सुनसरी : २०७४ सालको स्थानीय तह निर्वाचन पछि निवर्तमान इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी एकाएक चर्चामा आए । चर्चा उनी निर्वाचित हुनु अगावै देखि थियो । एमाले पार्टी भित्रको राम्रो साथ र उनको नाराले मतदाता प्रभावित हुँदै उनलाई विजयी गराए । उनको एक मात्र नारा थियो इटहरीका सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने र इटहरीलाई डुबानको समस्याबाट मुक्त बनाउने । 
नगर प्रमुखमा निर्वाचित भए लगत्तै एक्स्काभेटर लिएर खोला पैनी मिचिएका क्षेत्रमा गए पनि । तर उनको कामले निरन्तरता पाउन सकेन । उनी नगर प्रमुख भएका बेला दुई वर्ष इटहरीले डुबानको सामना गर्याे । १२ जनाले ज्यान समेत गुमाए । धेरै परिवारको घरजग्गा खोलामा परिणत भयो । धेरै विस्थापित भए । ५ वर्षे कार्यकाल चौधरीले विवादित बनेर बिताए । 
गत वैशाखमा निर्वाचित जनप्रविधिले पनि सार्वजनिक जग्गा खोजी तथा अतिक्रमित खोला पैनी मिचेर बनाएका संरचना हटाउने खासै ध्यान दिएका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सार्वजनिक जमिनको अधिकार स्थानीय सरकारलाई दिएको छ । इटहरीमा कति अवैध संरचना छन् भन्ने जनप्रतिनिधिहरू जानकार छन् । तर आँखै अगाडी बनेका यस्ता संरचनालाई कारबाही गर्न सकेका छैनन् । 
१. बहुउद्धेश्यीय सहकारी संस्था : यो सहकारी इटहरी उपमहानगरको गेटमै टाँसेर बनाइएको छ । २०७१ सालमा बनेको यो भवनको तत्कालीन इटहरी उपमहानगरका अधिकृत पशुपति खतिवडाले शिलान्यास गरेका थिए । सरकारी जग्गामा बनेको यो भवनको अहिले सम्म नक्सा पास छैन । 
२. नेकपा एमाले इटहरी नगर पार्टी कार्यालय : इटहरी वडा नम्बर ९ हटिया लाइनमा रहेको यो पार्टी कार्यालय पैनीको जग्गा मिचेर बनेको छ । यो भवनका कारण वर्षा याममा पानी रोकिएर बस्ती डुबान पार्दै आएको छ । 
३. इटहरी नमुना कलेज : विराटनगर लाइनको टेङ्ग्रा खोलाको छेउमा बनेको यो क्याम्पसले विज्ञान प्रयोगशालाको भवन नक्सा पास बिना बनाएको छ । कानुनमा खोलाको ६ मिटर आसपास संरचना बनाउन नपाइने भने पनि खोलाको भाग मिचेर बनाएको छ । 
४. इटहरी लायन्स क्लब भवन : इटहरी वडा नम्बर ५ मा रहेको यो भवनले खोलाको अधिकांश भाग मिचेको छ । सरकारी जग्गामा बनेको भवनको नक्सा पास भएको छैन । 
५. इटहरी लेडि जेसिज भवन : खेतीखोलाको जमिन मिचेर तयार भएको यो भवनको पनि नक्सा पास छैन । २०६९ सालमा तत्कालीन इटहरी उपमहानगरका कार्यकारी अधिकृत गणेश कार्कीले उद्घाटन गरेका थिए । 
६. सिमरबना सहरकारी संस्था : यो सहरकारी पनि खोला बग्ने स्थानबाट वाल लगाएर भवन बनाएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म घिमिरे सेयर सदस्य रहेको सहकारीको नक्सा पास छैन । 
७. प्याब्सन भवन : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको भवन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७३ सालमा उद्घाटन गरेका थिए ।  जुन संरचनाको आधा भन्दा धेरै भाग सरकारी जग्गामा पर्छ । यो भवनको पनि नक्सा पास छैन । 
यी त केही उदाहरण मात्रै हुन् । इटहरीमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले शक्तिको आडमा सरकारी जग्गामा संरचना बनाएका छन् । २०७३ सालमा इटहरी उपमहानगरमा कार्यरत कर्मचारीहरूको एक टोलीले सार्वजनिक जग्गाको प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनले ९ सय ९५ बिघा ६ कट्ठा साढे एक धुर पर्ती/ऐलानी तथा अन्य सरकारी जग्गा भएको तथ्याङ्क निकालेको थियो । यस्ता जग्गा विशेष गरी राजनीतिक दलका नेता तथा कार्यकर्ताले शक्तिको आडमा मिचेका छन् । कतिले खोला माथि ढलान समेत गरेका छन् । ‘जो सुकै मान्छेले पनि यस्तो गरेका छन्, क्या ।’ सार्वजनिक जग्गा खोजीका सदस्य सचिव गायत्री लम्साल भन्छन् “छाडातन्त्र भएपछि राजनीतिक, व्यापारिक तथा जो कोहीले अवसर पायो कि मिचेका छन् ।” 
वर्षौ देखि सार्वजनिक जग्गा हडपेर बनेका संरचना हटाउन नसक्दा स्थानीय सरकार आलोचित हुँदै आएको छ । तत्काल यस्ता संरचना खोजी गरी डुबान र कटानको समस्या समाधान गर्नु पर्ने स्थानीय तेज नारायण चौधरी बताउँछन् । स्थानीय सरकारले आँट गरे स्थानीय साथ दिन तयार रहेको समेत उनको भनाई छ । ‘डुबानमा परियो भन्ने तर कसरी परियो भन्ने नसोच्नाले यो समस्या आएको हो ।’ चौधरीले भने “यो सरकारबाट केही आशा पलाएको छ । दोस्रो कार्यकालका जनप्रतिनिधिले पनि चासो नदिने हो भने जनता सडकमा आउँछौँ ।”  
देशभर सार्वजनिक जग्गाको खोजी हुन थालेपछि इटहरी स्थानीय सरकारलाई पनि चौतर्फी विरोध बढ्दै गएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेल जनता नै सचेत भएर आए स्थानीय सरकार यस्ता संरचना हटाउने तथा डुबानको समस्या समाधान गर्न सक्ने बताउँछन् । गर पनि भन्ने तर आफैँ केही नगर्ने हो भने इटहरी डुबानको चपेटामा वर्षेनी पर्ने उनको भनाई छ । 
"इटहरी एउटा उदाउँदो सहर हो यहाँ बौद्धिक ब्यत्तित्वहरु बस्नु हुन्छ ।’ वडा अध्यक्ष पोख्रेलले भने “अब सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई अनुरोध गर्छौ । जबरजस्ती गर्ने कुरो आउँदैन एउटा दुई वटा भवन भत्किन थालेपछि उहाँहरू आफैँले स्थानीय सरकारलाई सहयोग गर्नु हुनेछ ।"