धरान : नेपाल माझी उत्थान सङ्घले माझी जातिको मौलिक परम्परागत पर्व कोशी पुजाको अवसरमा सार्वजनिक बिदा दिनका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

सङ्घले माझी जातिको महान् पर्व मनाउन आजसम्म बिदा समेत नपाउँदा पर्व मनाउन असहज हुनका साथै कतिपय माझी समुदाय पर्व मनाउनबाट वञ्चित हुँदै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

यसपालि कोशी पूजा फागुन १५ गते परेकाले उक्त दिन बिदाका साथै कोशी पूजा पर्वलाई राज्यबाट मान्यता पाउनु पर्ने माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आफू सकारात्मक रहेको जनाएका छन् । उनले हरेक जातजाति र समुदायको ऐतिहासिक सांस्कृतिक एवम् धार्मिक चाडपर्वलाई संरक्षण गर्नुलाई प्रदेश सरकारले आफ्नो कर्तव्य ठानेर अघि बढ्ने बताए ।