धरान: आज मंगलबार बिहान करिब ८ बजेतिर तीनकुनेस्थित वन कार्यालयले २ वटा ट्रिपर नियन्त्रणमा लियो । ट्रिपरमा सोलिङ ढुंगा लोड गरिएको थियो ।

धरान उपमहानगरपालिकाले धरान क्षेत्रभित्र रहेको खोलाहरुलाई टेण्डर गरेपनि प्रक्रियामा नै रहेको छ । त्यसैले अहिले कतैबाट पनि ढुंगा, गिटी, बालुवाजस्ता नदीजन्य प्राकृतिक पदार्थहरु उत्खनन गर्न, झिक्न प्रतिबन्ध छ । तीनकुनेस्थित वन कर्मचारीहरुलाई ट्रिपरमा अवैधरुपमा लोड गरिएको सोलिङ ढुंगा इटहरीतर्फ जादै गरेको खबर पुगेपछि नै बिहान नियन्त्रणमा लिएको थियो । तर, केही समयपछि कारबाही नगरी छोडियो । स्रोतका अनुसार वनका कर्मचारीहरुले मोटो रकम लिएर ती ट्रिपरलाई छाडेका थिए । स्रोत भन्छ,‘२ वटा ट्रिपरलाई २५ हजार लिएर छोडेको हो ।’

वनले अवैधरुपमा ढुंगा लोड गरेर लैजादै गरेको ट्याक्टरलाई पक्राउ गरेर कारबाही गर्ने गरेको छ । तर, ट्रिपरलाई भने विना कारबाही छोडेपछि स्रोतको दाबी सत्य नजिक छ । धरानमा अधेरी खोला क्षेत्रबाट अवैधरुपमा ढुंगा तस्करी हुने गरेको छ । उक्त क्षेत्रबाट बेला बेला ट्याक्टर पक्राउ पर्ने गरेको छ । मंगलबार बिहान पक्राउ परेको ट्रिपरले पनि त्यतैबाट ढुंगा लोड गरेर इटहरीतर्फ लैजादै गरेको थियो । ‘त्यहीबाट ट्याक्टरले ढुंगा लैजादा समातिएर कारबाही हुने, तर ट्रिपर चै छोड्ने ?’स्रोतले भन्यो ।

तीनकुनेमा अहिले पाँचकन्या र विष्णुपादुका गरी २ वटा सबडिभिजन कार्यालय छ । जसमा प्रमुखको रुपमा सहायक वन अधिकृतद्धय ज्ञानकुमार लामा र सुरज निरौला छन् । ट्रिपर पक्राउ परेको दुवैले स्वीकार गरेपनि छोडिएको बिषयमा भने दुवैले अनभिज्ञता प्रकट गरे । ‘म बाहिर छुँ, त्यहा सुरज जिलाई सम्पर्क गर्नुस् न । के भएको थाह छैन, हल्ला धेरै हुन्छ,’लामाले भने । अर्का, अधिकृत निरौलाले ट्रिपर समातिएको स्वीकार गर्दै आफु साढे १२ बजेतिर कार्यालयबाट बिशेष काम परेर निस्कदा देखेको ट्रिपर पछि आउदा भने नदेखेको बताए । ‘म बुझेर कल गर्छु है,’उनले भने । ढुंगागिटी, बालुवा तस्करी रोक्ने जिम्मा वन रक्षकको हुने र सरोकारवालाहरुसँगै बुझ्नुपर्ने उनले बताए ।

केही समयपछि सम्पर्क गर्दा अधिकृत निरौलाले बुद्ध ढुवानी सेवाको विल ल्याएकोले ट्रिपर छुटेको जवाफ दिए । तर, अवैध ढुंगा बोकेको ट्रिपर कसरी ढुवानी सेवाको विल देखाउदा छुट्यो भन्ने प्रश्नको जवाफ भने उनले दिन सकेनन् । ‘जुन सरकारी निकायले ठेक्का लगाएको हो, त्यसमा राजश्व दाखिला भएको हुनुपर्छ, ढुवानी सेवाको विलमा छोड्दा त गलतै भयो । भोली प्रष्ट बुझ्नुपर्छ,’निरौलाले भने । डिभिजन वन कार्यालय सुनसरीका प्रमुख(डिएफओ) शिवप्रसाद शर्माले घटनाबारे जानकारी नभएको भन्दै आफुले सम्बन्धित प्रमुखसँग बुझ्ने बताए ।