इटहरी : इटहरी उपमहानगरपालिकाले मुख्य बजार भएर बग्ने खेती, टेङग्रा खोला र सुकुमारी पैनीका अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेको छ । खोला र पैनीको भाग अतिक्रमण गरेर बनेका संरचनाको कारण डुबानको समस्या बढको भन्दै उपमहानगरले भत्काउन निर्देशन दिएको हो ।

उपमहानगरले सूचना प्रकाशित गर्नु अगावै इटहरीको मुख्य चोकमा मर्मत भइरहेको नेपाल रेडक्रस सोसाइटिको भवनको काम रोकिएको छ । सङ्गीत चोकमा मर्मत भइरहेको भवनलाई उपमहानरपालिकाले थप काम नगर्न आदेश दिएको थियो । पैनीमाथि निर्माण गरिएको रेडक्रसको भवन लामो समयदेखि व्यवसायीक प्रयोजनमा प्रयोग हुँदै आएको थियो । त्यससँगै जोडिएका ठुला घरहरू पनि सोही पैनी माथि निर्माण भएका छन् ।

पैनी माथि निर्माण भएका भवनमा स्वागत होटेल र किड्स हाउस सञ्चालनमा छन् । इटहरी चोकका पुराना घरहरूले नै पैनी मिचेका छन् । सङ्गीत चोक हुँदै मुख्य राजमार्गमा अन्डरपास भएको पैनी दीपेन्द्र चोकबाट जनता माविको फिल्ड अगाडी सम्म पुगेको छ । धेरै स्थानमा मिचिएको पैनी मुख्य बजार क्षेत्रमा पर्छ । बजारको मुख्य चोकमा पैनी माथि बनेका घरहरू कसरी भत्किन्छन् भन्ने प्रश्न उठेको छ ।

कुन कुन क्षेत्रमा कति पैनी वा खोला मिचिएको भन्ने उपमहानगर सँग नक्सा समेत छैन । घर नक्सा शाखाले यस विषयमा अध्ययन गर्न बाँकी रहेको बताउँदै आएको छ । डिजिटल नक्सामा खोला र पैनीको यकिन चित्र देखिँदैन ।

यसअघि विकाश भट्टराईको नेतृत्वमा सार्वजनिक तथा ऐलानी जग्गा खोजविन समिति गठन भएको थियो । सो समितिले खोला तथा पैनीको जग्गाको विवरण सहितको प्रतिवेदन उपमहानगरपालिकालाई बुझाएको छ । तत्कालीन मेयर द्वारिकलाल चौधरीले सार्वजनिक जग्गामा डोजर चलाउने अभियान सुरु गरेपछि जग्गा खोजविन सुरु भएको थियो ।

हाल बाढी तथा डुबानको समस्या समाधान गर्न भन्दै खोला पैनीको अतिक्रमित संरचना हटाउने अभियानमा छन् मेयर हेमकर्ण पौडेल । खोला र पैनी माथि संरचना निर्माण भएको कारण पानीको निकास नभएको उनको तर्क छ । सोही अनुसार असार ३१ गते उपमहानगरले सूचना प्रकाशित गरेर अतिक्रमित संरचना हटाउन निर्देशन दिएको हो ।

उपमहानगरपालिकाले निर्देशन पछि पनि घर तथा संरचना हटाउने बारे कुनै पनि तयारी सुरु गरेको छैन । घर नक्सा शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिनाले भर्खरै नगर सभा सकिएकाले अब तयारी थाल्ने बताए । हालसम्म कुनै पनि तयारी नभएको बताउँदै उनले साउन भित्रमा आवश्यक तयारी सकेर अगाडी बढ्ने जानकारी दिए । यसअघि बनेको प्रतिवेदनलाई आधार मान्ने वा नयाँ अध्ययन गर्ने बारे ठोस निर्णय नभएको इन्जिनियर तिम्सिनाको भनाइ छ ।

itahari-paini