वराहक्षेत्र : मङ्सिर ७ गतेदेखि १३ गतेसम्म वराहक्षेत्र मन्दिरमा आयोजना हुने हरिबोधिनी एकादशी मेलालाई लक्षित गरेर शुक्रवार बिहान वराहक्षेत्र मन्दिर परिसरमा बृहत् सरसफाइ गरिएको छ ।

सुन्दर र सफा वराहक्षेत्र नगरपालिका बनाउने योजना तथा हरिबोधिनी एकादशी मेलालाई केन्द्रित गरेर वडा नं. १ वराहक्षेत्र मन्दिर परिसरमा स्थानिय वराहक्षेत्र संरक्षण मञ्च तथा वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थासँग सहकार्य गरेर सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

वराहक्षेत्र धामलाई  सुन्दर र सफासँगै पर्यटकहरूलाई आकर्षण गराउन बर्मानन्द खोलादेखि वराहक्षेत्र मन्दिरसम्म नै सरसफाइ गरिएको  वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

सरसफाइ कार्यक्रममा नगर प्रमुख रमेश कार्की, वडा नं. १ का अध्यक्ष किसन थापा, इलाका प्रहरी कार्यालय महेन्द्रनगरको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको टोली, सशस्त्र प्रहरीको टोली, वराहक्षेत्र संरक्षण मञ्चका पदाधिकारी, खानेपानी तथा सरसफाइ समितिको पदाधिकारी, वराहक्षेत्र वातावरणीय तथा सरसफाइ संस्थाका पदाधिकारी, स्थानिय समाजसेवीहरूको नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।