सुनसरी : इटहरीको बीच भएर बग्ने ट्याङग्रा खोलालाई इटहरीको दुःख पनि भनिन्छ । बर्खामा आएको बाढीले धेरै वितण्डा मच्चाउने गरेको छ । तर, अबको केही बर्षमा यही ट्याङग्रा खोला सबैको आकर्षणको केन्द्र बन्नेछ । इटहरी उपमहानगरपालिकाले ट्याङग्रा खोलालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन डिपिआर तयार गरिरहेको छ । क्रिष्टल कन्सल्टेन्सी प्रालिले ट्याङग्रा खोला करिडोरलाई कसरी पर्यटकीयस्थल बनाउने भनेर डिपिआर बनाइरहेको छ । प्रारम्भिक चरणको रिपोर्टमा उपमहानगरमा छलफल पनि भइसकेको छ । ‘डिपिआर बन्दैछ, फाइनल भइसकेको छैन,’इटहरीका प्रमुख द्धारिकलाल चौधरीले भने,‘डिपिआर तयार भएपछि दाताहरु खोज्ने काम हुन्छ ।’
इटहरीका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालका अनुसार खोलाको दुवै किनारमा बगैचा हुनेछ भने फुड स्टल, साइक्लिङ ट्रयाक पनि हुनेछ । ‘यो ट्याङग्रा करिडरको डिपिआर बन्दै गरेको हो । महोत्सवहरु गर्ने ठाउँ पनि हुन्छ, पिकनिक स्पट पनि हुन्छ,’इञ्जिनियर दाहालले भने,‘फलामे पुलदेखि साथी फ्युलसम्मको करिब ३ किलोमिटरको डिपिआर हुन्छ ।’ डिपिआर तयार भएपनि प्रोजेक्ट बैंककोरुपमा रहने र लगानीको लागि दाताहरु खोज्न सहज हुने उनले बताए । यसबाहेक आधुनिक हाटबजार, जनजाति संग्रहालयलगायत अन्यको पनि डिपिआर बनाउने काम भइरहेको उनले जानकारी दिए ।