धरान : दशैं लगायतका नेपालीहरूको चाडपर्व नजिक आइरहेको बेला धरानको शान्ति सुरक्षा, व्यापार व्यवसायका बारेमा प्रशासन, सुरक्षा निकायको उपस्थितिमा आज बुधवार आयोजित छलफलमा स्थानीय सरकार नै अनुपस्थित देखियो ।

चाडपर्वका बेला धरानको शान्ति सुरक्षा, व्यापार व्यवसायको चहल पहललाई सुरक्षित गर्न यसअघि धरान उपमहानगरपालिकाले नगरवासी, सरोकारवालाहरूका राय, सुझाव लिएर प्रहरी, प्रशासनसँग समन्वयको पहल गर्दै आएको थियो ।

यसपालि त्यस्तो पहल सुनसरी उद्योग वाणिज्य सङ्घले गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा जिल्ला र धरानका सुरक्षा निकाय प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा धरानका मेयर हर्क साम्पाङ तथा उपमेयर अइन्द्रबिक्रम बेघाको उपस्थिति नदेखिएकोमा सहभागीहरूले असन्तुष्टि व्यक्त गरे । उपमेयर बेघा उपस्थित भएर छलफल सुरु हुन अगावै कार्यक्रम स्थलबाट हिँडेका थिए ।

सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले मेयर हर्क साम्पाङलाई इङ्गित गर्दै भने ‘धरानको व्यापार, व्यवसाय, पर्यटन स्थिति चौपट भैसकेको अवस्था छ, हाम्रा मेयर साबलाई यस्ता कुराको कुनै चिन्ता र चासो छैन ।’ धरानमा चाडबाडका बेला आर्थिक चहल पहलका लागि शान्ति सुरक्षा, सुव्यवस्थाको जुन भूमिका स्थानीय सरकार उपमहानगरपालिकाले खोल्नु पर्थ्यो त्यस्तो कुनै पहल नभएको उनले बताए ।

धरानलाई पर्यटन केन्द्र भनेर गरिने प्रचार कुरामा मात्र सीमित भएको बताउँदै गोरुको मासुको हल्लाले धरानको पर्यटन व्यवसाय चौपट बनाउने अवस्था देखिएको उनको भनाई थियो । श्रेष्ठले भने ‘धरानका होटलहरुमा गोरुको मासु पाउने हल्ला फैलिएर धरानमा बाहिरबाट आउनेहरू बस्नै नमान्ने अवस्था सम्म पुगेको सुनेँ ।’

श्रेष्ठले उपमहानगरपालिकाले राजमार्गमा स्थानीय तहले सवारी साधनलाई कर असुल गर्न नपाउने कानुनको उल्लङ्घन गर्दै तिनकुनेमा अवैध रूपमा सवारी साधनहरूसँग कर असुली गरिरहेको बताए ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बुले भने ‘धरान उपमहानगरपालिकाबाट समन्वय नहुँदा धरानको ठुला समस्याहरूका बारेमा सरोकारवाला बिच छलफल हुन सकेको छैन ।’ यसले गर्दा ससाना कुराहरूले पनि धरानका समग्र कुरामा नकारात्मक असर गर्ने देखिएको उनले बताए।

चाडवाडका बेला प्रहरी प्रशासनले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउँदै उनले भने ‘धरानमा खुकुरी हानाहान हुन्छ, ग्याङ फाइट हुन्छ भनेर धरानको व्यापार व्यवसाय चौपट बनाउने सुरक्षा नीति बनाउनु हुन्न ।’ धरानबासी आपसमा बसेर यहाँका समस्या समाधान गर्न सक्षम भएकाले प्रशासन, प्रहरीले त्यसमा साथ दिनुपर्ने उनको आग्रह थियो ।

सङ्घका सभापति विजय श्रेष्ठले छलफलको प्रारम्भमा सुरक्षा निकायबाट धरानमा ९ बजे राती देखी होटेल रेष्टुरा बन्द गर्ने निर्णय गरिएको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए । मन्दीका कारण धरान बजारका सटरहरूमा ताला लाग्दै गएको अवस्थामा चाडबाडका बेला व्यापार, व्यवसाय आर्थिक गतिविधि चलायमान बनाउन राती ११ बजे सम्म बजार खुल्ला राख्ने व्यवस्था प्रशासन प्रहरीबाट हुनुपर्ने आग्रह गरे ।

सङ्घका पूर्वअध्यक्ष गिरिधारी सापकोटाले धरानमा सशस्त्र प्रहरीले नै उद्योगी व्यवसायीलाई ढुवानीका गाडी अनावश्यक रूपमा चेकजाँच गर्दै त्रसित बनाएको आरोप लगाए ।

आन्तरिक राजश्वले घर घर पुगेर १ लाखको पुँजी नभएका व्यवसायीलाई ५० हजार जरिवाना गरेर आतङ्कित गरेको आरोप लगाएका । धरान उपमहानगरपालिकाले अनुगमनमा नाममा व्यवसायीलाई बेइज्जत गर्ने, ट्राफिकले अश्लील शब्दमा गाली गलौज गर्ने काम तुरुन्त बन्द गर्न माग गरे ।

खुला छलफलमा होटेल व्यवसायी गोपाल राईले होटेल ९ बजे बन्द गर्नु भनेको व्यापार सुरु हुने बेलामा बन्द गर्नु भनेको जस्तै हो । उपमहानगरपालिकाले लाइसेन्स, करको नाममा रकम असुल मात्र गर्ने तर व्यवसाय गर्न दिने वातावरण बनाउने पहल नगरेको बताए ।

होटेल एसोसिएसन सदस्य हरि श्रेष्ठले होटेल ९ बजे बन्द गर्नु भनेको खोल्नै नदिने जस्तो भएकोले यस्तो निर्णय अस्वीकार्य भएको बताए। देशीलाइन व्यापार सङ्घका अध्यक्ष गङ्गाप्रसाद राईले एका तर्फी ट्राफिकले व्यापार सुकेको बताउँदै देशी लाइनमा दोहोरो ट्राफिक नखोलिए यसपालिको दशैंमा भाडा तिर्ने आम्दानी पनि नहुने बताए ।

छलफलमा जयप्रकाश शर्मा, किशन अग्रवालले आन्तरिक राजश्व, बैक व्याज लगायतले व्यापार व्यवसाय बन्द गराउने दिशामा अघि बढेको बताए ।

dharan-ubasang-chalfal

chhalfal-2