धरान : धरानका ट्याक्टर व्यवसायी सङ्घले मेसिन प्रयोग नगरी सामान्य ढङ्गबाट खोलाको गिट्टी बालुवा निकाल्न पाउनु पर्ने सहितको माग गर्दै उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई २४ घण्टे अल्टिमेटम दिएको पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका  छन् ।

गैरकानुनी ढङ्गले खोला उत्खनन गरेको आरोपमा मेयर साम्पाङले २ हप्ता देखि ३ वटा ट्र्याक्टर एउटा ट्रिपर नियन्त्रणमा राखेका छन् ।

व्यवसायीहरूले मंगलबार मेयर साम्पाङलाई भेटेर भने ट्याक्टर व्यवसायीहरू कर तिर्न तयार रहेको बताउँदै उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन मापदण्ड बनाएर मेसिन प्रयोग नगरी सामान्य ढङ्गबाट खोलाको गिट्टी, बालुवा निकाल्न पाउने व्यवस्था गर्न माग गरेका थिए ।

सोही मापदण्डको आधारमा नियन्त्रण लिएका ट्र्याक्टर र टिपरलाई जरिवाना लिएर छोड्न समेत अनुरोध समेत गरिएको ट्र्याक्टर व्यवसायी अध्यक्ष विक्रम तामाङले बताए ।

उनका अनुसार ‘मेयर साबले भने तपाईँहरू निकाल्दै गर्नुस् म पक्राउ गर्दै जान्छु’ भन्ने खालको ठाडो जवाफ दिए । मेयर साम्पाङले छलफल नै गर्न नचाहेकाले व्यवसायीहरूले सङ्घर्ष समिति खडा गरी आन्दोलन गर्न बाध्य भएको अध्यक्ष तामाङको भनाई छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले भने ‘२४ घण्टा सम्म ट्र्याक्टर नछोडे धरान भर रहेका करिब ४ सय ट्याक्टर धरान उपमहानगरपालिका परिसरमा राखेर आन्दोलनमा उत्रिने छौँ ।’ उनले मेयर साम्पाङको जवाफ व्यवसायीहरूलाई चित्त बुझ्दो नभएको र ‘चोर’को संज्ञा दिएको बताए ।

उनका अनुसार नेपाल सरकारले ट्र्याक्टर व्यवसयिलाई कि त अवैध हो भनेर भन्नु पर्‍यो। अन्यथा मापदण्ड तोकेर कति घनमिटर सम्म उत्खनन गर्न पाउने भनी नियम बनाएर ट्र्याक्टर व्यवसायीहरूलाई करको दायरामा ल्याएमा राजस्व तिर्न तयार रहेको उनले बताए ।

सचिव ध्वज तामाङले स्थानीय सरकारले खोला सम्बन्धी मापदण्ड नबनाएको कारण  व्यवसायीहरू विचलित भई झोला बोकेर बिदेसिनु पर्ने बाध्यता आएको बताए । उनले भने ‘राज्यलाई कर तिर्न हामी तयार छौँ भन्दा पनि चोरको संज्ञा दिएकोमा हाम्रो आपत्ति छ ।’

स्थानिय सरकारले व्यवसायिहरुलाई चोर र पुलिस खेल खेलाएको आरोप लगाउँदै उनले व्यवसायीहरू चोर नभएको बताउँदै कर तिरेर ट्र्याक्टर चलाउन नीति र नियम बनाउनु पर्‍यो भन्ने माग गरिएको स्पष्ट गरे ।

सचिव तामाङले पत्रकार सम्मेलनमा धरान नगरपालिकामा बुझाएको माग तत्काल सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिने बताए । उनले आफूहरू करको दायरामा आउन चाहँदा पनि स्थानीय सरकारले बेवास्ता गरेको आरोप समेत लगाए ।

एउटा ट्याक्टरले ६ देखि ७ जनाको परिवारको गुजार चलाएको हुँदा रोजगार दिने क्षेत्रलाई समेत उपेक्षा गरेको उनको भनाई छ ।

तत्काल आफ्ना मागहरू कार्यान्वयन गर्न माग गर्दै आन्दोलन गर्नुपर्ने बाध्य पारिए त्यसको जिम्मेवार स्थानीय सरकारले व्यहोर्नु पर्ने चेतावनी समेत दिएका छन् । धरानमा ५५ जना ट्याक्टरका व्यवसायी छन् । ४०० को सङ्ख्यामा ट्र्याक्टर रहेको बताइएको छ ।