वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तीको पहिलो तीर्थको रूपमा रहेको वराहक्षेत्र मन्दिर एरियाका होटेलहरूमा नगरपालिकाले मदिरा जन्य पदार्थ तथा माछामासु बिक्री वितरण र सेवनमा पूर्ण रूपमा रोक लगाउने भएको छ ।

प्रसिद्ध धार्मिक क्षेत्रको रूपमा परिचित हिन्दु धर्मावलम्बीहरू आस्थाको केन्द्रको रूपमा रहेको वराहक्षेत्र मन्दिर परिसरमा रहेका होटेल व्यवसायीहरूलाई मदिरा जन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण नगर्न आग्रह गरिएको र उक्त कार्यलाई कार्यान्वयन गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगर तथा वराहक्षेत्र संरक्षण मञ्चलाई समेत आग्रह गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

धार्मिक क्षेत्र मठ, मन्दिरको ५ सय मिटर वरपर मदिरा जन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण गर्न नपाउने नगरपालिकाको निर्णय अनुसार वराहक्षेत्र मन्दिर एरियाको होटेलमा उक्त सामाग्री प्रतिबन्ध गरिएको नगर प्रमुख कार्कीले बताए । वराहक्षेत्र मन्दिरमा उक्त नियमलायइलाई पूर्ण रूपमा पालना गराएर अन्य स्थानमा पनि उक्त नियम लागू गराइने नगर प्रमुख कार्कीको भनाई छ ।

धार्मिक क्षेत्रका होटेलहरूमा मदिरा जन्य पदार्थ तथा माछा, मासु बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र वराहक्षेत्र नगरपालिकाबाट समेत निर्देशन आएकाले उक्त निर्णयलाई कार्यान्वयन गर्न इलाका प्रहरी कार्यालय महेन्द्रनगर लागि परेको प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए । पहिलो चतरणमा होटेल सञ्चालकहरूलाई मौखिक सूचना, माईकिङ्ग गरिने त्यसपछि अटेर गरे दण्ड, जरिमानाको प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । मन्दिर एरियाका होटेलमा मदिरा र माछा मासु रोक लगाउन इलाका प्रहरी कार्यालय चतरा र वराहक्षेत्र प्रहरी चौकीलाई समेत निर्देशन दिएको उनले बताए ।

वराहक्षेत्र मन्दिरमा दर्शन गर्न देश विदेशबाट दैनिक हजारौँ श्रद्धालु भक्तजनहरू पूजा, आराधना गर्न आउने भएकाले होटेलहरूमा मदिरा र माछा मासु बिक्री वितरणमा रोक लगाउनु राम्रो कुरा भएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । हिन्दु धर्मावलम्बीहरू आस्था तथा विश्वासको केन्द्रमा रहेको वराहक्षेत्र मन्दिरमा मदिरा र माछा, मासु बिक्री वितरणमा रोक लगाउने निर्णयलाई लागु गराउन मञ्चले पनि काम गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।