धरान : खानेपानी बोर्डले धरानमा वितरण गर्दै आएको प्राकृतिक मुहान र ट्याङ्कीको खानेपानीमा विषाक्त जीवाणु कोलीफर्म पाइएको छ।

सर्दु, खर्दु सहित पछिल्लो समय ल्याएका खोला-खोल्सा सहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलिफर्म युक्त प्रदूषित पाइएको हो ।

सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौधारा ट्याङ्कीमा खसालिएको पानीमा कोलीफर्मको मात्रा ३५ युनिट पाइएको छ । फुस्रे स्थित टाङकीको पानीमा कोलिफर्म ३० युनिट पाइएको छ ।

निशाने खोलाको पानीमा कोलिफर्म २० युनिट पाइएको छ । सर्दु खोलाको पानीमा कोलिफर्म १० युनिट पाइएको छ । खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको छ ।

पछिल्लो समय कोकाहाबाट ल्याएर विष्णु चौकमा झारिएको पानीमा समेत कोलिर्फम ५ युनिट पाइएको छ । धरान-१७ स्थित कुम्भि आहालमा जमिनमुनिबाट निकालिएको पानीमा भने कोलिफर्म शून्य रहेको पाईएको छ ।

धरानको हाल वितरण भइरहेको खानेपानी प्रदूषित रहेको उक्त ल्याब टेष्ट प्रतिवेदन इटहरी स्थित नेपाल सरकार खानेपानी मन्त्रालय, पानीको गुणस्तर परीक्षण प्रयोगशालाको हो । कोलिफर्म शून्य युनिट रहेको पानी मात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।

धरानमा फैलिएको डेंगु महामारी शुद्धीकरण नगरी वितरण गरिएको खानेपानीको कारण बढ्दै गएको टोल विकास संस्थाका अगुवाहरूले आशङ्का जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, धरान नगर समितिले उक्त  ७ ठाउको पानी सङ्कलन गरी पानीको गुणस्तर परीक्षणका लागि बुझाएको थियो ।

प्रयोगशालाले दिएको प्रतिवेदन सहित आज बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले धरानको खानेपानी प्रदूषित रहेको विषयमा मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

रास्वपा नगर सभापति राजेशमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाउँदै धरानमा डेंगु रोग फैलिनुको कारण प्रदूषित खानेपानीको कारण पनि हुनसक्ने जनगुनासो आएकोले पार्टीले पानीको गुणस्तर परीक्षण गराएको बताए ।

धरानवासीले पिउने पानी विषाक्त जीवाणु मिश्रित पानी एकाले शुद्धिकरणका लागि आवश्यक विधि अपनाउन मेयर साम्पाङलाई आग्रह गरिएको छ ।

कोलिफर्म युक्त पानी पिउँदा झाडा, पखाला लाग्ने, नुहाउँदा हातमुख धुँदा चिलाउने खटिरा आउने र मानिसलाई रोगग्रस्त बनाउने विज्ञहरूको भनाई प्रति मेयर साम्पाङको ध्यानाकर्षण गराइएको हो ।

डेंगु बिरामीको लक्षण झाडा, पखाला, बान्ता आउने, जिउका छालामा घुमाउरो जस्तो डाब्रा आउने भएकाले कोलीफर्म युक्त प्रदूषित पानीका कारण हुनसक्ने आशङ्का गरिएको छ ।

रास्वपा सचिव सुमन श्रेष्ठले भने ‘खान योग्य पानी हुनका लागि कोलिर्फम युनिट शून्य हुनु आवश्यक हुन्छ ।’ उनले डेङगु फैलिनुको मुख्य कारण खोला खोल्सीको पानी भएकोले खानेपानी शुद्धिकरणका लागि आवश्यक विधि अपनाउन क्लोरिनेशन जस्तो विधि अपनाउन जरुरी छ । 

खानेपानीको ‘क्वालिटी’ भन्दा ‘क्वान्टिटी’ बढाउन लागिपरेको छु : मेयर साम्पाङ

ध्यानाकर्षण पत्र बुझ्दै मेयर साम्पाङले खानेपानीको गुणस्तर (क्वालिटी) भन्दा पनि परिमाण (क्वान्टीटि)मा आफू गएको बताए । उनले भने ‘पानीको उचित व्यवस्थापन भए पछि ‘क्वालिटी’मा पनि आफू लागि पर्ने बताए ।

मेयर साम्पाङले भने ‘पहिलो कुरा पानी आवश्यकता भएकाले पहिला जनताको आवश्यकता पूर्ति गर्न आफू लागिपरेको छु ।’ यसको लागि जनतालाई सतहको पानी खुवाउन कोसीको पानी ल्याउन लागिपरेको उनको भनाई थियो ।

पानीको अभाव र ‘क्वालिटी’ कायम गर्न  राष्ट्रिय स्तरबाटै लागिपरे मात्र समाधान हुने उनको भनाई छ । उनले भने ‘पानीको क्वालिटी बढाउनु परे पानीको विल बढाउनु पर्ने, बिल बढाए अर्का तत्त्वले तरबार लिएर बसेको छ ।’

मेयर साम्पाङले पानीको कारणले डेङगु नलाग्ने बताउँदै ‘लामखुटेको टोकाइले मात्र डेङगु लाग्छ ।’  अहिले सम्पूर्ण सङ्घ संस्था राजनैतिक दल डेङगु रोक्न लाग्नु पर्ने भएकाले ‘यस्तो कुरामा अहिले नलाग्न’ आग्रह गरे ।