धरान : नेपालमा ठूल्ठुला परिवर्तन गरेका राजनीतिक दलहरूले सङ्घीय गणतन्त्र ल्याएपनि त्यसपछि मुलुकलाई कता लैजाने भन्ने लक्ष्य निर्धारण गर्न नसकेकाले अहिले जनतामा कहालीलाग्दो अन्यौलता छाएको छ ।

दिशाहीन अवस्थामा अघि बढेको देशलाई चाहिएको नयाँ नेतृत्व, वैकल्पिक राजनीतिको सही व्याख्या जनता माझ पुर्याउने ढिलो भएमा मुलुकलाई पछाडि फर्काउनेहरू फेरी सत्तामा पुग्न सक्ने खतरा उत्पन्न भएको राजनीतिक विश्लेषक, अभियन्ताहरूले बताएका छन् ।

धरानमा शनिवार आयोजित ‘वैकल्पिक राजनीति’ विषयक विमर्शमा राजनीतिक विश्लेषक मुमाराम खनालले भने ‘पुराना राजनीतिक शक्तिहरू परिवर्तनसँगै बदलिन नसकेकाले उनीहरूबाट वैकल्पिक राजनीति अब अघि बढ्न सक्तैन ।’

अहिले इतिहासमै कहिल्यै अनुभव नगरिएको अन्यौलता देश र जनतामा छाएको बताउँदै उनले देश कता जाँदैछ जनताले अनुमान गर्न सकिरहेका छैनन्, मुलुकलाई कता लैजाने राजनीतिक दलहरू भन्न सक्ने अवस्थामा नभएको उल्लेख गरे ।

२००७ साल देखी २०६२/६३ को परिवर्तनसम्म पुराना दलहरूले एकपछि अर्को राजनीतिक शक्तिसँग सङ्घर्ष गर्न निर्धारण गरेको लक्ष्यमा सफल भएको उल्लेख गर्दै मुलुकमा नयाँ संविधान, सङ्घीयता आएपछि नयाँ बाटोमा लाग्न नसक्दा मुलुक जहीँका त्यहीँ रहेको परिणाम अहिलेको अन्यौलता भएको बताए ।

उनले भने ‘लोकतन्त्रको लागि दलहरूले ठूल्ठुला परिवर्तन गरेपनि आफूलाई लोकतान्त्रीकरण गरेनन्, नयाँ नेतृत्व लिने तिन पुस्ता नाघी सक्दा पनि दलमा एउटै व्यक्ति नेता भइरहेका छन् ।’

वैकल्पिक राजनीतिका लागि दलहरूमा सुधार नभए उनीहरूको विकल्पमा मुलुकलाई पछाडि फर्काउन खोज्नेहरू ‘वैकल्पिक खतरा’ बनेको बताउँदै भने ‘वैकल्पिक राजनीतिले मुलुकलाई अहिलेको स्थितिबाट अगाडि बढाउँछ, पछाडि फर्काउँदैन ।’

वीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित ‘वर्तमान परिस्थितिमा वैकल्पिक राजनीति माथि एक विमर्श’ कार्यक्रममा राजनीतिक विश्लेषक डम्बर खतिवडाले राजनीतिक परिवर्तनको चरण सकिएपछि गर्नुपर्ने कामका लागि वैकल्पिक राजनीतिबाट मात्र सम्भव देखिएको बताए ।

उनले प्रश्न गरे, नेपालभन्दा पछिका मुलुकहरूको अर्थव्यवस्थाको तुलनामा नेपालको अर्थतन्त्र किन कृषि प्रधानबाट रेमिटेन्समा निर्भर बन्दैछ, यो ठिक हो ? राजनीतिमा पुस्तान्तर नहुँदा राज्यमा पुरानै नेतृत्वका कारण मुलुकको प्रशासनिक, कानुनी कुराहरू अहिले पनि राणा, पञ्चायत कालका प्रथाको निरन्तरताका रूपमा चलिरहेको छ, परिवर्तन आवश्यक छैन ?

संविधान सभाको चुनाव देखी संविधान निर्माणताका उठेका भाषा, संस्कृतिका सवालहरूको उल्लेख गर्दै खतिवडाले प्रश्न गरे ‘भाषा, संस्कृतिका सवालहरूले समान पहिचान किन पाइरहेको छैन ?’ उनले यस्ता ५ प्रश्नहरूको जवाफ जनता माझमा खोज्नका लागि वैकल्पिक राजनीतिको अवधारण अघि बढाइएको बताए ।

अभियन्ता केशव दहालले वैकल्पिक राजनीतिको अवधारणा बुझ्न धरानको उदाहरणनै पर्याप्त हुने बताउँदै भने ‘धरान सहरको रूपमा विकास भएको ६० वर्ष नाघ्यो, मुलुकमा धेरै परिवर्तन भए तर, त्यस बेला देखीको खानेपानीको समस्या अहिलेसम्म किन उस्तै छ ?’

धरानको इतिहास चेतनशील, शिक्षितहरूको सहरको रूपमा अहिले पनि उल्लेख हुन्छ । छिमेकी जिल्ला, सहर, गाउँहरूबाट राष्ट्रिय राजनीतिमा प्रभावशील नेता बने धरानबाट त्यस्तो नेता अघि किन आउन सकेन ? प्रश्न गर्दै भने ‘पहिले दलका नेताहरू जनता, कार्यकर्ताको घरमा बास माग्न, भात खान आउँथे, हिजोआज नेताहरूको घरमा कार्यकर्ता धाउनु पर्ने प्रथा बनेको छ ।’

वैकल्पिक राजनीति, दलहरूमा अहिले विकसित भएको अलोकतान्त्रिक पद्धति, भ्रष्टाचारमुखी प्रणालीलाई यथास्थितिमा अघि बढाउने नीतिबाट निराश कार्यकर्ता, जनतालाई परम्परागत अवस्थाबाट मुक्त गराउने अवधारणा भएको उनको भनाई छ । उनले भने ‘पार्टीहरूले परिवर्तन ल्याउन गरेको भूमिका सकिएको छ, अब मुलुकलाई अघि बढाउन वैकल्पिक राजनीतिले जिम्मा लिनु पर्छ ।’

विमर्शमा वैकल्पिक राजनीतिका अभियन्ताहरू अशोक श्रेष्ठ, प्रशान्त सिंहले राजनैतिक दलहरूले इतिहासमा पुरानो शक्ति, राजनीतिलाई भत्काउने काम गरे, भत्काउने औजारले नयाँ निर्माण हुँदैन पूननिर्माणका लागि नयाँ औजार, नयाँ दृष्टिकोण चाहिन्छ ‘वैकल्पिक राजनीति’ त्यही भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष डा. आनन्द आचार्यले वीपी कोइरालाले नेपाली कांग्रेस पार्टीका लागि मात्र नभएर लोकतान्त्रिक पद्धतिका लागि राष्ट्र र अन्तर्राष्ट्रिय राजनीतिका शिखर पुरुष भएको बताए । उनले भने ‘वैकल्पिक राजनीतिको कुरा लोकतान्त्रिक पद्धति र अहिलेको नेपाली राजनीतिमा सान्दर्भिक भएको विमर्श कार्यक्रम गरिएको हो ।’

विमर्शमा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य प्रा.जीवनकुमार राई, नेपाली कांग्रेस सुनसरी-१ का सभापति सुजेन्द्र तामाङ, डा. खालिद हुसेन हकले वैकल्पिक राजनीति सङ्घीय लोकतन्त्रभन्दा बाहिर कल्पना गर्न नसकिने धारणा राखेका थिए ।