वराहक्षेत्र : वराहक्षेत्र १ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेला आज बिहीबारबाट सुरु भएको छ। प्रत्येक वर्षको हरिबोधिनी एकादशीको दिनबाट पूर्णिमा सम्म ५ दिन लाग्ने मेला सुरु भएको हो ।

मेला भर्न नेपालका विभिन्न भूभाग सहित दक्षिण भारतबाट समेत उल्लेखनीय रूपमा भक्तजन आउने भएकाले तिर्थालुहरुको सुविधाका र व्यवस्थापनकालागि काम गरिएको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

मेलालाई व्यवस्थित बनाउन वडा नं. १ कार्यालय सँग समन्वय गरेर मन्दिर समिति मार्फत तयारी गरी उपसमितिहरू समेत गठन गरी काम गरिएको नगर प्रमुख कार्कीले बताए ।

मेलालाई व्यवस्थित र आकर्षित बनाउन बजार, कोसी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानी, स्वास्थ्य, सरसफाइ, सुरक्षा , स्वयंसेवक, प्रचार प्रसार लगायतका उपसमिति गठन गरेर काम गरेको वडा नं. १ का अध्यक्ष किसन थापामगरले बताए ।

बिहीबारबाट सुरु भई सोमवारसम्म आयोजना हुने मेलामा करिब ५ लाख तिर्थालु भक्तजन आउने अनुमान गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

नगरपालिका बनेदेखि मेलाको व्यवस्थापन वराहक्षेत्र संरक्षण मञ्चबाट हुँदै आइरहेको र मेलाको सम्पूर्ण तयारी समेत पूरा भएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

धर्तीको पहिलो तीर्थको रूपमा व्याख्या गर्ने गरिएको वराहक्षेत्र मन्दिरलाई संसारको चार धामको रूपमा समेत लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।