वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले नगर भित्र रहेका ५७ वटै सामुदायिक विद्यालयहरूमा उपचारात्मक कक्षा (अतिरिक्त कक्षा ) सुरु गरेको छ ।

सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई गुणस्तररतसँगै सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन नगरपालिकाले अतिरिक्त कक्षा सञ्चालनको कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।

विशेष गरी कक्षा १ देखि ५ सम्मको विद्यार्थीहरू केन्द्रित गरेर अतिरिक्त कक्षा सञ्चालन गरेको र अन्य कक्षामा अध्ययन गरिरहेका सिकाई क्रियाकलापमा कमजोर रहेका विद्यार्थीहरूलाई समेत अतिरिक्त कक्षामा सहभागी गराइने प्रमुख प्रशासकीय अधिकृत मल्लले बताए ।

अतिरिक्त कक्षाका लागि नगरपालिकाले ५७ वटै सामुदायिक विद्यालयमा ५० हजारको दरले बजेट उपलब्ध गराउने छ । चालु आर्थिक वर्षमा नगरपालिकाले विद्यालयको भौतिक पक्ष भन्दा पनि शैक्षिक गतिविधि र क्रियाकलापका लागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको नगर प्रमुख रमेश कार्कीले बताए । नगरपालिकाले सुरु गरेको अतिरिक्त कक्षा सिकाई अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई उपचारात्मक शिक्षण हुने नगर प्रमुख कार्कीले बताए ।

सामुदायिक विद्यालयमा छड्के अनुगमन

नगरपालिकाले आइतबारबाट सामुदायिक विद्यालयहरूको छड्के रूपमा अनुगमन समेत गुरु गरेको छ । नगर उप-प्रमुख नन्दकुमारी सुनुवारको संयोजकत्वमा अनुगमन टोलीले मङ्गलवार वडा नं १ मा रहेको विद्यालयको शैक्षिक क्रियाकलाप, शिक्षण विधि, विद्यार्थीहरूको सिकाई क्षमता लगायतको निरीक्षण गरेका थिए ।

कक्षा कोठामा विद्यार्थीहरूको शिक्षण सिकाइको निरीक्षण गर्दै शिक्षकहरूलाई विद्यार्थीहरूको अवस्था बारे अनुगमन टोलीले जानकारी दिने गरेको अनुगमन टोलीका सदस्य नगर शिक्षा विकास समितिका सदस्य आदर्श माविका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डेले बताए । मङगलबार वडा नं १ को भगवती आधारभूत विद्यालय, राधाकृष्ण संस्कृत गुरुकुलम माध्यमिक विद्यालय, औलिया माध्यमिक विद्यालयको अनुगमन गरिएको थियो ।

नगर उप-प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ल, शिक्षा अधिकृत उत्तम भारती, शिक्षा समिति सदस्य आदर्श माविका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे लगायतको सहभागिता रहेको थियो ।

barachetra bidyarthi anugaman 2