- अनुसा थापा
काठमाडौँ : काठमाडौँ महानगरमा धेरै मेयर आए र गए । आफ्नो अहम् भोट दिएर काठमाडौँ बासीले काठमाडौँको अभिभावक चुने । नानीमैया दाहाल, पिएल सिंह, केशव स्थापित, विद्यासुन्दर शाक्य यसअघिका मेयर हुन् । काठमाडौँ बासीले उनीहरूमाथि विश्वास गरेर मतदान गरे । तर, त्यो मत खेर गयो । किनकि उनीहरूले सिन्को पनि भाँचेनन् ।
काठमाडौँका जनताले कुनै सेवा सुविधा पाएनन् । न उनीहरूले विकास नै देख्न पाए । मुलुकको राजधानी भनिए पनि काठमाडौँको अवस्था निकै नै दयनीय छ । अन्य जिल्लाको तुलनामा काठमाडौँ शिक्षित व्यक्तिहरूको थलो हो । तैपनि काठमाडौँको विकास हुन सकेको थिएन ।
किनकि काठमाडौँले सही नेतृत्व नै पाएन । काठमाडौँ बासीले पटकपटक राजनीतिक पार्टीबाट उठेका उम्मेदवारलाई जिताए । हरेक पटक नयाँ अनुहार फेरिए पनि महानगरको अनुहार फेरिएन । राजनीतिक दलबाट आजित भएका काठमाडौँ बासीले २०७९ वैशाख ३० गतेको चुनावमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराए ।
उनीहरूले बालेन्द्र शाह ‘बालेन’ लाई आफ्नो मेयर चुने । चुनाव जितेपछि पनि बालेनलाई त्यति सहज थिएन । उनी राजनीतिक पार्टीको बिचमा घेरिएको थियो । स्वतन्त्र उम्मेदवारले जितेको देख्न नसकेका राजनीतिक पार्टीहरूले बालेनलाई असफल गराउन हर कोसिस गरे । फोहोरमै राजनीति भयो ।
महानगरका सडक-सडकमा फोहोर थुप्रियो । तर, यसका उनको कुनै कसुर थिएन । उनले भोट माग्न जाने बेलैमा बाटोभरि फोहोर थियो । गल्ली-गल्लीमा फोहोर थुपारिएको थियो । चुनावअघि मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरि प्रभा खड्की थिए । तर, उनीहरूले फोहोर उठाउन सकेका थिएनन् ।
उनीहरूको काम गर्ने क्षमता पार्टीले नै देखेको थियो । जसका कारण पार्टीले नै पत्याएन र टिकट दिएन । जनताले भोट दिँदैन भन्ने कुरा पार्टीलाई पहिल्यै थाहा थियो । एमालेले मेयरमा केशव स्थापित र कांग्रेसले सिर्जना श्रेष्ठलाई टिकट दियो । तर, काठमाडौँका जनताले दुवैलाई पत्याएनन् ।
सिँधै बालेनलाई भोट दिए । कलिला उमेरका बालेनसँग राजनीतिक अनुभव नहोला तर उनीसँग काम गर्ने क्षमता छ । राजनीतिक पार्टीका नेताहरूले बालेनलाई जसरी पनि जनताको नजरबाट नङ्गाउनुपर्छ र २०८४ सालको चुनावमा हामीले नै जित्नुपर्छ भनेर रणनीति तयार पारे ।
राजनीतिक दलका नेताहरूले बञ्चरेडाँडाका स्थानीयलाई उचाले । पहिलो चरणमै उनीहरूले बालेनलाई असफल बनाउन खोजे । बालेनले मेयरको शपथ लिने बेलामा भनेका थिए, ‘म फोहोर नउठाईकन माला लगाउँदिन ।’ जति अवरोध गरे पनि बालेनले फोहोर उठाएरै छाडे । यद्यपि, उनले अहिलेसम्म पनि माला लगाएका छैनन् ।
अन्य नगरपालिकाका जनप्रतिनिधिहरू चुनाव जितेदेखि अहिलेसम्म फूलमाला लगाउन र रिबन काट्नमै व्यस्त छन् । जुनसुकै व्यक्ति वा संस्थाले आयोजना गरेको कार्यक्रम भएपनि जाने अनि उद्घाटन गर्ने । फूलमाला लगाउने, भाषण ठोक्ने तर काम नगर्ने । तर, बालेन ठ्याक्कै त्यसको विपरीत छन् ।
न उनी कसैले बोलाएका कार्यक्रममा जान्छन् न उनले रिबन नै काटेको देखिन्छ । उनी महानगरलाई सफा र विकसित महानगर बनाउन लागिपरेका छन् । काठमाडौँमा फुटपाथ व्यापारको एकदमै समस्या थियो । कसैले हटाउन नसकेको फुटपाथ उनले हटाएरै छाडे । गुजुल्टिएर बसेको तारहरू धमाधम व्यवस्थापन गर्न थालिएको छ ।
सहर पहिलेभन्दा धेरै सफा देखिन थालेको छ । राजस्व नतिर्नेलाई उनले करको दायरामा ल्याउन थालेका छन् । सरकारी, सार्वजनिक, गुठी, खोला अतिक्रमण गरेर बनाइएको संरचना धमाधम हटाइँदै छ । निजी विद्यालयले अनिवार्य छात्रवृत्ति दिनुपर्ने निर्णय गरे । नदिनेको नाम नै सार्वजनिक गरिदिए ।
सरकारले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई १५ रुपैयाँ खाजा दिँदै आएको छ । उनले १० रुपैयाँ थपेर २५ रुपैयाँ बनाइदिए । महानगरमा जताततै सवारी साधन पार्क गर्ने गरिएको थियो । जसका कारण पैदल यात्रीलाई हिँड्न सास्ती भइरहेको थियो । अव्यवस्थित सवारी पार्किङका कारण काठमाडौँ अस्तव्यस्त देखिन्थ्यो ।
उनले पार्किङका लागि बनाइएका बेसमेण्टमा पार्किङ नै गर्नुपर्ने भनेर कडाइ गरे । बेसमेण्टमा सञ्चालन हुँदै आएको व्यापार व्यवसाय हटाइयो । यता, बसपार्कबाटै गाडी सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै, विभिन्न ठाउँमा सञ्चालित टिकट काउन्टरलाई बसपार्कभित्र सार्न उनले निकै प्रयत्न गरिरहेका छन् ।
काठमाडौँका विभिन्न ठाउँमा सुकुम्वासी बस्ती छ । सुकुम्वासी बस्तीले गर्दा नदीनाला फोहोर भएको छ । थापाथली, गैरीगाउँ, सिनामंगल एरियामा भएका सुकुम्वासी हटाउन महानगरले निकै जोडबल गर्यो र अहिलेपनि गरी नै रहेको छ । तर, राजनीतिक दलहरूले त्यहाँ भोटको खेती गर्दै आएको हुनाले महानगरलाई अलिक अप्ठेरो परेको छ ।
काठमाडौँका अधिकांश घर बहालमा लगाइएको छ । तर, घरधनीहरूले घर बहाल कर छल्दै आएका थिए । उनले घर बहालमा लगाउनु अगावै सम्झौता गर्नुपर्ने भनी कानुन नै बनाइदिए । जसले गर्दा महानगरले कर पनि विगतको तुलनामा बढी उठायो । महानगरमा दुई हजारभन्दा बढी सहकारी दर्ता छन् ।
उनले बचतकर्ताको निक्षेप फिर्ता नगर्ने सहकारीको दर्ता खारेज गर्ने र सञ्चालकलाई कानुनको दायरामा ल्याउने चेतावनी दिए । उनले गरेको राम्रा कामको लिस्ट लामै छ । राजनीतिक दबाबलाई मतलब नगरेर उनले आफ्नो कामलाई महत्त्व दिए । उनी जनताका लागि आएका थिए, त्यसैले उनलाई अन्य कुराले फरक नै पारेन ।
जसले बालेनलाई असफल बनाउन खोजेका थिए, उनीहरू नै असफल भए । राजनीतिक दलहरूले उचालेर कमलादीमा खोलामाथि बनेका घर भत्काउन रोके । बालेनले त्यहाँको खोला पहिलेकै अवस्थामा ल्याउँछन् भन्नेमा जनता विश्वस्त छन् । उनले सुकुम्वासी पनि हटाएरै छोड्ने देखिन्छ ।
भूमाफियाहरूले सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गरेर व्यक्तिको नाममा लगेका छन् । बालेनले त्यो पनि सरकारकै नाममा ल्याउलान् । नेपालमा जस्तो पनि हिन्दी फिल्म चलाउँदै आइएको थियो । राष्ट्र र राष्ट्रियतामाथि आघात पुग्ने फिल्म पनि चलाउने गरिएको थियो । उनले त्यस्तो हिन्दी फिल्म चलाउन रोके ।
काठमाडौँ बासी बालेनप्रति गौरवान्वित महसुस गर्छन् । आफ्नो भोट खेर नगएकोमा उनीहरू खुसी छन् । सहर सुन्दर बनाउन उनी जुन जाँगरका साथ लागिपरेका छन्, त्यो अन्य मेयरमा पनि हुने हो भने देश विकास हुन कति बेर लाग्छ ? होडिङ्ग बोर्डलाई करको दायरामा ल्याउने काम पनि भइरहेको छ ।
देशलाई बालेनको खाँचो छ भनेर जनताहरू आवाज उठाउन थालिसकेका छन् । उनले बोल्दै नबोलीकन भटाभटी काम गरे । जनतामा उनको ‘क्रेज’ देखेर राजनीतिक दलका ठूल्ठूला नेता डराउनुपर्ने भएको छ । झुट्टा भाषण गर्ने, काम केही नगर्नेहरूलाई बालेनले चुनौती दिएका छन् ।
बालेनलाई भर्याङ बनाएर राजनीतिमा प्रवेश गरेकाहरूको पत्तासाफ हुँदै गएको छ । जनताले बोल्ने होइन, काम गर्ने खोज्छन् भन्ने त प्रमाणित भइसकेको छ । देशै भरी बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेको चर्चा छ । महानगर प्रहरीमा कति बल हुँदो रहेछ ? भन्ने कुरा बल्ल थाहा हुँदै छ ।
मेयरले दिएको निर्देशनबाट उनी पछाडि हटेनन् । उनले हरेक आदेश मानेका छन् । डोजर लिएर ‘फिल्ड’ मा निस्किदा उनलाई पनि डर हुन्छ होला । तर, उनले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । सामाजिक सञ्जालमा महानगर प्रहरीकै चर्चा छ । भुरादेखि बुढासम्मले बालेन भन्न थालेका छन् ।
महानगर प्रहरीको चर्चा चलिरहँदा अन्य स्थानीय तहका नगर प्रहरी कहाँ छन् ? कुनै अत्तोपत्तो छैन । काम गरेको भए पो जनताले पनि नाम लिन्छन् । सबैले मेयर त पाए तर, काठमाडौँको जस्तो काम गर्ने मेयर कसैले पाएनन् । जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले मिलेर भटाभट काम गर्ने हो भने देश विकास हुन बेर लाग्दैन । काठमाडौँ महानगरपालिकाले यो उदाहरण दिइसकेको छ । अन्य स्थानीय तहले पनि यो कुरा सिक्नुपर्छ ।