इटहरी : मङ्सिर १३ गते इटहरीका रविन खड्का साँझमा खाना खाने समयमा घरबाट निस्किए । इटहरीको जङ्गल छेउका स्थानीय हात्तीलाई बस्तीमा प्रवेश गर्न रोक्ने तयारीमा जुटिरहेका थिए । साँझ झमक्क परिसकेको थियो । टर्च लाइट र मोबाइल बालेर स्थानीय होहल्ला गर्दै जङ्गल छेउसम्म पुगे । त्यत्तिकैमा हात्तीको बथान चलमलाउन थाल्यो । मानिसहरू हात्तीलाई भित्री जङ्गल सम्म पुर्याउने तयारीमा लागे । 

रविनले अगाडी सम्मै गएर हात्तीलाई खेदाउने प्रयास गरे । पछाडिबाट आएको हात्तीले उनलाई आक्रमण ग¥यो । उनी बेहोस भएर ढले । उनी बेहोस भएको खबर घरसम्म पुग्यो । रविनलाई उपचारको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको निधन भयो ।  

खाना खान पर्खिरहेकी आमाको अगाडी शव आइपुग्यो । उनी बेहोस भइन् । अहिलेसम्म पनि रविन सम्झेर झस्किन्छिन् । छोरो आएर बोलाउला भन्ने लाग्छ उनलाई । 

विदेशबाट फर्किएको केही समयमै रविनले विवाह गरेका थिए । २०७९ मङ्सिरमा साउदीबाट फर्किएका उनले पौषमा धनकुटाकी रेणुका राई सँग भागी विवाह गरे । निर्माण मजदुरको रूपमा काम गर्दै आएका रविन सन्तानको मुख हेर्ने लालसमा थिए । जुन पुरा हुन पाएन । 

बाबुको मृत्युको ४४ दिन पछि (पौष २७ गते) जन्मिए रोनन । रोनन जन्मिँदै एकल आमाको सन्तान भए । रेणुका अहिले रोननकै अनुहार हेरेर चित्त बुझाउँछिन् । काखको बच्चा नै उनको आशा हो । उनको भरोसा हो । 

रविनको मृत्यु पछि इटहरी उपमहानगरपालिकाले एक लाख किरिया खर्च उपलब्ध गरायो । वन्यजन्तुको कारण मानवीय क्षति भएमा नेपाल सरकारले १० लाख दिँदै आएको छ । जिल्ला डिभिजन वन कार्यालयका प्रमुख भीम बहादुर कालिकोटेले राहत रकमको प्रक्रिया भर्खरै सकिएको बताए । 

उनका अनुसार रविनको परिवारले पाउने १० लाख राहतको केही समयमै आउने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आउने किरिया खर्च बापतको ५० हजार पनि चाडै आउने उनले जानकारी दिए । 

हाल कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती हिँड्ने कोरिडोरमा पैदल यात्रा गरिहरेका छन् । गुनासो सुन्दै उनले कोशी सरकार पीडितको पक्षमा रहेको आभास गराउने प्रयास थालेका छन् । बाबुको माया नपाएका रोनन र जवानीमै विधवा बनेकी रेणुकाले अभिभावकत्व खोजेका छन् । रेणुकालाई मुख्यमन्त्रीको अभियानको विषयमा केही जानकारी छैन । तर स्थानीय हात्ती पीडित भने मुख्यमन्त्रीको पर्खाइमा छन् ।

hatti-pidit-ronan-ghar