धरान : सन् २०२४ लाई स्वागत र २०२३ लाई बिदाइ गर्दै खुशियाली मनाउन भारतीय पर्यटकहरूको आगमन सुरु भएको बेला आज आइतबार देखी भेडेटार फुड फेस्टिभल प्रारम्भ भएको छ । फेस्टिभलको उद्घाटनको अवसरमा आन्तरिक पर्यटकको उत्तिकै भिडभाड थियो ।
जनवरी १ को पूर्व सन्ध्या रातको १२ बजे कटेपछि नयाँ वर्षलाई स्वागत गर्न रात रमाइलो गरी बिताउन अघिल्लो दिन देखी फेस्टिभल आयोजना गरिएको हो । आयोजक भेडेटार होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले फेस्टिभलमा ३५ हजार बढी पर्यटक आउने अनुमान गरिएको बताए ।
भव्य समारोहका बिच फेस्टिभलको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेश पर्यटन तथा बन मन्त्री गणेश उप्रेतीले गरेका छन् । मन्त्री उप्रेतीले भने ‘विश्व बजारमा स्थानीय प्रकृति र संस्कृति ब्राण्डिङ गर्न नसकेका कारण नेपाल पछि परेको छ ।’
पर्यटनसँग संस्कृति र प्रकृति मिसिएको हुन्छ, स्थानीय स्रोत साधन जुन कुरा बेच्न सकिन्छ त्यसलाई चिज बेच्न सक्नु नै पर्यटनबाट ल्याउन समृद्धिको आधार भएको उनले बताए । भने ‘स्थानीय स्रोत साधन उत्पादन बढाएर पर्यटनलाई स्थानीय समुदायको आयस्रोत वृद्धिमा लक्षित बनाउनु जरुरी छ ।’
विश्वको घुम्नै पर्ने १२ औ गन्तव्य भेडेटार रहेको र पूर्वको रिफ्रेसमेन्ट सेन्टर समेत बनेकाले भेडेटारलाई स्पोर्टस टुरिजमको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताए । पूर्वी पहाडी क्षेत्रमा चतराबाट भेडेटार नाम्जे देखि पहाडका जुनसुकै ठाउँमा जहाँ हामी उभिन्छौ त्यहीँ पर्यटन बेच्न सक्ने क्षमता भएको तर लगानी गर्न नसकेको मन्त्री उप्रेतीले बताए ।
पर्यटन मन्त्री उप्रेतीले धरानका मेयर हर्क साम्पाङलाई ईङ्गित गर्दै भने ‘संविधानको मर्म, भावना विधि प्रक्रियामा रहेर कार्य गर्न सक्नुपर्दछ ।’ कानुन संशोधन गर्न सकिन्छ तर काम गर्दा विधिमा बसेर कार्य गरे प्रदेश सरकारले अवश्य पनि वातावरण बनाउन सहयोग गर्ने उनले बताए ।
मन्त्री उप्रेतीले भने ‘भारतीय पर्यटकलाई भारतीय रकम बोकेर आउँदा नेपालमा अनेकौँ झमेला हुने भएकाले नियम परिवर्तन गर्दै भोलि नै बैठक बसी भारतीय पर्यटकलाई नेपाल घुम्ने वातावरण बनाउने छौँ ।’
धरानका नगर प्रमुख हर्क साम्पाङले धरान र साँगुरीगढी गाउँपालिका छिमेकी भएकाले साँध सिमानाको कुरालाई जोड्दै छिटै सिमाङ्कनको काम सक्नुपर्ने बताए । उनले पर्यटन मन्त्रीलाई आफू काम गर्ने कारिन्दा रहेकाले जहिले काम गर्दा बाधा अड्चन खेप्नु पर्ने बाध्यता रहेकोले मुद्दैमुद्दा मात्र आइलाग्ने गरेको बताए ।
फेस्टिभललाई ग्रामीण कृषि पर्यटनसँग जोड्न साँगुरीगढीमा उत्पादन भएका कृषिजन्य बस्तुहरूलाई बजारीकरण गर्न र कृषकलाई उत्पादन सँग जोड्न कृषि भण्डारण केन्द्रको पनि उद्धघाट्न गरिएको छ ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले भने जनतासँग कृषि उत्पादनलाई जोड उत्पादन भएका बस्तुलाई तुरुन्त बजारीकरण गर्न गाउँपालिकाले कृषि उत्पादन एके ठाउँमा केन्द्रित गर्न भण्डारण केन्द्र निर्माण गरिएको बताए ।
अध्यक्ष रुम्दालीले भने ‘भण्डारण केन्द्रबाट होटेल तथा रेष्टुरेन्ट आन्तरिक तथा बाह्य पर्यटकलाई कोशेली बिक्री वितरण गर्न आपूर्ति सहज हुने विश्वास गरेका छौँ ।’ यसबाट कृषकहरूको उत्पादनले उचित मूल्य पाउने र कृषकहरू बजारको खोजीमा अलमलिन नपर्ने उनले बताए ।
फेस्टिभलमा साँगुरीगढी क्षेत्रको कृषि तथा घरेलु उत्पादन बजारीकरण गर्न गाउँपालिकाले पर्यटकहरूलाई वस्तुहरूको किन बेच गर्ने स्टलहरूको पनि व्यवस्था गरेको छ ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष, विभिन्न राजनैतिक दलका नेताहरूको पनि उपस्थिति थियो । अतिथिको स्वागतमा धनकुटा क्षेत्रका आदिवासी बहुजातिय समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । लिम्बू जातिको च्याब्रुङ, राईको साकेला, मगरको हुर्रा, नेवारको धिमे बाजा, याम्फुको केलाङ नृत्यले स्वागत गरिएको हो ।
फेस्टिभलमा आगन्तुकहरूलाई परम्परागत अर्ग्यानिक र रैथाने जातीय परिकारमा आकर्षण गर्न स्टल र रेस्टुराँहरूमा मौलिक परिकारहरूको समेत व्यवस्था रहेको छ । भेडेटार तथा आसपासका क्षेत्रमा भ्यु टावर, पाथीभरा मन्दिर, शंखेश्वर, भेडेटार पार्क, आत्मा बस्ने घर, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङ उडान स्थल, ध्वजे डाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, ऐतिहासिक साँगुरीगढीस्थल लगायत रमणीय ठाउँहरू लाई फेस्टिभल क्षेत्रमा समेटिएको छ ।
अध्यक्ष लिम्बुका अनुसार ग्रामीण पर्यटन र कृषि, घरेलु उत्पादनको प्रवर्द्धन गर्न गाउँपालिकाले साँगुरीगढी क्षेत्रलाई यातायातको पहुँचमा पुर्याउन रिङ रोडको योजना अघि सारेको छ । सोही अनुसार फेस्टिभलको क्षेत्र विस्तार गरिएको हो । उनका अनुसार फेस्टिभल अवधि ३ दिन सम्म पर्यटकहरूलाई खान र बस्नमा प्रचलित दरमा विशेष छुट दिने व्यवस्था गरिएको छ ।