहितको अनुगमन, विद्यालयलाई जङ्कफुड मुक्त बनाउने, बिद्यालहरुको भौतिक पूर्वाधार र सौन्दर्यीकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखिएको छ ।

बिद्यार्थीहरुलाई विभिन्न विद्यामा पुरस्कार, प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूलाई विद्यालय सुधार योजना निर्माण सम्बन्धी तालिम, विद्यालयको सटर भित्र मदिराजन्य बस्तु बिक्री वितरणमा रोक लगाउने जस्ता कार्यक्रम शिक्षामा समावेश गरिएको छ ।

त्यस्तै कृषिमा "कृषक र उद्यमी, वराहक्षेत्र नगरको साथी" जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ। साबिकका ५ बटा गाविसलाई केन्द्रित गरेर १-१ जना ५ कृषि प्राविधिक, प्राङ्गारिक खेती प्रवर्द्धन, स्थानिय उत्पादनलाई ब्राण्डीङ्ग, कृषकलाई प्रशिक्षण, अनुभव साटासाट, सामूहिक किसिमको खेतीलाई प्रोत्साहन, कृषि बिमा कार्यक्रम, पौरखी किसानलाई सम्मान, शीत भण्डारलाई पूर्ण रूपले सञ्चालन लगायतका कार्यक्रम तय गरिएको छ ।

ऐतिहासिक, पुरातात्त्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण संवर्धन, वराहक्षेत्र मन्दिर परिसरमा सञ्चालन होटेललाई पर्यटन मैत्री बनाउन आतिथ्य सम्बन्धी तालिम, कोशीमा सञ्चालित जलयानहरुलाई व्यवस्थित गरिने र करको दायरामा ल्याई व्यवस्थित पोर्ट निर्माण गर्ने, चतराधाममा लाग्ने कुम्भ मेलाको व्यवस्थापिक जिम्मेवारी नगरले लिने, निजी क्षेत्रको सहकार्यमा फिल्मी पर्यटन, शोध पर्यटन, ईको भिलेज, पदयात्रा, कृषि पर्यटनलाई प्रवर्द्धन गरिने कार्यक्रम तय गरिएको छ।

पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । कोसी नदिमा जल बिहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ।

कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधान लगाएका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रम, उप-प्रमुखले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम, आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङले सभामा पेस गरेको आर्थिक विधेयक, विनियोजन विधेयक तथा खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले पेस गरेको नगर प्रहरी र सङ्घ, संस्था दर्ता सम्बन्धी विधेयकमाथि आइतबार छलफल गरिने छ ।